बनेपा/जल्ला सहकारी संघ काभ्रेले जिल्लामा सहकारी क्षेत्रको अवस्था, संघको कार्यसम्पादन र आगामी कार्यदिशाबारे सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको छ । अध्यक्ष अमन पोटेको अध्यक्षता तथा सचिव प्रकाश बञ्जाराको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
संघका कामु प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले कार्यक्रममा संघको परिचय, वर्तमान अवस्था, कार्यसम्पादन तथा आगामी कार्यदिशाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । २०२४ साल भदौ २६ गते तत्कालीन जिल्ला साझा संघका रूपमा स्थापना भएको संस्था त्यसकै निरन्तरताका रूपमा अहिले जिल्ला सहकारी संघका रूपमा सञ्चालनमा रहेको श्रेष्ठले बताए । उनका अनुसार २०७४ सालमा जिल्लाका १ हजार ४ सय ९५ सहकारीका फाइल स्थानीय सरकारलाई हस्तान्तरण गरिएको थियो । त्यसमध्ये ६ सय ४६ वटा सहकारी सञ्चालनमा रहेकामा हाल जिल्ला सहकारी संघमा ५ सय ८५ वटा सहकारी आवद्ध छन् । केही सहकारी एकीकरण भएका छन् ।
स्थानीय तहअनुसार सबैभन्दा धेरै सहकारी बनेपा नगरपालिकामा २०१ वटा छन् भने सबैभन्दा कम भुम्लु गाउँपालिकामा ११ वटा रहेका छन् । धुलिखेलमा ६९, मण्डनदेउपुरमा ५९, पाँचखालमा ५५, पनौतीमा ५५, नमोबुद्धमा ३५, रोशीमा २०, तेमालमा १९, बेथान्चोकमा १७, चौरीदेउरालीमा १६, खानीखोलामा १५ र महाभारतमा १३ वटा सहकारी रहेका छन् । संघमा आवद्ध सहकारीमध्ये बचत तथा ऋणको कारोबार गर्ने २ सय ६६, कृषि सहकारी १ सय ४३ र बहुउद्देश्यीय सहकारी १ सय १० वटा छन् । पशु बीमा, दुग्ध, तरकारी, उपभोक्ता, लघु जलविद्युत्, पर्यटन, सीपमूलक, कफी, स्वास्थ्य, मौरीपालन र जडीबुटीलगायत विभिन्न क्षेत्रमा काम गर्ने सहकारीसमेत जिल्लामा दर्ता भएका छन् ।
जिल्ला सहकारी संघको आफ्नै ४ रोपनी १ आना जग्गा रहेको छ । उक्त जग्गामा पार्किङसहितको सुविधासम्पन्न भवन निर्माण गरिएको छ । भवनमा हाल १८ वटा संस्था भाडामा बसेका छन् । संघले हेभी मालवाहक ट्रक भाडामा लगाउँदै आएको छ भने पिकअप भ्यानसमेत भाडामा लगाउने तयारी गरेको छ । संघले वित्तीय कारोबार, सहकारी संस्थाबीच समन्वय, क्षमता विकास, तालिम तथा प्रबद्र्धन, नीतिगत तथा कानुनी सहजीकरण, अनुगमन तथा सुपरिवेक्षण र प्रविधि तथा डिजिटल प्रणालीको प्रयोगमार्फत संस्थागत सुदृढीकरणको काम गरिरहेको अध्यक्ष अमन पोटेले बताए । उनका अनुसार सेवा केन्द्र एकीकरण, प्रविधिमैत्री सेवा प्रवाह, सामाजिक उत्तरदायित्व वहन, सदस्यता अद्यावधिक, नीति तथा कार्यविधि लेखन र संशोधनलगायतका काम भएका छन् ।
आर्थिक वर्ष २०८२/८३ मा संघमा १ अर्ब २८ करोड रुपैयाँ बचत रहेको छ । संघको लगानी ३६ करोड, शेयर पुँजी ३ करोड ४९ लाख तथा जगेडा कोष र अन्य कोषमा १२ करोड ५५ लाख रुपैयाँ रहेको छ । संघको कुल वासलात १ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । संघले उक्त आर्थिक वर्षमा ४ करोड ६२ लाख रुपैयाँ खर्च गरेको छ । स्थिर सम्पत्ति १८ करोड ४ लाख र गैरबैंकिङ सम्पत्ति ४ करोड ३ लाख रुपैयाँ रहेको संघले जनाएको छ । सो अवधिमा संघले १ करोड ३० लाख रुपैयाँ कुल नाफा गरेको छ ।
संघका सचिव प्रकाश बञ्जाराले सहकारी क्षेत्रले अहिले कानुनी तथा नियामकीय व्यवस्था, निष्क्रिय सहकारीको संख्या वृद्धि, खराब कर्जा असुली, गैरबैंकिङ सम्पत्तिमा वृद्धि, जनशक्ति व्यवस्थापन र सहकारीप्रतिको विश्वास कायम राख्नेलगायत चुनौती सामना गरिरहेको बताए । आगामी दिनमा बचत तथा ऋणको कारोबारलाई राफसाफ गर्ने, संघलाई तालिम हबका रूपमा विकास गर्ने, सहकारी सूचना तथा स्रोत केन्द्रका रूपमा विस्तार गर्ने, सदस्यता अद्यावधिक कार्यलाई तीव्रता दिने र सामाजिक उत्तरदायित्वका गतिविधि विस्तार गर्ने योजना रहेको बञ्जाराले बताए । अध्यक्ष अमन पोटेको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, पूर्वअध्यक्षहरू मोतीराम तिमल्सिना, महेश पौडेल र ईश्वरी ओझा, संघकी वरिष्ठ उपाध्यक्ष शान्ति लामा लगायतले सहकारी क्षेत्र तथा जिल्ला सहकारी संघका विषयमा धारणा राखेका थिए । कार्यक्रममा संघका कोषाध्यक्ष अर्जुन सापकोटा, सञ्चालक सदस्य रोशन श्रेष्ठ, लेखा समिति सदस्यलगायतको सहभागिता थियो ।
स्थापना दिवसमा वृद्धाश्रममा भोजन र न्यानो जुत्ता
जिल्ला सहकारी संघ काभ्रेले ५९ औं स्थापना दिवसको अवसरमा वृद्धवृद्धालाई भोजन तथा न्यानो जुत्ता वितरण गरेको छ । पनौतीमा रहेको श्री प्राणनाथ माइती वृद्धाश्रममा रहनुभएका ज्येष्ठ नागरिकको सम्मानमा उक्त कार्यक्रम आयोजना गरिएको जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटेले जानकारी दिए । सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवस तथा कुशे औंसीको अवसर पारेर उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रमले ज्येष्ठ नागरिकप्रतिको सम्मान, मानविय सेवा र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिवद्धतालाई थप उजागर गरेको सहकारी संघको विश्वास छ । कार्यक्रममा सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति तथा कर्मचारीहरुकामे सहभागिता रहेको थियो । यता, स्थापना दिवसको अवसर पारेर बनेपा स्थित कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । कार्यक्रममा जिल्ला अध्यक्ष अमन पोटे, उपाध्यक्ष शान्ति लामा तामाङ, सचिव प्रकाश बञ्जारा, बचत संघका अध्यक्ष उदयराम कायस्थ, मेनेजर्स क्लव काभ्रेका अध्यक्ष गोपाल दाहाल, पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायत सहकारीकर्मीको उपस्थिती रहेको थियो ।





