2026 August 15/ 12:47: 38am

     बनेपा/नेपाली विद्यार्थी तथा युवालाई जापानी भाषा, सँस्कृति, कम्प्युटर सीप तथा व्यावसायिक दक्षतामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसरसँग जोड्दै आइरहेको हाचिको ल्याङ्ग्वेज एण्ड ट्रेनिङ सेन्टरले अभिभावकसँग अन्तरक्रिया गरेको छ । जापानमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा तथा व्यवहारिक तयारी प्रदान गर्ने उद्देश्यले अभिभावकसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हाचिको बनेपाका सिईओ तथा प्रिन्सिपल आशिष लामाले जानकारी दिए । २१ जना अभिभावकहरूको सहभागिता रहेको उक्त कार्यक्रममा अभिभावकले जापान अध्ययनको प्रकृया, नेपाली विद्यार्थीको अवसर र सम्भावना बारे जिज्ञासा राखेका थिए ।
           पछिल्लो समय जापान पुगेपछि विद्यार्थीहरूले दुःख पाएको, अध्ययनलाई निरन्तरता दिन नसकेको, रोजगारीको समस्या भोगेको तथा विभिन्न कारणले भिसा रद्द भएर नेपाल फर्किनुपरेको जस्ता विषयहरू सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट सार्वजनिक भइरहेको भन्दै अभिभावकको यसबारे चासो राखेका थिए । यस्ता घटनाका कारण आफ्ना छोराछोरीलाई जापान पठाउने तयारीमा रहेका अभिभावकहरूमा उत्पन्न हुने चिन्ता, द्विविधा र अन्योललाई सम्बोधन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हाचिको ल्याङ्ग्वेज एण्ड ट्रेनिङ सेन्टरले जनाएको छ । कार्यक्रममा अभिभावकहरूले जापानमा विद्यार्थी पठाउने विषयमा आफूले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्राप्त गरेका जानकारी, आफ्ना अनुभव, आशंका, चिन्ता तथा अपेक्षाहरू खुलेर राखेका थिए । सहभागी प्रत्येक अभिभावकलाई आफ्ना धारणा व्यक्त गर्ने अवसर प्रदान गरिएको थियो ।
            अभिभावकहरूको जिज्ञासा तथा चिन्तालाई सम्बोधन गर्दै हाचिको बनेपाका सिईओ लामाले जापानको वास्तविक विद्यार्थी जीवन, विदेशी विद्यार्थीहरूले सामना गर्ने चुनौती, जापानमा उपलब्ध अध्ययन तथा रोजगारीका अवसर, ती अवसर प्राप्त गर्न नेपाली विद्यार्थीहरूले गरिरहेका कमी–कमजोरी तथा जापान जानुअघि गर्नुपर्ने तयारीका विषयमा विस्तृत जानकारी दिएका थिए । जापानसँग नजिक रहेर काम गरेका सिईओ लामा नेपाल फर्किएर अहिले बनेपामा हाचिको मार्फत शैक्षिक परामर्श प्रदान गरिरहेका छन् ।
उनले जापानमा विद्यार्थी जीवनलाई सहज र सफल बनाउन केवल जापानी भाषा जान्नु मात्र पर्याप्त नहुने बताउँदै भाषा, जापानी जीवनशैली, सञ्चार सीप, अनुशासन, आत्मनिर्भरता, अध्ययन गर्ने बानी, कम्प्युटर सीप तथा कार्यस्थलको व्यवहार लगायतका विषयमा विद्यार्थीलाई नेपालमै पर्याप्त रूपमा तयार पार्नुपर्ने बताए ।

          कार्यक्रमको अर्को महत्वपूर्ण विषय विद्यार्थी जापान जाने समयसम्म अभिभावक र संस्थाले संयुक्त रूपमा गर्न सक्ने तयारी रहेको थियो। यस विषयमा छलफल गर्दै विद्यार्थीको अध्ययन, व्यवहार र दैनिक गतिविधिमा अभिभावकको निरन्तर निगरानी तथा संस्थाको मार्गदर्शन आवश्यक रहेको निष्कर्ष निकालिएको थियो । हाचिको बनेपाले विद्यार्थीहरूलाई जापान जानुअघि निरन्तर रूपमा दैनिक ४ घण्टासम्म जापानी भाषा कक्षा, जापानी जीवनशैलीसम्बन्धी ज्ञान, सीप तथा कम्प्युटर तालिमका कक्षाहरु सञ्चालन गरिरहेको छ । गुणस्तरीय भाषा, सीप प्रति आफुहरु प्रतिवद्ध रहेको हाचिको बनेपाले जनाएको छ । त्यसैगरी, विद्यार्थीहरूको अध्ययन तथा व्यक्तिगत विकासमा अभिभावकहरूले पनि निरन्तर चासो राख्ने, विद्यार्थीको प्रगति तथा गतिविधिबारे संस्थासँग समन्वय गर्ने र जापान जानुअघिसम्म विद्यार्थीलाई आवश्यक तयारीमा सहयोग गर्ने विषयमा समेत सहमति भएको थियो।
            कार्यक्रमले जापान अध्ययनका लागि विद्यार्थी पठाउने विषयमा अभिभावकहरूमा रहेका विभिन्न जिज्ञासा तथा चिन्तालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्दै “जापान जानुअघि नै विद्यार्थीलाई सम्भावित चुनौतीका लागि तयार बनाउने” दिशामा महत्वपूर्ण छलफलको वातावरण सिर्जना गरेको छ । कार्यक्रम सफल बनाउन हाचिकोका भाइस प्रिन्सिपल सुर्य बहादुर तामाङ, डिआई सर्मिला काफ्ले प्रशासकीय अधिकृत सुनिता श्रेष्ठ र सुस्मिता साखले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । हाचिको बनेपाले विद्यार्थीलाई जापान पठाउने मात्र नभई जापानमा पुगेर अध्ययन, जीवन र भविष्य निर्माण गर्न सक्ने गरी नेपालमै गुणस्तरीय र व्यवहारिक तयारी गराउने आफ्नो उद्देश्यलाई निरन्तरता दिने जनाएको छ ।