नमोबुद्ध/नागरिकलाई सहज र प्रभावकारी रूपमा सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले नमोबुद्ध नगरपालिका वडा नं. ४ ले ज्येष्ठ नागरिक, अशक्त तथा कार्यालयसम्म स्वयं उपस्थित हुन कठिनाइ भएका सेवाग्राहीका लागि घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा प्रदान गरेको छ ।
वडा कार्यालयका कम्प्युटर अपरेटर विष्णुराज चिमौरियाले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क, समन्वय र आवश्यक पहल गर्दै गाउँदेखि काठमाडौंसम्म पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणको सेवा प्रदान गरेका हुन् । कार्यालयसम्म पुग्न शारीरिक तथा अन्य कठिनाइ भोगिरहेका ज्येष्ठ नागरिक र अशक्त नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको यस अभियानले सार्वजनिक सेवा लिन सेवाग्राहीले अनिवार्य रूपमा कार्यालय धाउनुपर्ने अवस्थालाई सहज बनाएको छ ।
सेवा प्रवाहका क्रममा सम्बन्धित सेवाग्राहीको घरमै पुगेर आवश्यक कागजात तथा प्रक्रियाका विषयमा सहजीकरण गर्दै सामाजिक सुरक्षा भत्ता नवीकरणको काम गरिएको वडा कार्यालयले जनाएको छ । सेवा लिन नागरिक कार्यालयसम्म धाउनुपर्ने होइन, आवश्यकतामा स्थानीय सरकार नागरिकको घरदैलोमै पुग्नुपर्छ भन्ने सेवाभावका साथ अभियान सञ्चालन गरिएको उनले बताए । कागजी प्रक्रिया पूरा गर्नु मात्र सार्वजनिक सेवाको उद्देश्य नभई नागरिकको वास्तविक समस्या र अवस्थालाई बुझेर आवश्यकताअनुसार सेवा उपलब्ध गराउनु नै जनमुखी शासनको महत्वपूर्ण पक्ष भएको स्थानीयवासीको भनाइ छ ।
घरमै सेवा पाएपछि ज्येष्ठ नागरिक तथा अशक्त सेवाग्राहीहरूले सहजता महसुस गरेका छन् । विशेषगरी कार्यालयसम्म पुग्न कठिनाइ हुने नागरिकका लागि घरदैलोमै प्राप्त भएको सेवाले स्थानीय सरकारप्रतिको विश्वास र अपनत्व थप बढाएको देखिन्छ । ‘ज्येष्ठ नागरिकको अनुहारमा देखिएको सहजता र खुसी नै सेवाको सबैभन्दा ठूलो उपलब्धि हो’– वडा कार्यालयका कम्प्युटर अपरेटर विष्णुराज चिमौरियाले बताए । नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्ने उद्देश्यले सञ्चालन गरिएको यस्तो अभियानले स्थानीय सरकारको सेवा नागरिकको घरदैलोसम्म पु¥याउने अवधारणालाई व्यवहारमै कार्यान्वयन गरेको छ ।





