2026 August 07/ 03:05: 34am

एक वर्षको अवधीमा ७५२ वटा आपराधिक घटना दर्ता भएका छन् भने ६५८ जना अभियुक्त पक्राउ परेका छन् । सडक दुर्घटनामा २६ जनाको मृत्यु भएको छ । २५० जना घाइते भएका छन् । ३ जनाको तथा १०१ जनाले आत्महत्या गरेका छन् । प्राकृतिक प्रकोपका २३ घटना भए । ती घटनामा १२ जनाको मृत्यु र ७ जना घाइते भएका छन् ।

    धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८२/०८३ मा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, राजस्व संकलन, राहत वितरण, शान्ति–सुरक्षा व्यवस्थापन, बजार अनुगमन तथा प्रशासनिक समन्वयका क्षेत्रमा उल्लेख्य सेवा प्रवाह गरेको छ । 
    प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार एक वर्षमा २० हजार ४०० भन्दा बढी नागरिकतासम्बन्धी सेवा, ३७ हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र आवेदन दर्ता, १३ हजारभन्दा बढी राहदानी आवेदन र लक्ष्य भन्दा धेरै राजस्व संकलन भएको छ । सबैभन्दा धेरै सेवा नागरिकता क्षेत्रमा प्रवाह भएको देखिन्छ । नयाँ नागरिकता, प्रतिलिपि, आमाको नामबाट नागरिकता, गैरआवासीय नागरिकता, अंगीकृत नागरिकता, नागरिकता परित्याग र रद्दसमेत गरी २० हजार ४०० वटा नागरिकतासम्बन्धी सेवा प्रदान गरिएको कार्यालयको तथ्यांकले देखाउँछ ।
    आर्थिक वर्षभर सबैभन्दा धेरै प्रतिलिपि नागरिकता ११,१०७ वटा जारी गरिएको छ । त्यसपछि नयाँ नागरिकता ९,१५७ वटा जारी गरिएको छ । आमाको नामबाट २३, गैरआवासीय नागरिकता ४३, अंगीकृत नागरिकता ९, नागरिकता परित्याग ५० र नागरिकता रद्द १० वटा भएको विवरणमा उल्लेख छ । मातृत्व–पितृत्वको ठेगाना नखुलेको अवस्थामा १ जनालाई नागरिकता प्रदान गरिएको छ । 
    राष्ट्रिय परिचयपत्रतर्फ ३०,१४९ वटा आवेदन विवरण दर्ता गरिएको छ भने ७,१८९ वटा कार्ड वितरण गरिएको छ । सरकारले हरेक नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै सेवा लिनेहरुको संख्या बढेको भए पनि सहज भने गराउन सकेको छैन । जिल्ला प्रशासन कार्यालयले प्राप्त श्रोत र साधन मार्फत सहज र सरल सेवा प्रदान गर्ने प्रयत्न गरेको भए पनि परिचयपत्र सम्वन्धी अनेकौं समस्या रहेको बताईएको छ । जिल्ला प्रशासन कार्यालय १३,२०८ वटा राहदानी आवेदन विवरण दर्ता गरेको छ । त्यसै अवधिमा १२,७५८ वटा राहदानी कार्ड वितरण गरिएको छ । 
    नाबालक परिचयपत्र, दलित÷जनजाति परिचयपत्र र संघ–संस्था सेवा एक वर्षमा ६१० वटा नाबालक परिचयपत्र जारी गरिएको छ । त्यसैगरी ५४६ वटा दलित÷जनजाति परिचयपत्र वितरण गरिएको छ । संघ–संस्था सम्बन्धी सेवातर्फ २४ नयाँ संस्था दर्ता र २१३ संस्था नवीकरण गरिएको छ । हातहतियारतर्फ नयाँ दर्ता नभए पनि ५ वटा नवीकरण गरिएको छ ।
    कार्यालयमा ११५ वटा मुद्दा दर्ता भएका छन् भने ९२ वटा मुद्दा फछ्र्यौट गरिएको छ । २५० वटा ठाडो उजुरी÷गुनासो प्राप्त भएकोमा २४० वटा फछ्र्यौट गरिएको छ । कारागार निरीक्षण ६ पटक, सरकारी कार्यालय अनुगमन ३३ पटक, सुरक्षा निकाय निरीक्षण ३६ पटक, विकास आयोजना अनुगमन २५ पटक र संघ–संस्था अनुगमन ५८ पटक गरिएको छ । जिल्ला सुरक्षा समितिको ६२ बैठक, विपद व्यवस्थापन सम्बन्धी १० बैठक, कार्यालय कर्मचारी बैठक १२, कार्यालय प्रमुख बैठक १२, सूचना अधिकारी बैठक ५, स्थानीय तहसँग समन्वय÷अन्तरक्रिया २२ र अन्य विविध बैठक ६७ पटक सम्पन्न भएको छ । 

अपराध र शान्ति–सुरक्षा
    एक वर्षमा ७५२ वटा आपराधिक घटना दर्ता भएका छन् भने ६५८ जना अभियुक्त पक्राउ परेका छन् । सडक दुर्घटनामा २६ जनाको मृत्यु र २५० जना घाइते भएका छन् । हत्या ३, आत्महत्या १०१, प्राकृतिक प्रकोपका २३ घटना, ती घटनामा १२ जनाको मृत्यु र ७ जना घाइते भएका छन् । लागुऔषध नियन्त्रणतर्फ ४४ मुद्दा दर्ता, ९१ जना पक्राउ, २१.३६३ केजी गाँजा, १,३९३ ग्राम पोल्याण्ड, ८०२ ट्रामाडोल ट्याबलेट, ५६.७५ ग्राम ब्राउन सुगर, ६ डायजेपाम एम्पुल, ४ फेनरगन एम्पुल र ५० नाइट्राजेपाम ट्याबलेट बरामद भएको विवरणमा उल्लेख छ । २७२ फर्म÷पसल अनुगमन, १७ फर्मलाई जरिवाना गरिएको छ । ७७ फर्मबाट सामान जफत गरिएको छ ।