2026 July 11/ 12:57: 36am

    सिन्धुली/ग्लोबल आइएमई बैंकको आयोजना तथा धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा सिन्धुलीको खुर्कोटमा सञ्चालन गरिएको दुईदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । 
    शिविरमार्फत स्थानीय बासिन्दालाई विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइएको ग्लोबल आइएमई बंैकले जानकारी दिएको छ । अस्पतालका मुटु रोग विशेषज्ञ डा.निशान भट्टराई लगायतको समुहले शिविरमा सहभागिहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराएको थियो । शिविरमा  २०२ जना सेवाग्राहीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन् । तीमध्ये ५८ जना पुरुष र १४४ जना महिला रहेका छन् ।
    शिविरमा बहुविषयगत विशेषज्ञ चिकित्सकको टोलीले मुटुरोग, हाडजोर्नी तथा फिजियोथेरापीलगायतका सेवा प्रदान गरिएको थियो । सोहि क्रममा २०२ वटा मुटुरोग (कार्डियोलोजी) सम्बन्धी परामर्श, १३३ वटा हाडजोर्नी (अर्थोपेडिक) परामर्श तथा १२४ जनालाई फिजियोथेरापी सेवा उपलब्ध गराइएको थियो । यस्तै, १४८ जनाको ईसीजी परीक्षण र १०१ जनाको इको परीक्षण गरिएको थियो । आवश्यकताअनुसार सेवाग्राहीलाई निःशुल्क औषधि वितरण गर्नुका साथै स्वास्थ्यसम्बन्धी परामर्शसमेत प्रदान गरिएको थियो । 
    ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको शिविरबाट स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिएका थिए । समयमै रोग पहिचान, उपचार तथा स्वास्थ्य सचेतना अभिवृद्धिमा यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ । शिविर सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने गोलन्जोर गाउँपालिका–७, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय जनप्रतिनिधि तथा सम्पूर्ण स्थानीय समुदायप्रति ग्लोबल आइएमई बैंकले आभार व्यक्त गरेको छ । साथै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने बैंकका धुलिखेल शाखा प्रबन्धक उज्वल पोखरेलले बताए ।