2026 August 07/ 03:05: 50am

सञ्चालकहरूविरुद्ध थप ६ करोड ३ लाख रुपैयाँको पूरक अभियोग पत्र दायर । यसअघि १२ करोड ३२ लाख ४५ हजार २ सय रुपैयाँको विगो कायम गर्दै अभियोग दर्ता भएको थियो । 

मोतीराम तिमल्सिना
बनेपा

    बनेपास्थित गरुड बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक तथा कर्मचारीहरू विरुद्ध कुल ६ करोड ३ लाख ८७ हजार ९ सय १५ रुपैयाँ ९१ पैसा अतिरिक्त बिगो दाबी गर्दै काभ्रेपलान्चोक जिल्ला अदालतमा थप (पूरक) अभियोग पत्र दायर गरिएको छ । 
     अभिलेख थापा मगरसहित ६१ जना बचतकर्ताहरूले आफ्नो बचत रकम फिर्ता नभएको भन्दै दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकील कार्यालय काभ्रेपलान्चोकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम थप अभियोग पत्र दायर गरेको हो । यसअघि श्यामकृष्ण सुवालसहितका बचतकर्ताहरूको जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले १२ करोड ३२ लाख ४५ हजार २०५ रुपैयाँ ८ पैसा बिगो कायम गरी मूल अभियोग पत्र दायर गरिसकेको थियो ।  बचतकर्ताको पैसाले व्यक्तिगत मोजमस्ती र विनाधितो लगानीबचतकर्ताहरूले राम्रो ब्याजदरको प्रलोभनमा परी सहकारीमा जम्मा गरेको रकम माग्न जाँदा सञ्चालकहरूले विभिन्न बहाना बनाई झुलाउने र पछि सम्पर्क विहीन भई ठगी गरेको जाहेरीमा उल्लेख छ । अनुसन्धानका क्रममा सहकारीका अध्यक्ष बासुदेव खड्काले सञ्चालक समितिको बैठक नै नबसाई मनोमानी ढंगले आफ्ना चिनेजानेका मानिसहरू तथा नातेदारहरूलाई विनाधितो करोडौँ रुपैयाँ ऋण लगानी गरेको खुलेको छ । अध्यक्ष खड्काले आफ्नी श्रीमती प्रतिमा आचार्यलाई संस्थाको प्रमुख कार्यकारी अधिकृत बनाई मासिक १ लाख रुपैयाँ तलब सहकारीकै खातामा हाल्ने गरेको र बाह्य स्रोतबाट थप ५० हजार रुपैयाँ तलब दिने गरेको बयानबाट पुष्टि भएको छ । सहकारीबाट बजारमा कुल ४८ करोडभन्दा बढी ऋण लगानी भएको भए तापनि सो असुल हुन नसक्दा सहकारी टाट पल्टिने अवस्थामा पुगेको कर्मचारीहरूको बयानमा उल्लेख छ । 

को जेलमा, को फरार ? 
    सहकारी ठगी प्रकरणमा सञ्चालक समिति, व्यवस्थापक र कर्मचारी गरी कुल १३ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरू मध्ये अध्यक्ष बासुदेव खड्का सहित केहि पुर्पक्षका लागि थुनामा (जेलमा) छन् । अनुसन्धानका क्रममा अदालतको आदेशले जिल्ला कारागार कार्यालय काभ्रेको थुनामा रहेकाहरु मध्ये बासुदेव खड्का (अध्यक्ष), राजेश श्रेष्ठ (कोषाध्यक्ष), बच्चुराम विष्ट (सदस्य), रामगोपाल थापा (व्यवस्थापक), राजीव विष्ट (व्यवस्थापक), प्रतिमा आचार्य (पूर्व सिईओ÷अध्यक्षकी पूर्व श्रीमती) केन्द्रीय कारागार जगन्नाथ देवल, काठमाडौँमा रहेका छन् । 
    प्रतिवादीहरु मध्ये दीपा कुमारी आचार्य (सञ्चालक समिति सदस्य) उच्च अदालत पाटनको आदेशले २ लाख धरौटी तारेखमा छुटेकी छिन् भने सुमन सिग्देल (कर्जा सहायक) काभ्रेपलान्चोक जिल्ला अदालतको आदेशले ५० हजार धरौटी तारेखमा छुटेका छन् । अदालतले अन्य प्रतिवादीहरुलाई पक्राउ पुर्जी जारी गरेको छ । वेदप्रसाद सिग्देल (उपाध्यक्ष), सलिना थापा (सचिव), विदुर थापा (सदस्य), सरिता दाहाल (पनौती सेवा केन्द्र प्रमुख), अनु भण्डारी (लेखा अधिकृत) फरार रहेका छन् । प्रतिवादीहरू उपर सहकारी ऐन, २०७४ को दफा १२२ को खण्ड (घ), (ङ), (च), (छ), (ज) र (त) बमोजिम कसूर गरेको पुष्टि भएको सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । सोही ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (घ) (५) बमोजिम पछिल्लो पुरक अभियोगको ६ करोड ३ लाख ८७ हजार ९ १५ रुपैयाँ ९१ पैसा बिगो कायम गरी मुख्य कसूरदारहरूलाई ६ वर्षदेखि ८ वर्षसम्म कैद र बिगो बमोजिमको जरिवाना सजाय गर्न माग गरिएको छ ।  साथै, कसूरमा मदत पु¥याउने कर्मचारीहरू (सरिता दाहाल, सुमन सिग्देल र अनु भण्डारी) को हकमा सोही ऐनको दफा १२४ (२) बमोजिम मुख्य कसूरदारको आधा सजाय गर्न र पीडित बचतकर्ताहरूलाई उनीहरूको रकम क्षतिपूर्ति स्वरूप दिलाई भराउन अदालतसमक्ष मागदाबी गरिएको छ । जिल्ला न्यायाधिवक्ता टीकाभूषण घिमिरेले २०८३ साउन १२ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकमा सहकारी ठगीको पुरक अभियोग दर्ता गराएका हुन् । सोहि अभियोगमा ६१ जनाको जाहेरी रहेको उल्लेख छ । बचतकर्ताहरु भने वर्षाै देखि रकम फिर्ता नभएका कारण मर्कामा परेका छन् । 

