2026 July 10/ 11:53: 38pm

    धुलिखेल/शिक्षा विकास तथा समन्वय इकाई, काभ्रेपलाञ्चोकद्वारा सार्वजनिक गरिएको एसईई २०८२ को नतिजा अनुसार जिल्लाका ९ विद्यालयबाट प्राविधिक धारतर्फ परीक्षामा सहभागी भएका २०४ विद्यार्थीमध्ये १८१ जना ग्रेडेड भएका छन् । 
    प्राविधिक धारको समग्र उत्तीर्ण (ग्रेडेड) प्रतिशत ८८.७३ रहेको छ, जुन जिल्लाको समग्र औसत (७७.३६ प्रतिशत) भन्दा उल्लेखनीय रूपमा उच्च हो । प्राविधिक धारमा सहभागी २०४ विद्यार्थीमध्ये २२ जना विद्यार्थीले ३.६०–४.०० जीपीए प्राप्त गरेका छन् । ८३ जनाले ३.२०–३.६० जीपीए प्राप्त गरेका छन् । ७० जनाले २.८०–३.२० जीपीए प्राप्त गरेका छन् । ६ जनाले २.४०–२.८० जीपीए प्राप्त गरेका छन् । २.४० भन्दा कम जीपीए प्राप्त गर्ने वा ४.०० जीपीए ल्याउने विद्यार्थी छैनन् । २३ जना विद्यार्थी नन–ग्रेडेड भएका छन् । यसले प्राविधिक धारका अधिकांश विद्यार्थी मध्यमदेखि उच्च उपलब्धि समूहमा केन्द्रित रहेको देखाउँछ । ग्रेडेड भएका १८१ विद्यार्थीमध्ये १७५ जना (करिब ९७ प्रतिशत) ले २.८० वा सोभन्दा माथिको जीपीए प्राप्त गरेका छन्, जुन सकारात्मक हो । उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरु मध्ये जन विकास मावि, खानीखोलाबाट १८ विद्यार्थी सहभागी भएकामध्ये सबै १८ जना ग्रेडेड भएका छन् । विद्यालयको ग्रेडेड प्रतिशत १०० रहेको छ । ६ जना विद्यार्थी ३.२०–३.६० र ८ जना २.८०–३.२० समूहमा छन् भने ३ जना २.४०–२.८० समूहमा रहेका छन् । जनक मावि, भकुण्डेबाट ४१ विद्यार्थी सहभागी भएका थिए । यो विद्यालय जिल्लाको सबैभन्दा ठूलो प्राविधिक धार कार्यक्रम सञ्चालन गर्ने विद्यालय हो । सबै ४१ विद्यार्थी ग्रेडेड भएका छन् । १० जना विद्यार्थीले ३.६० माथिको जीपीए प्राप्त गरेका छन् भने २२ जना ३.२०–३.६० समूहमा छन्। विद्यार्थी संख्या र उपलब्धि दुवै हिसाबले यो विद्यालय उत्कृष्ट देखिन्छ ।
    बनेपामा रहेको चक्रज्योति माविबाट २८ विद्यार्थीमध्ये सबै ग्रेडेड भएका छन् । ५ जना ३.६०–४.०० तथा १५ जना ३.२०–३.६० समूहमा परेका छन् । विद्यालयले गुणस्तरीय नतिजा प्रस्तुत गरेको देखिन्छ । सञ्जिवनी मावि, धुलिखेलबाट २१ मध्ये १९ विद्यार्थी ग्रेडेड भएका छन् । ग्रेडेड प्रतिशत ९०.४८ रहेको छ । १२ जना विद्यार्थी ३.२०–३.६० समूहमा छन्, जसले मध्यमदेखि राम्रो शैक्षिक उपलब्धि देखाउँछ । श्वेतवराह मावि, बनेपाबाट १० मध्ये ९ विद्यार्थी ग्रेडेड भएका छन् । ९० प्रतिशत ग्रेडेड दर रहेको विद्यालयले स्थिर र सन्तोषजनक नतिजा दिएको छ ।
    आजाद मावि, पाँचखालबाट ३१ मध्ये २७ विद्यार्थी ग्रेडेड भएका छन् । ८७.१० प्रतिशत नतिजाले विद्यालयको अवस्था राम्रो देखाउँछ । १५ जना विद्यार्थी २.८०–३.२० समूहमा रहेका छन् । खाडादेवी मावि, किल्पु चौरीदेउरालीबाट २१ मध्ये १८ विद्यार्थी ग्रेडेड भएका छन् । ८५.७१ प्रतिशत ग्रेडेड दरले विद्यालयलाई राम्रो प्रदर्शन गर्ने समूहमा राख्छ ।  लक्ष्मी नारायण मावि, रोशीमा रहेका १४ विद्यार्थीमध्ये १० जना मात्र ग्रेडेड भएका छन् । ७१.