2026 July 06/ 01:12: 51am

    बनेपा/नेपालकै यातायात क्षेत्रको पहिलो बजार क्षेत्रसँग जोडिएको अरनिको यातायात सेवा समिति अन्तर्गत निर्माण गरिएको बनेपाको ऐतिहासिक अरनिको सभा हल बिक्री गर्ने निर्णयको विरोधमा बनेपामा आज विहिबार विहान सार्वजनिक सभा आयोजना गरिएको छ । 
    समितिका पुर्व अध्यक्षहरुको भेलाले बृहत्त सभा गर्ने निर्णय गरेको हो । २०२९ सालमा स्थापना भएको उक्त सभामा सहभागिताका लागि आब्हान गरिएको हो । परिवार नियोजन संघको कार्यालयमा आयोजना हुने उक्त कार्यक्रममा सम्बन्धित वडा अध्यक्ष, शिक्षित वर्ग, बुद्धिजीवी, व्यवसायी, संचारकर्मी तथा स्थानीय सरोकारवालाहरूलाई उपस्थित भई आफ्नो राय, सुझाव र धारणा राख्न आग्रह गरिएको छ । अरनिको यातायात सेवा समितिमा सूर्यचन्द्र बादे, पूर्णकाजी कायस्थ, गोपाल श्रेष्ठ र रतिराम तौजलेको शालिकसमेत स्थापना गरिएको छ । स्वर्गिय डा. सुरेन्द्रबहादुर बादे शालिक निर्माण पछि स्वर्गारोहण भएकाले उहाँको शालिक निर्माण भएको छैन । यसले पनि उक्त स्थानको ऐतिहासिक तथा सामाजिक महत्वलाई झल्काउने उनीहरूको भनाइ छ । 
    आयोजकहरूले अरनिको सभा हल केवल एउटा भौतिक संरचना मात्र नभई बनेपाको यातायात इतिहाससँग जोडिएको सम्पदा भएको दाबी गर्दै यसको बिक्रीको निर्णय पुनर्विचार गर्नुपर्ने संस्थापकहरुले बताएका छन् । उनीहरूका अनुसार ऐतिहासिक महत्व बोकेको सम्पत्ति बिक्री गर्नु स्थानीय समुदायको भावना विपरीत हुने भएकाले उक्त विषयमा व्यापक सार्वजनिक छलफल आवश्यक छ । सार्वजनिक सभामार्फत स्थानीयवासी, सरोकारवाला निकाय तथा जनप्रतिनिधिबीच खुला छलफल गरी आगामी रणनीति तय गरिने आयोजकले जनाएको छ । साथै, बनेपावासी तथा सम्पूर्ण सरोकारवालालाई कार्यक्रममा उपस्थित भई ऐतिहासिक सम्पदाको संरक्षणका पक्षमा ऐक्यबद्धता जनाउन आग्रह गरिएको छ । 
    संघ संस्था ऐन अन्र्तगत दर्ता भएको उक्त समिति खारेज गरी कम्पनीमा जान सरकारले अनुमति दिएका बखत तत्कालिन अध्यक्ष केदार क्षेत्रीले उक्त सम्पतिलाई ब्यक्तिका नाममा नामसारी गराएका थिए । त्यहि सम्पत्ति कम्पनीका नामबाट विक्री वितरण गर्न खोजिएको संस्थापकहरुको भनाई छ ।