2026 September 18/ 03:38: 13pm

सुनिता थापा
    काभ्रेपलाञ्चोक जिल्ला पहाडी तथा नदी बेसिन क्षेत्रसहितको भौगोलिक विविधताले भरिएको जिल्ला हो । यही भौगोलिक अवस्थाका कारण जिल्लामा विभिन्न प्रकारका प्राकृतिक तथा मानव सिर्जित विपद्को जोखिम उच्च रहेको छ । विशेषगरी रोशी खोला, इन्द्रावती, सुनकोशी तथा पुण्यमाता करिडोर क्षेत्र बाढी र कटानका दृष्टिले संवेदनशील छन् । जिल्लामा बाढी, पहिरो, गेग्रान बहाव र असिनापानीजस्ता जलवायूजन्य विपद्का साथै भूकम्प, जमिन भासिने, भू–क्षय, आगलागी, महामारी र सडक दुर्घटनाजस्ता विपद् पनि प्रमुख जोखिमका रूपमा रहेका छन् ।
समन्वयमा आधारित विपद् व्यवस्थापन संयन्त्र
    विपद् व्यवस्थापनका लागि जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला विपद् व्यवस्थापन समिति सक्रिय रहेको छ । समितिमा जिल्लास्थित सुरक्षा निकाय, राजनीतिक दल, कार्यालय प्रमुख तथा अन्य सरोकारवालाको समन्वय रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खोज तथा उद्धारमा भूमिका निर्वाह गर्दै आएका छन् । त्यस्तै स्थानीय तह, नेपाल रेडक्रस, युवा स्वयंसेवक तथा विभिन्न मानवीय सहायता क्लस्टरको सहभागिताले विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउने आधार तयार गरेको छ ।
पूर्वतयारी, प्रतिकार्य र राहत
    जिल्ला विपद् व्यवस्थापन समितिले अति जोखिमयुक्त बस्तीको नियमित अनुगमन तथा जोखिम नक्सांकन, सुरक्षा निकाय र स्थानीय स्वयंसेवकको द्रुत उद्धार टोली तयारी, पूर्वसूचना प्रणालीको सञ्चालन, संयुक्त अभ्यास, विपद् व्यवस्थापनसम्बन्धी बैठक तथा स्थलगत अनुगमनलाई प्राथमिकता दिएको छ । स्थानीय, प्रदेश तथा केन्द्रीय विपद् व्यवस्थापन समितिसँग समन्वय गर्नुका साथै विभिन्न सरोकारवालासँग सहकार्य र क्लस्टर बैठकमार्फत आवश्यक परिचालनको व्यवस्था गरिएको छ ।
    विपद् पश्चात् प्रभावित परिवारलाई खाद्यान्न तथा त्रिपाल वितरण, जिल्ला विपद् कोषमार्फत राहत रकम निकासा र प्रभावित क्षेत्रमा मोबाइल इमर्जेन्सी स्वास्थ्य टोली परिचालनजस्ता काम पनि हुँदै आएका छन्। क्षतिग्रस्त निजी आवासका लागि अस्थायी आवास अनुदान, स्थायी आवास निर्माणमा सहजीकरण तथा अवरुद्ध सडक र खानेपानी पूर्वाधारको तत्काल मर्मतलाई पनि प्राथमिकता दिइएको छ ।
विगतका विपद्बाट देखिएको क्षति
    असोज २०८१ मा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले जिल्लाभर ठूलो जनधनको क्षति पु¥याएको थियो । उपलब्ध विवरणअनुसार विगतका प्रमुख मनसुनजन्य विपदमा जिल्लाभर ८१ जनाभन्दा बढी नागरिकले ज्यान गुमाएका, ६ जना बेपत्ता भएका र ८८ जना घाइते भएका थिए । सयौं निजी आवास पूर्ण तथा आंशिक रूपमा क्षति भएका थिए भने विपद् पोर्टलअनुसार करिब ४ हजार ३ सय ३३ निजी आवास प्रभावित भएका थिए । खानेपानी आयोजना, विद्यालय, स्वास्थ्य चौकी तथा सडक सञ्जालमा समेत व्यापक असर परेको थियो ।
    असोज २०८२ मा आएको बाढी तथा पहिरोबाट अघिल्लो वर्षको तुलनामा कम क्षति भएको थियो । उक्त विपदमा मानवीय क्षति नभए पनि एक जना घाइते भएका थिए । करिब ६२ निजी आवास प्रभावित हुनुका साथै स्वास्थ्य चौकी, खानेपानी, विद्यालय, कृषि तथा सडक सञ्जालमा क्षति पुगेको थियो । रोशी क्षेत्रको बीपी राजमार्ग विशेष रूपमा प्रभावित भएको थियो ।