४३ प्रतिशत ग्रेडेड दर जिल्लाको औसतभन्दा कम हो । ४ जना विद्यार्थी नन–ग्रेडेड भएका छन् । भैरव मावि, महाभारतबाट २० विद्यार्थीमध्ये केवल ११ जना ग्रेडेड भएका छन् भने ९ जना नन–ग्रेडेड भएका छन् । ग्रेडेड प्रतिशत ५५ मात्र रहेको छ, जुन जिल्लाका प्राविधिक विद्यालयमध्ये सबैभन्दा कम हो । भैरव माविमा नन–ग्रेडेड विद्यार्थीको अनुपात ४५ प्रतिशत पुगेको देखिन्छ । यसले विद्यालयको शैक्षिक व्यवस्थापन, विद्यार्थीको सिकाइ अवस्था, शिक्षक उपलब्धता तथा विषयगत कठिनाइबारे थप अध्ययन आवश्यक छ । 
    काभ्रेपलाञ्चोकको प्राविधिक धारको नतिजाले समग्र रूपमा सकारात्मक चित्र प्रस्तुत गरेको छ । ८८.७३ प्रतिशत ग्रेडेड दरले प्राविधिक शिक्षा जिल्लामा प्रभावकारी बन्दै गएको संकेत गर्दछ । जनक मावि, जन विकास मावि र चक्रज्योति माविले शतप्रतिशत नतिजासहित उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन् । तर भैरव मावि र लक्ष्मी नारायण माविमा देखिएको कमजोर नतिजाले विद्यालयगत असमानता अझै विद्यमान रहेको देखाउँछ । लक्षित शैक्षिक सहयोग, अतिरिक्त कक्षा, शिक्षक क्षमता विकास तथा नियमित अनुगमनलाई प्राथमिकता दिन सके प्राविधिक धारको समग्र गुणस्तर अझ सुदृढ बनाउन सकिने देखिन्छ । 

चार विद्यालयमा शून्य नतिजा 
    काभ्रेपलाञ्चोकमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजाले उत्साहसँगै शैक्षिक असमानताको पनि उजागर गरेको छ । २ सय १९ विद्यालय सहभागी भएकामा ६८ वटा विद्यालयले शतप्रतिशत नतिजा प्राप्त गर्दा चारवटा विद्यालयको भने शुन्य प्रतिशत देखिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ, काभ्रेपलाञ्चोकका अनुसार जिल्लामा नियमिततर्फ ५ हजार ९३१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये ४ हजार ५८८ जना (७७.३६ प्रतिशत) ग्रेडेड भएका छन् भने १ हजार ३४३ जना (२२.६४ प्रतिशत) नन–ग्रेडेड भएका छन् । प्राविधिक धारतर्फ ८८.७३ प्रतिशत विद्यार्थी ग्रेडेड हुँदा साधारण धारतर्फ यो दर ७६.९५ प्रतिशत रहेको छ । जिल्लाभर ४.०० जीपीए ल्याउने विद्यार्थी ११ जना रहेका छन् । ३.६० देखि ४.०० जीपीए समूहमा ८३८ जना, ३.२० देखि ३.६० समूहमा १ हजार ३७७ जना तथा २.८० देखि ३.२० समूहमा १ हजार ३६५ जना विद्यार्थी रहेका छन् । यसले अधिकांश विद्यार्थी मध्यमदेखि राम्रो उपलब्धिको समूहमा रहेको देखाउँछ । सामुदायिक विद्यालयतर्फ १५० विद्यालयबाट ३ हजार ३८२ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये २ हजार २९५ जना ग्रेडेड र १ हजार ८७ जना नन–ग्रेडेड भएका छन् । समग्र ग्रेडेड प्रतिशत ६७.८६ रहेको छ । सामुदायिक विद्यालयतर्फ केवल २ जना विद्यार्थीले ४.०० जीपीए ल्याएका छन् भने २८ विद्यालयले शतप्रतिशत नतिजा निकालेका छन् । तर चार विद्यालयमा भने एक जना विद्यार्थी पनि ग्रेडेड हुन सकेनन् । तीमध्ये तीन विद्यालय रोशी गाउँपालिकाका रहेका छन्, जसले पालिकाको शैक्षिक अवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ । 
