बनेपा/आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले आयुर्वेद सेवा तथा कार्यक्रमहरूको जिल्ला स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।
गोष्ठी जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख डा.अर्जुन उपाध्यायले गरेका थिए । उपाध्यायले चालु आर्थिक वर्षमा सञ्चालन भएका आयुर्वेद सेवा, नागरिक आरोग्य कार्यक्रम, योग तथा प्राकृतिक चिकित्सा, जडीबुटी प्रवद्र्धन, स्वास्थ्य शिक्षा तथा जनचेतनामूलक कार्यक्रमहरूको समीक्षा गर्दै आगामी वर्षमा सेवाको गुणस्तर वृद्धि, औषधिको नियमित उपलब्धता, दक्ष जनशक्तिको व्यवस्थापन तथा स्थानीय तहसँगको सहकार्यलाई थप मजबुत बनाइने बताए । उपाध्यायले आगामी आर्थिक वर्षका कार्यक्रमलाई प्रभावकारी, परिणाममुखी र नागरिकमैत्री बनाउने उद्देश्यले योजना तर्जुमा सम्बन्धी छलफल आयोजना गरिएको बताए ।
प्रमुख डा. अर्जुन उपाध्यायले २०८२/०८३ असार १५ सम्म ८६ हजार १ सय १९ जनाले सेवा लिएको बताए । चिकित्सालयले पंचकर्म, पूर्वकर्म, शल्य चिकित्सा सेवा, जेष्ठ नागरिक सेवा, स्तनपायी आमाको सेवा, स्वस्थ्य जीवन सेवा, अकुपन्चर सेवा, फिजियोथेरापी सेवा, शिबिर, ल्याब सेवा, मुख्यमन्त्री जनता स्वास्थ्य लगायतका सेवाहरु प्रदान गर्दै आएको छ । अस्पतालमा भवनको अभाव, औषधीको अभावका विच समेत सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको र आयुर्वेद तथा वैकल्पिक चिकित्सालय १, आयुर्वेद औषधालय ४ वटा, नागरिक आरोग्य सेवा केन्द्र ५ वटा र कुल गैर सरकारी संस्था १ वटा मार्फत जिल्लामा सेवा प्रदान गर्दै आएको डा. उपाध्यायले बताए ।
प्रमुख अतिथि समन्वय प्रमुख दीपक गौतमले आयुर्वेद नेपालको मौलिक तथा वैज्ञानिक उपचार प्रणाली भएको बताए । गौतमले आयुर्वेद सेवालाई गाउँ–गाउँसम्म सहज रूपमा पु¥याउन स्थानीय तहले पनि आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए । स्वस्थ जीवनशैली, योग, प्राकृतिक चिकित्सा तथा जडिबुटीको उपयोगलाई जनस्तरसम्म विस्तार गर्न सके नसर्ने रोगहरूको नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने गौतमले बताए । गोष्ठीमा जनस्वास्थ्य कार्यालयका प्रमुख रागीश्री कक्षपती श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष विनोद न्यौपाने, जिल्लाका स्थानीय तहका आयुर्वेद स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतिनिधिहरूले आ–आफ्नो पालिकामा सञ्चालन भएका कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै सेवा प्रवाहका क्रममा देखिएका समस्या, चुनौती, सिकाइ र सुधारका उपायबारे छलफल गरिएको थियो । छलफलका क्रममा आयुर्वेद सेवाको पहुँच अझै विस्तार गर्ने, विद्यालय तथा समुदायमा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने, योग अभ्यासलाई नियमित बनाउने, औषधिजन्य जडीबुटीको संरक्षण र उत्पादनलाई प्रोत्साहन गर्ने तथा स्थानीय आवश्यकताका आधारमा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए । कार्यक्रममा स्वागत मन्तब्य डा.ईना श्रेष्ठले राखेकी थिईन भने सञ्चालन जानुका ढुंङ्गानाले गरेकी थिईन् ।









