धुलिखेल/जबरजस्ती करणी कसुरमा १० वर्ष कैद सजाय भोगेर जेलमुक्त भएका काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका–१२ का २९ वर्षीय ठुले भन्ने रविन्द्र भुजेल पुनः नाबालिग बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा परेका छन् ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकको २०७० मंसिर १८ गतेको फैसलाले भुजेललाई जबरजस्ती करणी कसुरमा दोषी ठहर गर्दै १० वर्ष कैद र पीडितलाई १० हजार रुपैयाँ क्षतिपूर्ति भराउने सजाय सुनाएको थियो । उक्त सजाय भुक्तान गरेर जेलबाट छुटेका उनी अहिले फेरि उस्तै प्रकृतिको अर्को अपराधमा मुछिएका हुन् । जिल्ला न्यायाधिवक्ता टीकाभूषण घिमिरेले २०८३ असार १९ गते भुजेलविरुद्ध जबरजस्ती करणी उद्योगको अभियोग दर्ता गरेका थिए । प्रारम्भिक प्रमाणका आधारमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
अभियोगअनुसार २०८३ जेठ २५ गते साँझ करिब ५ः५० बजे विद्यालयबाट घर फर्किरहेकी एक १४ वर्षीया बालिकालाई रोशी गाउँपालिका–१२ घ्याङ्गलेकस्थित जंगलको बाटोमा भुजेलले जबर्जस्ती समातेका थिए । उनले बालिकाको घाँटी समात्दै संवेदनशील अंगमा छोई कपडा खोल्ने प्रयास गरेको अभियोगमा उल्लेख छ । आफ्नो बचाउका क्रममा बालिकाले भुजेलको औँला टोकेपछि उनको औँलामा घाउ भएको र त्यसपछि उनी घटनास्थलबाट भागेको अभियोजन पक्षको दाबी छ । संघर्षका क्रममा भुजेलको औँला बालिकाको नाकभित्र पस्दा नाकबाट रगतसमेत बगेको अभियोगमा उल्लेख छ । अभियोजन पक्षले उक्त कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ बमोजिमको जबरजस्ती करणी कसुरको उद्योग भएको दाबी गरेको छ । यस मुद्दामा अदालतको अन्तिम फैसला आउन बाँकी छ । तर, यसअघि बलात्कार कसुरमा दोषी ठहर भई कैद सजाय भोगिसकेका व्यक्ति फेरि उस्तै प्रकृतिको आरोपमा पुर्पक्षका लागि थुनामा परेपछि गम्भीर चासो र चिन्ता व्यक्त हुन थालेको छ ।









