धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा युरियाबाहेक अन्य प्रमुख रासायनिक मलको मौज्दात सकिएको छ । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको पछिल्लो सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडको धुलिखेलस्थित गोदाममा युरिया मलको थोरै मौज्दात छ ।
डीएपी, पोटास, कृषि चून, एमोनियम सल्फेट र एसएसपी जिंकको मौज्दात शून्य रहेको छ । निजी क्षेत्रको साल्ट ट्रेडिङ लिमिटेडका ५० किलोग्रामका बोरामा युरिया ५५५ बोरा, डीएपी ६१९ बोरा, पोटास ३५१ बोरा, एमोनियम सल्फेट ८७६ बोरा र एसएसपी जिंक ४३६ बोरा मौज्दात रहेको विवरणमा उल्लेख गरिएको छ । कृषि चून भने साल्ट ट्रेडिङमा पनि उपलब्ध छैन । जिल्ला प्रशासन कार्यालय काभ्रेकी प्रशासकीय अधिकृत सुनिता थापाका अनुसार धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला सरकारी गोदाममा युरियाबाहेक अन्य मलको मौज्दात समाप्त हुनु किसानका लागि चिन्ताको विषय बनेको छ । खेतीपातीको समयमा रासायनिक मलको नियमित आपूर्ति हुन नसके उत्पादनमा प्रत्यक्ष असर पर्ने कृषकहरूको गुनासो रहँदै आएको छ ।
जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक मलको आपूर्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिएको छ । किसानले समयमा आवश्यक मल सहज रूपमा प्राप्त गर्न सके मात्र कृषि उत्पादनमा अपेक्षित वृद्धि सम्भव हुने सरोकारवालाहरूको भनाइ छ ।