जोखिम नक्सांकनले देखाएको संवेदनशीलता
    जिल्लाका विभिन्न स्थानीय तहमा विपद्को जोखिमको प्रकृति फरक–फरक रहेको छ । रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका खोला किनारका बस्ती तथा पहिरो संवेदनशील क्षेत्र उच्च जोखिममा छन् । चौरीदेउराली, महाभारत र खानीखोला कमजोर भू–बनोटका कारण पहिरोको उच्च जोखिममा रहेका छन् । बजार क्षेत्र तथा पुराना बस्तीहरू आगलागी र भूकम्पीय जोखिमका दृष्टिले संवेदनशील छन् । जोखिम नक्सांकनले स्थानीय तहसँग समन्वय गरी लक्षित पूर्वतयारी र प्रतिकार्य कार्यक्रम सञ्चालन गर्न, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्न तथा खोज तथा उद्धार सामग्री र जनशक्ति समयमै परिचालन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
विपद् कोष र राहत व्यवस्थापन
    विपद्को समयमा तत्काल राहत तथा उद्धारका लागि स्थानीय तहदेखि जिल्ला र प्रदेश तहसम्म विपद् कोषको व्यवस्था गरिएको छ । प्रस्तुत विवरणअनुसार स्थानीय विपद् व्यवस्थापन कोषमा ४ करोड १६ लाख ६२ हजार १३७ रुपैयाँ ३२ पैसा, जिल्ला विपद् व्यवस्थापन कोषमा ७४ लाख १३ हजार ६५१ र प्रदेश विपद् व्यवस्थापन कोषमा १० लाख ४७ हजार ७९० मौज्दात रहेको छ । 
    स्थानीय तहका कोषबाट विपद्का समयमा खाद्यान्न, त्रिपाल, औषधि तथा मृतकका परिवारलाई राहत वितरण गरिने व्यवस्था छ । जिल्ला तथा प्रदेश तहका कोषबाट कानुन तथा कार्यविधिअनुसार अस्थायी तथा स्थायी आवास निर्माण अनुदानलगायत स्थानीय तहबाट भएको विपद् खर्चको सोधभर्नामा सहयोग गर्ने व्यवस्था रहेको छ ।
अस्थायी तथा स्थायी आवास निर्माणमा प्रगति
    पूर्ण रूपमा क्षति भएका निजी आवासका परिवारलाई अस्थायी टहरा निर्माणका लागि मापदण्डअनुसार अनुदान वितरण गरिएको छ । प्रस्तुत विवरणअनुसार पहिलो किस्ताका लागि ३ हजार १६५ लाभग्राहीमा ७ करोड ९१ लाख २५ हजार र दोस्रो किस्ताका लागि १ हजार ६६० लाभग्राहीमा रु. ४ करोड १५ लाख निकासा भएको छ । अस्थायी आवासका लागि जम्मा १२ करोड ६ लाख २५ हजार अनुदान रकम निकासा भएको उल्लेख छ । स्थायी आवासका लागि पनि पूर्ण रूपमा क्षति भएका निजी आवासका परिवारसँग सम्झौता प्रक्रिया अघि बढाउन सिफारिस गरिएको छ । मण्डनदेउपुर, रोशी र बेथानचोकका कायम भएका लाभग्राहीको सम्झौता प्रक्रिया शीघ्र अघि बढाई विवरण विपद् पोर्टलमा प्रविष्ट गर्न तथा बाँकी स्थानीय तहमा पनि प्रक्रिया अगाडि बढाउन अनुरोध गरिएको छ ।
बर्डफ्लू प्रभावित किसानलाई राहत
    बर्डफ्लू नियन्त्रणका क्रममा सरकारी नियन्त्रणमा आधिकारिक रूपमा नष्ट गरिएका पन्छी, अण्डा तथा दाना मात्र राहतका लागि योग्य हुने व्यवस्था छ । निर्देशिकाबमोजिम समितिको रोहवरमा नष्ट गरिएका वस्तुको वास्तविक मुचुल्का तयार गरी क्षति तथा बजार मूल्यका आधारमा निर्धारित मापदण्डअनुसार राहत रकम सिफारिस गरिनेछ । प्रभावित किसानका प्रमाणित कागजात र बैंक खातामार्फत राहत रकम भुक्तानी गर्ने तथा स्थानीय तह र पशु सेवा कार्यालयसँग समन्वय गरी दाबीको छानबिन गर्ने व्यवस्था गरिएको छ । चालु आर्थिक वर्ष २०८२÷२०८३ मा काभ्रे जिल्लामा बर्डफ्लूबाट नष्ट गरिएका पन्छी तथा पन्छीजन्य पदार्थको राहतका लागि प्राप्त निवेदनमध्ये २० वटा फर्मलाई ४ करोड ९४ लाख ९८ हजार ७६६ रुपैयाँ ५० पैसा राहत उपलब्ध गराइएको छ भने थप १० वटा राहतको प्रक्रिया अघि बढिरहेको छ ।
