2026 October 02/ 09:58: 03am

    बनेपा÷रोटरी ई–क्लब अफ नमोबुद्धको तेस्रो पदस्थापन तथा नेतृत्व हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले वर्ष २०२६–०२७ का लागि टासी डोल्मा लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि सामाजिक सेवाका विभिन्न योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
    नवनिर्वाचित अध्यक्ष टासी डोल्मा लामाले रोटरीको मूल भावना अनुरूप शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा समुदायको आवश्यकता केन्द्रित सामाजिक अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताइन् । उनले रोटरी ई–क्लब अफ नमोबुद्धलाई स्थानीय समुदायसँग अझ नजिक जोड्दै प्रभावकारी सामाजिक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
    पुर्व डिस्ट्रिक्ट गभर्नर जयराज्य लक्ष्मी शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष शोभा थापा नकर्मी, पूर्व अध्यक्ष गंगा लुईटेल तिमल्सिना लगायतले क्लब स्थापना भएदेखि हालसम्म सञ्चालन गरिएका सामाजिक, शैक्षिक तथा मानवीय सेवाका कार्यक्रमहरूको समीक्षा गर्दै आगामी दिनमा सेवा विस्तारका योजना प्रस्तुत गरेका थिए । वक्ताहरूले रोटरीले समुदायमा सकारात्मक परिवर्तन ल्याउन खेलेको भूमिकाको प्रशंसा गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
    कार्यक्रममा रोटरी डिष्ट्रिक्टका विभिन्न जिम्मेवारीमा रहेका रोटरीयन, विभिन्न रोटरी क्लबका अध्यक्ष तथा पदाधिकारी, सामाजिक व्यक्तित्व र क्लबका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सुस्मा बजगाईको स्वागत मन्तव्य रहेको कार्यक्रम सरस्वती भुर्तेल आचार्य र नविना बञ्जारा तिमल्सिनाले संयुक्त रूपमा सञ्चालन गरेका थिए । नवगठित कार्यसमितिको सचिवमा नविना बञ्जारा तिमल्सिना चयन भएकी छन् ।
    रोटरी ई–क्लब अफ नमोबुद्धले विगतका वर्षहरूमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् सहयोग तथा सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । नयाँ नेतृत्वसँगै ती कार्यक्रमलाई थप प्रभावकारी र समुदायमुखी बनाउने अपेक्षा गरिएको छ ।