धुलिखेल/एकीकृत विद्यालय शिक्षा परियोजनाअन्तर्गत धुलिखेल नगरपालिकाका सामुदायिक विद्यालयहरूमा सञ्चालन भइरहेको शिक्षण अभ्यास, शिक्षण–सिकाइ विधि, बहुकक्षा बहुस्तर (एमजीएमएल) सिकाइ प्रविधि, त्यसबाट प्राप्त उपलब्धि तथा आगामी योजनाबारे वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
धुलिखेल नगरपालिका, जर्मन नेपाल सहयोग संघ काठमाडौं तथा शैक्षिक सशक्तिकरण केन्द्र, धुलिखेलको साझेदारीमा सञ्चालित उक्त परियोजनाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय योगदान पु¥याएको सहभागीहरूले बताएका छन् । परियोजनाअन्तर्गत बालमैत्री कक्षाकोठा व्यवस्थापन, क्रियाकलापमा आधारित बालकेन्द्रित शिक्षण–सिकाइ, शिक्षकहरूको क्षमता अभिवृद्धि, शैक्षिक सामग्री विकास तथा सरोकारवालाबीच सहकार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ । समीक्षा कार्यक्रममा धुलिखेल नगरपालिकाले कार्यान्वयन गर्दै आएको एमजीएमएल पद्धतिले विद्यालयमा ल्याएको सुधार, विद्यार्थीहरूको सिकाइ उपलब्धि, सामाजिकरण तथा समग्र शैक्षिक वातावरणमा परेको सकारात्मक प्रभावबारे विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले एमजीएमएल कार्यक्रम प्रभावकारी देखिएकाले यसको निरन्तरता सुनिश्चित गरिने बताए । विद्यालयहरूको सिकाइ उपलब्धि र प्राप्त नतिजाले कार्यक्रमको प्रभावकारिता पुष्टि गरेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि समन्वय, सहकार्य र आवश्यक सहयोगलाई निरन्तरता दिइने बताए । प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले स्थानीय सरकारको सक्रिय सहकार्य र लगानीका कारण कार्यक्रम प्रभावकारी बनेको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गरे ।
समीक्षा कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधिहरू, नगरपालिकाका शाखा प्रमुखहरू, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक, शिक्षक तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा शैक्षिक सशक्तिकरण केन्द्रका कार्यकारी निर्देशक दीपक रोक्काले परियोजनाअन्तर्गत भएका अभ्यास, प्रगति, उपलब्धि तथा आगामी योजनासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनले एमजीएमएल पद्धतिले विद्यालयको कक्षाकोठा व्यवस्थापनमा सुधार ल्याएको, स्थानीय स्रोत–साधनको प्रभावकारी उपयोग भएको, शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि भएको तथा बालकेन्द्रित शिक्षण विधिको प्रभावकारिताले विद्यालयहरूले उल्लेखनीय सफलता हासिल गरेको जानकारी दिए । उनका अनुसार विद्यार्थीहरूको सिकाइलाई व्यवहारिक, सिर्जनशील र जीवनोपयोगी बनाउने उद्देश्यका साथ कार्यक्रमलाई निरन्तर परिमार्जन गर्दै अगाडि बढाइएको छ ।
शैक्षिक सशक्तिकरण केन्द्रका अध्यक्ष उमेश कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मदानी बिटका सह–सम्पादक तथा प्राइम एफएमका पत्रकार विकास तिमल्सिनाले एमजीएमएल कार्यक्रमले सामुदायिक विद्यालयमा ल्याएको परिवर्तनबारे भिडियोसहितको प्रस्तुति दिएका थिए । उक्त प्रस्तुतिमा कार्यक्रम कार्यान्वयनपछि विद्यालयको भौतिक तथा शैक्षिक वातावरण, विद्यार्थीहरूको सहभागिता, सिकाइ उपलब्धि र शिक्षण पद्धतिमा आएको सकारात्मक परिवर्तनलाई चित्रात्मक रूपमा प्रस्तुत गरिएको थियो । सहभागीहरूले एमजीएमएल पद्धतिले सामुदायिक विद्यालयहरूमा सिकाइको गुणस्तर अभिवृद्धि गर्नुका साथै बालबालिकामा आत्मविश्वास, सिर्जनशीलता, सहकार्य तथा व्यवहारिक ज्ञान विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको निष्कर्ष निकालेका थिए ।









