2026 July 10/ 11:53: 44pm

    बसाइँसराइ, घट्दो जन्मदर र कमजोर शैक्षिक निरन्तरताले विद्यालय शिक्षा दबाबमा परेको छ । क्रमशः संख्या खिईदै गएको छ । पालिकागत आधारमा बनेपा नगरपालिका जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी भएको स्थानीय तह बनेको छ भने जिल्लाको सबैभन्दा कम विद्यार्थी भएको पालिका चौरीदेउराली हो । 

मोतीराम तिमल्सिना
धुलिखेल 

    नेपाल सरकारले हरेक वर्ष ‘सबै बालबालिका विद्यालयमा’ अभियान सञ्चालन गरिरहे पनि पछिल्ला वर्षहरूमा विद्यालय शिक्षाले नयाँ चुनौतीहरू सामना गरिरहेको छ । विद्यालय भर्ना बढाउने भन्दा पनि विद्यार्थीलाई विद्यालयमै टिकाइराख्ने चुनौती बन्दै गएको छ । काभ्रेपलाञ्चोक जिल्लाको चालु शैक्षिक सत्रको विद्यार्थी भर्ना तथ्यांकले पनि यही यथार्थलाई उजागर गरेको छ ।
    जिल्लाका १३ स्थानीय तहका विद्यालयमा यस वर्ष ७२ हजार ८७७ विद्यार्थी भर्ना भएका छन् । तीमध्ये ३४ हजार ७७२ छात्रा र ३८ हजार १०५ छात्र छन् । समग्र तथ्यांक हेर्दा विद्यालयमा विद्यार्थी संख्या अझै उल्लेख्य देखिए पनि कक्षागत र पालिकागत विवरणले नेपालको शिक्षा क्षेत्रले भोगिरहेका गम्भीर संरचनागत समस्या स्पष्ट रूपमा देखाउँछन् । सबैभन्दा धेरै विद्यार्थी ईसिडी तथा पूर्वप्राथमिक तहमा १० हजार ७२१ छन् । कक्षा १ मा ६ हजार ५४५ विद्यार्थी छन् । त्यसपछि कक्षा बढ्दै जाँदा संख्या क्रमशः घट्दै जान्छ । कक्षा १० मा पुग्दा विद्यार्थी संख्या ५ हजार ४४२ मा सीमित हुन्छ भने कक्षा ११ मा एकाएक घटेर १ हजार ४८२ र कक्षा १२ मा १ हजार ४५० मात्र पुग्छ ।
    कक्षा १० र ११ बीच देखिएको यो ठूलो अन्तरले विद्यालय शिक्षामा निरन्तरताको गम्भीर समस्या देखाएको छ । यद्यपि केही विद्यार्थी प्राविधिक शिक्षा, सीटीईभीटी, संस्कृत, अन्य जिल्ला वा निजी कलेजतर्फ जाने भए पनि विद्यालय तहमै देखिने यो गिरावटले सरकारी शिक्षा प्रणालीप्रतिको आकर्षण घट्दै गएको संकेत गर्छ । काभ्रेपलाञ्चोकमा मात्रै होइन, देशभरकै पहाडी जिल्लाहरूमा पछिल्ला दशकमा तीव्र बसाइँसराइ भएको छ । गाउँबाट सदरमुकाम, काठमाडौँ उपत्यका तथा तराईतर्फ परिवार सर्ने क्रम बढेपछि ग्रामीण विद्यालयहरू विद्यार्थी विहीन बन्दै गएका छन् । त्यसको प्रभाव काभ्रेपलाञ्चोकको तथ्यांकमा स्पष्ट देखिन्छ । बनेपा नगरपालिकामा मात्रै २१ हजार १८७ विद्यार्थी अध्ययनरत छन् । यो जिल्लाको कुल विद्यार्थी संख्याको झण्डै २९ प्रतिशत हो । त्यसपछि पनौतीमा ११ हजार ७२५, धुलिखेलमा ६ हजार ४५, मण्डनदेउपुरमा ४ हजार ७९६ र नमोबुद्धमा ४ हजार ५८६ विद्यार्थी छन् । 
    अर्कोतर्फ चौरीदेउराली गाउँपालिकामा १ हजार ९०८, तेमालमा १ हजार ९२०, खानीखोलामा १ हजार ९९४, भुम्लुमा २ हजार ६१ र बेथानचोकमा २ हजार ४४४ विद्यार्थी मात्रै छन् । यी पालिकाहरूमा विद्यालयको संख्या धेरै भए पनि विद्यार्थी कम छन् । धेरै अभिभावक रोजगारी, स्वास्थ्य, यातायात र गुणस्तरीय शिक्षाको खोजीमा शहरतर्फ सरेपछि गाउँका विद्यालय रित्तिँदै गएका छन् ।

