2026 July 17/ 03:18: 01am

    धुलिखेल/धुलिखेल अस्पतालद्वारा प्रि–हस्पिटल केयर सम्वन्धी अन्तरक्तिया कार्यक्रम आयोजना गरिएको छ । प्रि–हस्पिटल केयर सेवाको वर्तमान अवस्था, चुनौती, अवसर तथा सेवा प्रवाहलाई थप प्रभावकारी र समन्वयात्मक बनाउने उदेश्यले आयोजना गरिएको छलफल कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो  । 
    अस्पतालका प्रशासकीय निर्देशक डा.विराजमान कर्माचार्यले धुलिखेल अस्पतालले शुरु गरिरहेको प्रि–हस्पिटलका सन्दर्भमा जानकारी गराएका थिए । काभ्रेपलाञ्चोक जिल्लामा प्रि–हस्पिटल तथा आपतकालीन स्वास्थ्य सेवा (भ्ःक्) सुदृढीकरण सम्बन्धी सरोकारवालाहरु सम्मिलित अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, धुलिखेल अस्पतालका ट्रमा को–अर्डिनेटर श्रीजेश पराजुली, प्यारामेडिक शिवप्रसाद न्यौपाने, जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपति, नेपाल रेडक्रस सोसाइटी काभ्रे तथा सिन्धुपाल्चोकका पदाधिकारी, विभिन्न स्वास्थ्य संस्था तथा एम्बुलेन्स सेवा प्रदायक संस्थाका प्रतिनिधिहरू सहभागी थिए । युनिभर्सिटी अफ भर्जिनिया (ग्ख्ब्) टोलीबाट अमिता सुधीरको सहभागिता रहेको थियो ।
    अन्तरक्रियामा सहभागीहरूले प्रभावकारी आपतकालीन स्वास्थ्य सेवा सञ्चालनका लागि स्वास्थ्य संस्था, एम्बुलेन्स सेवा, स्थानीय सरकार तथा अन्य सरोकारवाला निकायबीच समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए । साथै नियमित तालिम, आवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता, एम्बुलेन्स सेवाको स्तरोन्नति तथा समुदायस्तरमा पहिलो उद्धारकर्ताको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्नुपर्ने निष्कर्ष निकालिएको थियो । अस्पताल पुग्नुअघि नै गम्भीर बिरामीको ज्यान जोगाउन सक्ने प्राथमिक उपचार तथा सुरक्षित उद्धार सेवाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले धुलिखेल अस्पतालले आपतकालीन स्वास्थ्य सेवासम्बन्धी तीनदिने रिफ्रेसर तालिम पनि सम्पन्न गरेको छ । धुलिखेल अस्पताल, अमेरिकाको युनिभर्सिटी अफ भर्जिनिया, एम्प्याथ नेपाल तथा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको सहकार्यमा आयोजित तालिममा काभ्रे र सिन्धुपाल्चोक जिल्लाकास्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत एम्बुलेन्स चालक, एम्बुलेन्समा कार्यरत स्वास्थ्यकर्मी, प्रदेश अस्पतालका प्रतिनिधि, इमरजेन्सी कक्षका प्यारामेडिक तथा नर्स, धुलिखेल अस्पतालका प्यारामेडिक, नर्सिङ स्टाफ र ईएमटीसहित ७५ जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
    तालिममा अस्पताल पुग्नुअघि बिरामीलाई प्रदान गर्नुपर्ने जीवनरक्षक उपचार, सुरक्षित उद्धार तथा उचित अस्पतालसम्म सुरक्षित रूपमा स्थानान्तरण गर्ने विषयमा सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिइएको धुलिखेल अस्पतालकी सह प्राध्यापक डा.सम्झना बस्नेतले जानकारी दिइन् । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका, श्वासप्रश्वासमा समस्या भएका, अत्यधिक रक्तश्राव भएका तथा अन्य आपत्कालीन अवस्थाका बिरामीको प्रारम्भिक व्यवस्थापन सही ढंगले गर्न सकिए मृत्यु र जटिलता दुवैलाई उल्लेख्य रूपमा घटाउन सकिन्छ ।तालिममा श्वासप्रश्वासमा समस्या भएका बिरामीको व्यवस्थापन, कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर), ब्याग–भल्भ–मास्क (बीभीएम) को सही प्रयोग, मेरुदण्डमा चोट लागेका बिरामीको सुरक्षित उद्धार, हड्डी भाँचिएको अवस्थामा प्राथमिक उपचार, अत्यधिक रक्तश्राव रोक्ने आधुनिक विधि तथा बिरामीको प्रारम्भिक मूल्याङ्कन सम्बन्धी विषयमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइएको थियो ।तालिमको अन्तिम चरणमा वास्तविक दुर्घटनाको झल्को दिने गरी ट्रमा सिमुलेसन अभ्यास सञ्चालन गरिएको थियो । 
    अभ्यासका क्रममा टोलीगत समन्वय, बिरामीको अवस्था छिटो मूल्याङ्कन गर्ने क्षमता, उपचारको प्राथमिकता निर्धारण तथा सुरक्षित रूपमा अस्पतालसम्म पु¥याउने प्रक्रियामा विशेष जोड दिइएको थियो । सह–प्राध्यापक डा. बस्नेतका अनुसार नेपालका अधिकांश एम्बुलेन्समा चालक मात्र रहने र धेरै बिरामीलाई लामो दूरीबाट अस्पतालसम्म ल्याउनुपर्ने अवस्था भएकाले अस्पताल पुग्नुअघि उपलब्ध गराइने प्राथमिक उपचारले बिरामीको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले एम्बुलेन्स चालक तथा पहिलो उद्धारकर्ताको क्षमता अभिवृद्धि गर्नु समयको आवश्यकता भएको उनले बताइन् । तालिमका क्रममा सहभागीहरूले बिरामी तथा आफन्तको बढ्दो अपेक्षा, सीमित स्रोत–साधन, दुर्गम भौगोलिक अवस्था र समयमै उपचार उपलब्ध गराउनुपर्ने चुनौतीबारे अनुभव आदानप्रदान गरेका थिए । समुदायमा आपतकालीन अवस्थामा प्राथमिक उपचारको महत्व र पहिलो उद्धारकर्ताको भूमिकाबारे अझ व्यापक जनचेतना आवश्यक रहेको उनीहरूको निष्कर्ष थियो । धुलिखेल अस्पतालले युनिभर्सिटी अफ भर्जिनियासँगको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने जनाएको छ । आगामी चरणमा एम्बुलेन्समा आवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्ने, समुदायस्तरमा आपतकालीन स्वास्थ्य सेवा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा एम्बुलेन्स चालक र आपतकालीन स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई थप विस्तार गरिने अस्पतालले जनाएको छ ।