उपत्यका पछिको ‘हटस्पट’ काभ्रे
    काभ्रेपलाञ्चोक जिल्लामा रहेका सहकारीहरुमा राखेको बचत जोखिम कम गराउन भएका पहल प्रभावकारी बन्न सकेका छैनन । दैनिकजसो सहकारीले बचत फिर्ता नगरेको भन्दै बागमती प्रदेश सहकारीमा उजुरी दर्ता हुन थालेका छन् । ‘उपत्यका पछि काभ्रेपलाञ्चोक जिल्ला सहकारीको उजुरी दर्ता हुने जिल्लाका रुपमा हटस्पट देखिएको छ’– प्रदेश सहकारी विभागका प्रदिपराज पौडेलले भने–‘उजुरी दर्ता गर्ने क्रम बढिरहेको छ । हामीले छानविन र अनुसन्धानका लागि प्रहरी कार्यालयमा लेखि पठाउने कार्य भईरहेको छ ।’ 
    युएम, नागरिक, मौलाकालिका लगायतका आधा दर्जन भन्दा धेरै सहकारी विरुद्ध ठगी अभियोगमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुर पछि काभ्रेपलाञ्चोक जिल्लामा सहकारी ठगी गर्ने क्रम धेरै रहेको विभागको अनुसन्धानले पुष्टी गरेको पौडेलले बताए । त्यस्तै सरकारले ल्याएको सहकारी सम्वन्धी पछिल्लो विधेयक अनुसार अद्यावधिक हुने क्रम पनि न्यून रहेको छ । जिल्लामा रहेका करिब एक हजार सहकारी मध्ये थोरै मात्रै अद्यावधिक भएका हुन् । 
    यस अघि नै आधा दर्जन सहकारीहरु विरुछ ठगी अभियोगमा मुद्दा दायर भएको छ । केहि सचालकहरु थुनामा छन् । केहि फरार छन् । कान्तिपुर लगायतका सहकारीलाई संकटग्रस्त घोषणा गरिएको छ । हजारांै बचतकर्ताहरु सहकारीमा राखेको बचतका कारण तनावमा छन् । संकटमा पनि बचत रकम फिर्ता पाउन नसके पछि बचतकर्ताहरु हैरानीमा परेका छन् । 

विभागमा उजुरी परेका सहकारी
–    युनिटी बचत बनेपा
–    स्वर्णिम बचत, बनेपा पुलबाजार
–    काभ्रे बचत, बनेपा
–    गरुड बचत, बनेपा, 
–    युएम बचत, बनेपा
–    मौलाकालिका बचत, बनेपा
–    अग्नि बचत, बनेपा
–    नागरिक बचत, बनेपा
–    सिलादेवी कृषि सहकारी, बनेपा
–    समृद्ध काभ्रे कृषि सहकारी, बनेपा
–    मुकुल बचत, बनेपा
–    रुद्राक्ष बहुउद्देश्यीय साकोस, बनेपा
–    सुन्दरबस्ती बचत, पनौती (सोहि समूहद्धारा संचालित थप दुईवटा) 
–    तलेजु कृषि पनौती, ४