घट्दो जन्मदरको प्रत्यक्ष असर
    नेपालमा पछिल्ला वर्षहरूमा जन्मदर लगातार घटिरहेको छ । परिवार सानो बनाउने प्रवृत्ति, वैदेशिक रोजगारी, विवाह ढिलो गर्ने चलन र आर्थिक कारणले नयाँ पुस्ताको संख्या घट्दै गएको छ । यही कारण विद्यालयमा नयाँ भर्ना हुने बालबालिकाको संख्या पनि क्रमशः घटिरहेको छ । काभ्रेपलाञ्चोकमा अहिले ईसिडीमा विद्यार्थी संख्या धेरै देखिए पनि आगामी वर्षहरूमा जन्मदरको यही प्रवृत्ति कायम रहे विद्यालयमा नयाँ विद्यार्थीको संख्या अझ घट्न सक्ने शिक्षाविद्हरुले बताएका छन् । पछिल्ला केही वर्षमा हजारौं युवा वैदेशिक रोजगारीमा गएका छन् । कतिपय श्रीमान–श्रीमती दुवै विदेश जाने र बालबालिकालाई आफन्तसँग राख्ने वा निजी विद्यालयमा सार्ने गरेका छन् । कतिपय परिवार स्थायी रूपमा विदेश बसाइँ सरेका छन् । यसले पनि विद्यालयको विद्यार्थी संख्यामा प्रत्यक्ष असर परेको छ । शिक्षाविद्हरूका अनुसार विदेश अध्ययनका लागि कक्षा १० वा १२ पछि विद्यार्थी बाहिरिने क्रम पनि बढ्दो छ । त्यसैले कक्षा ११ र १२ मा विद्यार्थी संख्या कम देखिनुको एउटा कारण यही पनि हो । पछिल्ला वर्षहरूमा प्रकाशित एसईई र कक्षा १२ का राष्ट्रिय नतिजाले पनि विद्यालय शिक्षाको गुणस्तरमाथि प्रश्न उठाइरहेका छन्। ठूलो संख्यामा विद्यार्थी न्यून ग्रेड ल्याउने, ग्रेडवृद्धि परीक्षा दिनुपर्ने तथा नियमित अध्ययनबाट बाहिरिने अवस्था देखिएको छ । शिक्षाविद्हरूका अनुसार सिकाइ उपलब्धि कमजोर हुँदा विद्यार्थीमा अध्ययनप्रतिको निराशा बढ्ने र त्यसले विद्यालय छाड्ने प्रवृत्ति बढाउने गरेको छ ।  

सामुदायिक विद्यालयको संकट गहिरिँदै
    विद्यार्थी संख्या घट्दै जाँदा धेरै सामुदायिक विद्यालयहरू अस्तित्व जोगाउने संघर्षमा छन् । कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै छ भने कतै शिक्षक भए पनि विद्यार्थी छैनन् । अर्कोतर्फ बनेपा, पनौती र धुलिखेलका केही विद्यालयमा विद्यार्थीको चाप व्यवस्थापन गर्न कठिन भइरहेको छ । यसले शिक्षक दरबन्दी र स्रोत–साधनको वितरणमा असन्तुलन पनि देखाएको छ । तथ्यांकअनुसार बनेपा, पनौती, धुलिखेल, मण्डनदेउपुर र नमोबुद्ध गरी पाँच स्थानीय तहमा मात्रै ४८ हजार ३३९ विद्यार्थी अध्ययनरत छन् । अर्थात् जिल्लाका करिब दुई तिहाइ विद्यार्थी पाँच पालिकामा केन्द्रित छन् । बाँकी आठ पालिकामा एक तिहाइ विद्यार्थी मात्रै छन् । यसले शिक्षा पनि जनसंख्यासँगै शहरतर्फ केन्द्रित हुँदै गएको स्पष्ट देखाउँछ ।
    शिक्षा क्षेत्रका विज्ञहरूका अनुसार अबको चुनौती विद्यालयमा भर्ना बढाउनु मात्र होइन, विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिँदै कक्षा १२ सम्म टिकाइराख्नु हो । बसाइँसराइ रोक्ने, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने, सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने, शिक्षक व्यवस्थापनलाई जनसंख्याअनुसार पुनःसंरचना गर्ने, स्थानीय सरकारलाई विद्यालय व्यवस्थापनमा थप जिम्मेवार बनाउने र सिकाइ उपलब्धि सुधार्ने काम नगरेसम्म विद्यालय शिक्षा बलियो बन्न कठिन हुने उनीहरूको भनाइ छ । काभ्रेपलाञ्चोकको यो तथ्यांक एउटा जिल्लाको अभिलेख मात्र होइन, नेपालको विद्यालय शिक्षाले अहिले सामना गरिरहेको गहिरो संक्रमणको ऐना पनि हो । विद्यार्थी भर्नाको संख्या अझै ठूलो देखिए पनि गाउँ रित्तिने, जन्मदर घट्ने, युवाशक्ति विदेशिने, सामुदायिक विद्यालय कमजोर बन्दै जाने र माध्यमिक तहपछि विद्यार्थीको निरन्तरता खस्किने प्रवृत्तिले शिक्षा क्षेत्रलाई नयाँ ढंगले पुनर्संरचना गर्नुपर्ने आवश्यकता स्पष्ट देखिएको छ ।

