2026 August 20/ 05:39: 36pm

    बनेपा/को–अपरेटिभ मेनेजर्स क्लबले सहकारी संस्थाका कर्मचारीहरूको दक्षता अभिबृद्धि गर्ने उद्देश्यले ‘सहकारी सेवा संस्कार रुपान्तरण’ विषयक तालिम सम्पन्न गरेको छ । 
    क्लबको छैटौँ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको उक्त तालिममा काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न १५ वटा सहकारी संस्थाबाट ५० जना कर्मचारीको सहभागिता रहेको थियो । सहकारीमा सदस्यसगँको पहिलो सम्पर्क कर्मचारी मार्फत हुने भएकाले कर्मचारीको व्यवहार, बोलीचाली, कार्यशैली तथा सेवा संस्कारले संस्थाको समग्र छविमा महत्वपूर्ण प्रभाव पार्ने विषयलाई तालिममा समेटिएको थियो ।     
    क्लबका अध्यक्ष गोपाल दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (प्रोस्कून) का प्रमुख कार्यकारी अधिकृत केशब दाहालले सहजीकरण गरेका थिए । तालिमका क्रममा सहकारी संस्थामा प्रभावकारी सेवा प्रवाह, सदस्यसँगको सम्बन्ध, सकारात्मक सोच, व्यावसायिक आचरण, सञ्चार सीप, सेवाग्राहीको अपेक्षा तथा कर्मचारीको भूमिका लगायतका विषयमा सहभागीलाई प्रशिक्षण दिइएको थियो ।
    सहकारी संस्थाप्रति सदस्यहरूको विश्वास कायम राख्न कर्मचारीको कार्यसम्पादन सँगै उनीहरूको सेवा संस्कार र व्यवहार पनि उत्तिकै महत्वपूर्ण हुने प्रशिक्षक दहालले बताए । सहकारी संस्थामा आउने सदस्य तथा सेवाग्राहीलाई सहज, सम्मानजनक र प्रभावकारी सेवा प्रदान गर्न कर्मचारीले आफ्नो जिम्मेवारीलाई केवल नियमित कामका रूपमा नभई संस्थाको प्रतिष्ठा र सदस्यको विश्वाससँग जोडेर हेर्नु पर्ने दाहालले बताए । कार्यक्रममा सहभागी कर्मचारीहरूले तालिमले आफ्नो दैनिक कार्यशैलीमा सुधार ल्याउन तथा सदस्यहरूसँग अझ प्रभावकारी ढङ्गले समन्वय र व्यवहार गर्न सहयोग पुग्ने बताएका थिए ।
    को–अपरेटिभ मेनेजर्स क्लबका अध्यक्ष गोपाल दाहालले क्लबले सहकारी संघ–संस्थामा कार्यरत कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्दै मानव संसाधन विकासमा योगदान पु¥याउने उद्देश्यले नियमित रूपमा विभिन्न प्रकारका तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको बताए । दाहालले २०७८ सालमा स्थापना भएको क्लबले स्थापनाकालदेखि नै सहकारी क्षेत्रका व्यवस्थापक तथा कर्मचारीहरूको व्यावसायिक क्षमता विकास, ज्ञान आदान–प्रदान र संस्थागत सुधारका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । अध्यक्ष दाहालले सहकारी संस्थाको दिगो विकासका लागि सक्षम र दक्ष जनशक्ति आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि कर्मचारीको आवश्यकता र सहकारी क्षेत्रको बदलिँदो परिवेशलाई ध्यानमा राखी थप प्रभावकारी तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने बताए । 

छैटौं स्थापना दिवसमा रक्तदान कार्यक्रम
    बनेपा÷को–अपरेटिभ मेनेजर्स क्लवको छैटौं स्थापना दिवसको अवसरमा खुला रक्तदान कार्यक्रमसहित विभिन्न कार्यक्रम आयोजना गरिएको छ। २०७८ साल भदौ २ गते स्थापना भएको क्लवले सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीको क्षमता अभिवृद्धि, संस्थागत सिकाइ र सहकारी क्षेत्रका समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया गर्दै आएको छ।
    स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा क्लवका अध्यक्ष गोपाल दाहालले सहकारी संस्थाको व्यवस्थापनलाई प्रभावकारी बनाउन व्यवस्थापक तथा कर्मचारीको क्षमता अभिवृद्धिसँगै संस्थागत सिकाइलाई प्राथमिकता दिनुपर्ने बताए। उनले जिल्लाका सहकारी संस्थाबीच सहकार्य, अनुभव आदानप्रदान र असल अभ्यासको विकासमा क्लवले भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे।
    कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटेले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न संस्थाहरु थप व्यवस्थित, पारदर्शी र सुशासनयुक्त बन्नुपर्नेमा जोड दिए। सहकारीको दिगोपनका लागि ऐन, नियम तथा सरकारले ल्याएका पछिल्ला नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनको भनाइ थियो।जिल्ला बचत संघ काभ्रेपलाञ्चोकका अध्यक्ष उदयराम कायश्थले सहकारी संस्थाको अभिलेखीकरण, व्यवस्थापन प्रणाली तथा वित्तीय अनुशासनलाई व्यवस्थित बनाउनुपर्ने बताए। सक्रिय र संस्थागत रुपमा सबल सहकारीले मात्रै सदस्यको विश्वास कायम राख्न सक्ने भन्दै उनले सहकारी व्यवस्थापनमा दक्ष जनशक्तिको आवश्यकता औंल्याए।नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले सहकारी क्षेत्रको गतिविधिमा पारदर्शिता र सूचनाको महत्व रहने बताए। सहकारी संस्थाले आफ्ना गतिविधि र वित्तीय अवस्थालाई व्यवस्थित रुपमा अभिलेखीकरण गर्दै सदस्य तथा सरोकारवालालाई आवश्यक सूचना उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो।
    क्लवका उपाध्यक्ष ठाकुरानाथ अधिकारीले स्वागत मन्तव्य राख्दै स्थापना कालदेखि क्लवले सहकारी व्यवस्थापकहरुको क्षमता विकास, संस्थागत सिकाइ र अनुभव आदानप्रदानका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए।कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष विवेकराज ठकुरी, निवर्तमान अध्यक्ष मदन बस्नेतलगायतले सहकारी संस्थाको वर्तमान अवस्था, व्यवस्थापन, कर्मचारीको क्षमता अभिवृद्धि, अभिलेखीकरण, संस्थागत सुशासन तथा सहकारीसम्बन्धी ऐन–नियमका विषयमा सुझाव दिएका थिए । कार्यक्रममा क्लवका सचिव सुवास वैद्यले सञ्चालन गरेका थिए।
    पछिल्लो समय सरकारले सहकारी क्षेत्रलाई लक्षित गरी ल्याएका विभिन्न नीति तथा व्यवस्थाबारे समेत चर्चा गर्दै सहकारी संस्थाले कानुनी प्रावधानको पालना गर्दै सुशासन, पारदर्शिता र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने सहभागिहरुले बताएका थिए । स्थापना दिवसकै अवसरमा आयोजित खुला रक्तदान कार्यक्रममा सहकारी क्षेत्रसँग सम्बन्धित व्यक्ति तथा सर्वसाधारणको सहभागिता रहेको थियो। क्लवले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको छ।क्लवले आगामी दिनमा पनि सहकारी व्यवस्थापक तथा कर्मचारीको क्षमता अभिवृद्धि, संस्थागत सिकाइ, अनुभव आदानप्रदान तथा सहकारी क्षेत्रका समसामयिक विषयमा नियमित कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष दाहालले बताए ।