2026 August 29/ 11:22: 41am

    बनेपा/बनेपा नगरपालिकाले नगरवासीलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले चारवटा स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ ।
    नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले तथा सामुदायिक विकास शाखा प्रमुख दिनेशकुमार पोखरेलले सम्बन्धित स्वास्थ्य संस्थाका प्रतिनिधिसँग सम्झौता गरेका हुन् । सम्झौताअनुसार बनेपामा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पताल, अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र, स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र र नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले नगरवासीलाई विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउनेछन् ।
    अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रका तर्फबाट प्रशासन संयोजक सुमिता श्रेष्ठ र लियाजन अफिसर दामोदर श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार १८ वर्षमुनिका अपाङ्गता भएका बालबालिकाको उपचारका लागि नगरपालिकाले आवश्यक समन्वय गर्नेछ । रेयुकाई एईको मासुनागा आँखा अस्पतालका तर्फबाट महासचिव हिरामणि शर्मा, कोषाध्यक्ष दिनेशराज कायस्थ र सहसचिव धर्मभक्त प्रधानले सम्झौतामा हस्ताक्षर गरेका छन् । आर्थिक वर्ष २०८३÷८४ का लागि मोतियाविन्दुको शल्यक्रिया, विद्यार्थीको दृष्टि परीक्षण तथा चस्मा वितरणमा सहुलियत दिने व्यवस्था गरिएको छ। साथै स्वास्थ्य संस्थामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई आँखासम्बन्धी अभिमुखीकरण गराउने विषय पनि सम्झौतामा समेटिएको छ ।
    नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका तर्फबाट मन्त्री राजु सिग्देल र कार्यालय प्रमुख गोकुल बाँनियाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बनेपा नगरपालिकाका स्थायी नागरिकलाई उपचारका क्रममा आवश्यक पर्ने रगत उपलब्ध गराउने तथा काभ्रे रक्तसञ्चार सेवामा रगत संकलन कार्यमा सहयोग गरिनेछ । त्यस्तै, स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रका तर्फबाट कार्यकारी निर्देशक इशा थापा, मेडिकल निर्देशक डा. राजु ढकाल र वित्तीय अधिकृत पवन खनालले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार उपचारका क्रममा बिरामीले बीमाबाट प्राप्त गर्ने रकम, विपन्न नागरिकका रूपमा पाउने सुविधा तथा अन्य छुट वा सहुलियत कट्टा गरी बाँकी उपचार खर्चमध्ये आवश्यक कागजातका आधारमा प्रतिव्यक्ति करसहित बढीमा एक लाख रुपैयाँसम्म नगरपालिकाले व्यहोर्नेछ ।
    नगर प्रमुख शान्तिरत्न शाक्यले बनेपास्थित शिर मेमोरियल अस्पतालसँग पनि मातृ–शिशु स्वास्थ्य तथा क्यान्सरलगायतका उपचार सेवाका लागि सम्झौता गरी नगरवासीलाई थप सेवा उपलब्ध गराउने बताए । नगरपालिकाको आम्दानीको स्रोत सीमित भए पनि अस्पतालमा उपलब्ध नयाँ तथा आवश्यक स्वास्थ्य सेवा नगरवासीलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य संस्थासँग सम्झौता गरिएको नगर प्रमुख शाक्यले बताए । उपप्रमुख विमला सापकोटाले नागरिकको आवश्यकताका आधारमा स्वास्थ्य सेवामा नगरपालिका सदैव तत्पर रहेको बताइन् । सम्झौतामा सहभागी स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले नगरपालिकासँगको सम्झौताअनुसार नगरवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन् ।