बनेपामा धेरै, चौरीदेउरालीमा कम
    जिल्लामा सबैभन्दा धेरै विद्यार्थी ईसिडी तथा पूर्वप्राथमिक तहमा १० हजार ७२१ जना छन् । त्यसपछि कक्षा १ मा ६ हजार ५४५, कक्षा २ मा ६ हजार १९०, कक्षा ३ मा ५ हजार ९३५, कक्षा ४ मा ५ हजार ९५६, कक्षा ५ मा ५ हजार ८९९, कक्षा ६ मा ५ हजार ७५२, कक्षा ७ मा ५ हजार ८९६, कक्षा ८ मा ५ हजार ८६४, कक्षा ९ मा ५ हजार ७४५ तथा कक्षा १० मा ५ हजार ४४२ विद्यार्थी अध्ययनरत छन् । तर कक्षा ११ मा पुग्दा विद्यार्थी संख्या एकाएक घटेर १ हजार ४८२ मा सीमित भएको छ भने कक्षा १२ मा १ हजार ४५० जना मात्रै अध्ययनरत छन् । कक्षा १० र ११ बीच मात्रै ३ हजार ९६० विद्यार्थीको कमी देखिएको छ । यो करिब ७३ प्रतिशतको गिरावट हो । यसले धेरै विद्यार्थी प्राविधिक शिक्षा, अन्य जिल्लाका विद्यालय, वैदेशिक अध्ययन वा अन्य कारणले नियमित विद्यालय शिक्षाबाट बाहिरिने गरेको संकेत गर्छ ।
    पालिकागत तथ्यांकअनुसार बनेपा नगरपालिका जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी भएको स्थानीय तह बनेको छ । बनेपामा मात्रै २१ हजार १८७ विद्यार्थी अध्ययनरत छन् । यो जिल्लाको कुल विद्यार्थी संख्याको झण्डै २९ प्रतिशत हो । शहरी क्षेत्र, संस्थागत विद्यालयको उच्च उपस्थिति, यातायात सुविधा तथा अन्य पालिकाबाट पनि विद्यार्थी आउने भएकाले बनेपा, पनौती र धुलिखेलमा विद्यार्थीको संख्या बढी देखिएको हो । जिल्लाको सबैभन्दा कम विद्यार्थी भएको पालिका चौरीदेउराली हो । यहाँ जम्मा १ हजार ९०८ विद्यार्थी मात्रै अध्ययनरत छन् । त्यसपछि तेमाल गाउँपालिकामा १ हजार ९२०, खानीखोला गाउँपालिकामा १ हजार ९९४, भुम्लु गाउँपालिकामा २ हजार ६१ तथा बेथानचोक गाउँपालिकामा २ हजार ४४४ विद्यार्थी रहेका छन् । यी पालिकामा कम जनसंख्या, बसाइँसराइ तथा दुर्गम भौगोलिक अवस्थाका कारण विद्यार्थी संख्या न्यून रहेको देखिन्छ । विकासका हिसावले क्रमशः पालिकाहरु समृद्ध बन्दै गएका छन् तर नागरिकहरु शहर तिर सर्न थालेका छन् । जिल्लाभर छात्रा ३४ हजार ७७२ र छात्र ३८ हजार १०५ छन् । अर्थात् छात्रको संख्या ३ हजार ३३३ ले बढी रहेको तथ्यांकले देखाएको छ । अधिकांश पालिकामा छात्रको संख्या छात्राभन्दा बढी छ ।