    जिल्लाका संस्थागत विद्यालयको नतिजा सन्तोषजनक देखिएको छ । ६८ संस्थागत विद्यालयबाट २ हजार ३४५ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये २ हजार ११२ जना ग्रेडेड भएका छन् । २३३ जना नन–ग्रेडेड हुँदा ग्रेडेड प्रतिशत ९०.०६ प्रतिशत पुगेको छ । संस्थागत विद्यालयतर्फ ९ जना विद्यार्थीले ४.०० जीपीए प्राप्त गरेका छन् भने ४० विद्यालयले शतप्रतिशत नतिजा निकालेका छन् । यद्यपि सबै संस्थागत विद्यालयको अवस्था समान छैन । मण्डनदेउपुर नगरपालिकामा रहेको विसडम सामुदायिक स्कुलले ३७ प्रतिशत मात्र ग्रेडेड नतिजा हासिल गर्दै संस्थागत विद्यालयमध्ये सबैभन्दा कमजोर प्रदर्शन गरेको छ । रोशी गाउँपालिकाका विद्यालयको नतिजामा निकै ठूलो अन्तर देखिएको छ । केही विद्यालयले उत्कृष्ट नतिजा निकालेका छन् भने केही विद्यालयमा एक जना विद्यार्थी पनि ग्रेडेड हुन सकेनन् । सबैभन्दा राम्रो नतिजा लक्ष्मीनारायण माध्यमिक विद्यालय र भीमेश्वर माध्यमिक विद्यालयले दिएका छन् । लक्ष्मीनारायण माविमा १२ जना तथा भीमेश्वर माविमा १० जना सहभागी सबै विद्यार्थी ग्रेडेड भएका छन् । विन्धबासिनी माविले २२ मध्ये २० जना (९०.९१ प्रतिशत), मंगलजनविजय माविले ३० मध्ये २५ जना (८३.३३ प्रतिशत), प्रगतिकिरण इङ्गलिस बोर्डिङ स्कुलले २० मध्ये १६ जना (८० प्रतिशत) तथा रोशी माविले २३ मध्ये १८ जना (७८.२६ प्रतिशत) विद्यार्थी ग्रेडेड गराएका छन् । 
    जुगेश्वर माविले ३० मध्ये १७ जना (५६.७७ प्रतिशत), पञ्चकन्या माविले ३४ मध्ये १६ जना (४७.०६ प्रतिशत), गणेश माविले २२ मध्ये १० जना (४५.४५ प्रतिशत), पोक्रा माविले ३५ मध्ये १५ जना (४२.८६ प्रतिशत), हरिसिद्धि माविले २८ मध्ये १० जना (३५.७१ प्रतिशत) तथा देवी माविले २७ मध्ये ८ जना (२९.६३ प्रतिशत) विद्यार्थी ग्रेडेड गराएका छन् । तर हिमालय माध्यमिक विद्यालय (१९ सहभागी), नागदेवी माध्यमिक विद्यालय (५ सहभागी) र भूमेस्थान माध्यमिक विद्यालय (७ सहभागी)मा एक जना विद्यार्थी पनि ग्रेडेड हुन सकेनन् । चेतना माविले २० मध्ये १ जना (५ प्रतिशत) र जोगेश्वर माविले १८ मध्ये १ जना (५.५६ प्रतिशत) विद्यार्थी मात्र ग्रेडेड गराएका छन् । तथ्याङ्कले रोशी गाउँपालिकाभित्र विद्यालयगत सिकाइ उपलब्धिमा अत्यधिक असमानता रहेको देखाएको छ । १७ वटा कुल विद्यालय मध्ये लक्ष्मीनारायण मावि, भीमेश्वर मावि दुई वटाले शतप्रतिशत उत्र्तिण गराए । हिमालय मावि, नागदेवी मावि, भूमेस्थान मावि तीन वटामा शून्य प्रतिशत उत्तीर्ण भए । ८० प्रतिशतभन्दा बढी उत्तीर्ण हुने ५ विद्यालय रहे भने १० प्रतिशतभन्दा कम उत्तीर्ण गराउने २ वटा विद्यालय चेतना र जोगेश्वर मावि रहे । 
    तेमाल गाउँपालिकाको राधाकृष्ण माध्यमिक विद्यालयमा पनि यस वर्ष एक जना विद्यार्थी पनि ग्रेडेड हुन सकेनन् । यससँगै जिल्लामा शून्य प्रतिशत ग्रेडेड भएका सामुदायिक विद्यालयको संख्या चार पुगेको छ । यस वर्षको नतिजाले केही विद्यालयले उत्कृष्ट अभ्यासमार्फत शतप्रतिशत नतिजा हासिल गर्न सकेको देखाएको छ भने केही विद्यालयमा आधारभूत सिकाइमै गम्भीर समस्या रहेको संकेत गरेको छ । विशेषगरी एउटै पालिकाभित्र शतप्रतिशत र शून्य प्रतिशत नतिजा आउने अवस्था देखिनुले विद्यालय व्यवस्थापन, शिक्षक परिचालन, सिकाइ वातावरण, विद्यार्थीको नियमितता तथा स्थानीय तहको शैक्षिक निगरानीमा ठूलो अन्तर रहेको अनुमान गर्न सकिन्छ ।