2026 August 20/ 04:53: 18pm

    धुलिखेल/पछिल्लो समय सार्वजनिक, सामुदायिक तथा विभिन्न सरकारी जमिनहरु अतिक्रमण हुने क्रम तिब्र बनिरहेको छ । विकासका नाममा हुने अतिक्रमणसँगै ब्यत्तिगत लाभका लागि जग्गा प्लटिङ, ब्यापार ब्यवसाय तथा अन्य प्रयोजनमा समेत सार्वजनिक जग्गा र वनहरु अतिक्रमण हुन थालेका छन् । 
    सडक निर्माणका क्रममा हुने अतिक्रमण सबै भन्दा धेरै भएको डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ । स्थानीय सरकारले वडाहरुमा घर घरमा सडक पु¥याउने अभियानमा सबै भन्दा धेरै अतिक्रमण सामुदायिक तथा सार्वजनिक वनहरु अतिक्रमण भएका छन् । क्रसर तथा खानी, जग्गा प्लटिङ जस्ता क्षेत्रमा हुने ब्यवसायका कारण थप अतिक्रमणमा परेको छ । वन अतिक्रमण विरुद्ध चालु वर्षको एक महिनामा नै ७ वटा उजुरी डिभिजन वन कार्यालयमा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा परेका उजुरीको फछ्र्याैट पनि बाँकी नै छ । केहि अनुसन्धानका क्रममा रहेका छन् । नमोबुद्ध, पाँचखाल, तेमाल, रोशी, मण्डनदेउपुर, बनेपा, धुलिखेल लगायतका क्षेत्रमा वन अतिक्रमण भएको उजुरीमा उल्लेख छ । डिभिजन वन कार्यालयले उजुरीहरु उपर अनुसन्धान शुरु भएको बताएको छ ।