2026 August 08/ 07:27: 11am

    धुलिखेल/धुलिखेल अस्पतालको आयोजनामा धुलिखेलमा ‘नेशनल हस्पिटल लिडरसिप एन्ड म्यानेजमेन्ट कन्फरेन्स २०२६’ सुरु भएको छ । देशभरका अस्पताल सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, स्वास्थ्य व्यवस्थापक, चिकित्सक तथा स्वास्थ्य क्षेत्रका नीति–निर्माताको सहभागितामा सम्मेलन आयोजना गरिएको हो ।
    धुलिखेल अस्पताल परिसरमा आयोजित सम्मेलनको उद्घाटन अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा.रामकण्ठ माकाजु श्रेष्ठले गरेका हुन् । कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. अनुज भट्टचन लगायतका स्वास्थ्य क्षेत्रका विशिष्ठ ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै अस्पतालका संस्थापक डा.रामकण्ठ माकजुले सोचलाई बढाउँदै सकारात्मक सोच र चिन्तनको आदान प्रदान गर्न अनुरोध गरे । धुलिखेल अस्पताल र धुलिखेल अस्पताल जस्ता नेपालका अन्य अस्पतालहरुले समुदाय, राष्ट्रमा पु¥याएको योगदानको स्मरण गराउँदै माकजुले सबै क्षेत्र र ब्यक्तिहरुको सहयोग र समन्वयमा मात्रै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिने बताए । 
स्वास्थ्य सेवा विभागका    महानिर्देशक डा. भट्टचनले नेपालको स्वास्थ्य प्रणालीलाई प्रभावकारी, उत्तरदायी र गुणस्तरीय बनाउन अस्पताल व्यवस्थापनमा नेतृत्वदायी भूमिकाको आवश्यकता रहेको बताए । उनले धुलिखेल अस्पताल त्यसको नमूना रहेको बताए । हरेक अस्पतालका आफ्ना आफ्नै विशेषता रहेको बताउँदै उनले गुणस्तरलाई सशक्त बनाउँदै हरेक विरामी नागरिकहरुलाई मल्हमपट्टी लगाउन अनुरोध गरे । सम्मेलनमा ‘उपचार केन्द्रबाट जनस्वास्थ्यको चालक शक्तिका रूपमा अस्पतालको रूपान्तरण’ विषयमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक तथा अध्यक्ष डा. भगवान कोइरालाले विशेष सम्बोधन गरेका थिए । उनले अस्पतालले उपचारमा मात्र सीमित नरही समुदायको स्वास्थ्य सुधारमा सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे ।
    त्यसैगरी अमेरिकास्थित काइजर परमानेन्टे मेडिकल सेन्टरका चिकित्सक डा. मुदित माथुरले ‘गुणस्तर सुधार र बिरामी सुरक्षा ः काइजर परमानेन्टेका अनुभव’ विषयमा प्रस्तुति दिएका थिए । उनले बिरामी सुरक्षालाई अस्पताल व्यवस्थापनको केन्द्रमा राखेर प्रणालीगत सुधार गर्नुपर्नेमा जोड दिए । सम्मेलनको ‘हस्पिटल स्पटलाइट्स’ सत्रमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. सुभाष आचार्य, तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ, उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेसका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङ, नेपाल हेल्थकेयर म्यानेजर्स एसोसिएसनका अध्यक्ष तथा सुभेच्छा इन्टरनेसनल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. होमप्रसाद अधिकारी र विराट मेडिकल कलेज एन्ड टिचिङ अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. डेनिस कार्कीले अस्पताल सञ्चालन, दक्षता, दिगोपन, गुणस्तर, बिरामी सुरक्षा, कार्यसम्पादन तथा नेतृत्व विकासका विषयमा अनुभव आदानप्रदान गरेका थिए । धुलिखेल अस्पतालका तर्फबाट संस्थापक डा.राजेन्द्र कोँजुले विहानीको सारसंक्षेप र दिउसो संचालन हुने जानकारी मुलक सत्र संचालन गरेका थिए । 
    सम्मेलनमा अस्पताल व्यवस्थापन सुधार, जनशक्ति विकास, सेवा गुणस्तर, बिरामी सुरक्षा, संस्थागत कार्यसम्पादन, सुधार परियोजनाका व्यवसायिक अध्ययन तथा स्वास्थ्य संस्थालाई दीगो र प्रभावकारी बनाउने रणनीतिबारे विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो । धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा.विराज कर्माचार्यले सम्मेलनले नेपालको अस्पताल प्रणालीलाई आधुनिक व्यवस्थापन अभ्यास, गुणस्तर सुधार, बिरामी सुरक्षा तथा नेतृत्व विकासका अन्तर्राष्ट्रिय अनुभवसँग जोड्ने उद्देश्य रहेको बताए । सम्मेलनमा देशभरका सरकारी, सामुदायिक, शिक्षण तथा निजी अस्पतालका २ सय ५० भन्दा धेरै प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमा प्राविधिक सत्रहरू समेत संचालन गरिएको छ । कार्यक्रमका लागि वेब ट्रेडिङ कन्सर्न प्रा.लि.ले सहजिकरण गरेको थियो ।