चालु आर्थिक वर्षका प्राथमिकता
    जिल्ला विपद् व्यवस्थापन समितिले चालु आर्थिक वर्षमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन, स्थानीय स्तरमा फस्ट रेस्पोन्डर युवा स्वयंसेवकलाई तालिम तथा उद्धार सामग्री व्यवस्थापन र सम्भावित जोखिम क्षेत्रमा पूर्वसूचना प्रणालीको प्रभावकारी सञ्चालनलाई प्राथमिकता दिएको छ । जोखिमयुक्त बस्तीका लागि सुरक्षित स्थानमा जग्गा पहिचान गरी स्थानान्तरण योजना कार्यान्वयन तथा क्षतिग्रस्त खानेपानी, विद्यालय र स्वास्थ्य चौकीको पुनर्निर्माणलाई तीव्रता दिने लक्ष्य राखिएको छ ।
समस्या र चुनौती
    विपद् प्रतिकार्यका क्रममा अविरल वर्षाका कारण सडक अवरोध, दुर्गम क्षेत्रमा तत्काल पहुँचको कठिनाइ, सञ्चार सम्पर्क अवरुद्ध हुने अवस्था, सीमित स्रोतसाधन तथा उपकरण, रात्रीकालीन उद्धारमा चुनौती, राजमार्ग क्षेत्रमा अत्यधिक सवारी चाप तथा जनदबाब र आपत्कालीन बजेटको अभाव प्रमुख समस्याका रूपमा देखिएका छन् । यी चुनौतीले विपद्को समयमा उद्धार, राहत तथा पुनस्थापनाको कामलाई समयमै प्रभावकारी रूपमा अघि बढाउन थप तयारी र समन्वय आवश्यक छ ।
रसुवा बाढीपछि काभ्रेका नागरिकको खोजी र समन्वय
    चालु आर्थिक वर्षको मनसुनजन्य विपद् तथा अन्य विपद् प्रतिकार्यको सन्दर्भमा रसुवामा आएको बाढीमा काभ्रे जिल्लाका नागरिक प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालयमा प्राप्त जानकारीअनुसार २०८३ भदौ १५ गतेसम्म ४० जना सम्पर्कविहीन रहेको उल्लेख छ । विवरणअनुसार धुलिखेल नगरपालिकाबाट ७ जना, बनेपा नगरपालिकाबाट ५ जना, पनौती नगरपालिकाबाट २ जना, मण्डनदेउपुर नगरपालिकाबाट ३ जना, पाँचखाल नगरपालिकाबाट १ जना, तेमाल गाउँपालिकाबाट ७ जना, रोशी गाउँपालिकाबाट ४ जना, बेथानचोक गाउँपालिकाबाट ८ जना र चौँरीदेउराली गाउँपालिकाबाट १ जना रहेका छन् । अन्य २ जनाको ठेगाना खुल्न बाँकी छ ।
पूर्वतयारीमै जोड दिनुपर्ने निष्कर्ष
    काभ्रेपलाञ्चोकमा विगतका विपद्का अनुभव, भौगोलिक संवेदनशीलता र जोखिम नक्सांकनले विपद् भएपछि गरिने प्रतिकार्य मात्र पर्याप्त नहुने देखाएको छ । त्यसैले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सुरक्षित निर्माण मापदण्डमा विशेष जोड दिनुपर्ने आवश्यकता छ । तीन तहका सरकार तथा गैरसरकारी संघ–संस्थाबीचको समन्वय थप मजबुत बनाउँदै खोज, उद्धार, राहत, पुनस्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ । जिल्लालाई सुरक्षित, विपद् उत्थानशील र व्यवस्थित बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सहकार्य, समन्वय र पूर्वतयारीलाई आधार बनाएर अघि बढ्नुपर्ने निष्कर्ष प्रस्तुत विवरणबाट देखिन्छ । (जिल्ला विपद् व्यवस्थापन समितिको बैठक प्रस्तुतिकरण, काभ्रेपलाञ्चोक, २०८३)
(लेखक जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत हुनुहुन्छ ।)