2026 June 26/ 12:51: 39am

    भुम्लु/विद्यालयसम्म पु-याउने क्रममा सुरु भएको चिनजान पछि १७ वर्षीया किशोरीसँग सम्बन्ध राखेको आरोपमा टिपर चालक पक्राउ परेका छन् । पक्राउ परेका चालक विरुद्ध जिल्ला अदालत काभ्रेमा जर्बजस्ती करणी अभियोगमा मुद्दा दायर भएको छ ।
    भुम्लु गाउँपालिका घर भएकी बालिका र टिपर चालकबीच दोलालघाट क्षेत्रमा बालुवा ढुवानी गर्ने क्रममा चिनजान भएको थियो । विद्यालय पोशाकमै रहेकी किशोरीलाई चालकले पटक–पटक विद्यालयसम्म पु¥याइदिने गरेको र त्यसै क्रममा उनीहरूबीच मोबाइल नम्बर आदानप्रदान भएको थियो । त्यसपछि दुवैबीच नियमित रूपमा कुराकानी र भेटघाट हुँदै गएको अनुसन्धानबाट खुलेको छ । मध्यरातसम्म मोबाईलमा म्यासेज आदान प्रदान तथा संवाद भएको पनि रेकर्डबाट देखिएको छ । चालकले दोलालघाटबाट बालुवा लिन जाने तथा फर्कने क्रममा किशोरीसँग सम्पर्क कायम राखेका थिए । २०८२ चैत २१ गते विहान पहिलो पटक ढाँडखर्क भन्ज्याङबाट खाली टिपर लिएर दोलालघाट जाँदै गर्दा उनले बालिका र उनकी साथीलाई विद्यालयसम्म पु¥याएको उल्लेख छ ।
    चिनजान र गफगाफकै क्रममा २०८३ वैशाख ५ गते मध्यराति करिब १२ः३० बजे भुम्लु गाउँपालिका–५ स्थित जामुन्ने सडक क्षेत्रमा चालकले बालिकालाई बोलाए । उनि जुरुक्क उठेर उनले बोलाएको स्थानमा आईन् । त्यस क्रममा टिपरको क्याबिनभित्र किशोरीसँग शारीरिक सम्बन्ध राखेको चालकले स्वीकार गरेको अभियोगपत्रमा उल्लेख छ । आरोपित अभियुक्त  ३५ वर्षिय पासाङ दोर्जे भनेर चिनिने सुरेश तामाङ खरेलथोक गाविस–८ का स्थायी बासिन्दा हुन् । हाल उनी पाँचखाल नगरपालिका–११ बास्तोलावेशीमा बस्दै आएका छन् । उनी बा ४ ख ३९२० नम्बरको टिपर चलाउँदै आएका थिए । प्रहरीका अनुसार तामाङ विगत ११ वर्षदेखि टिपर चालकका रूपमा कार्यरत छन् । 
    घटनाबारे किशोरीका आफन्तले वैशाख १४ गते मात्र जानकारी पाएका थिए । त्यसपछि परिवारभित्र घटना सम्बन्धी छलफल र तनाव बढ्दै गएको बताइएको छ । विशेष गरी आमाले घटनाबारे थाहा पाएपछि किशोरीमाथि मानसिक दबाब र यातना बढेको आरोप छ । मानसिक तनाव सहन नसकेपछि किशोरीले घरमा धानमा प्रयोग गर्न ल्याइएको विषादी सेवन गरेको बताइएको छ । विषादी सेवनपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । हाल उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घटनासम्बन्धी अनुसन्धान पूरा भएपछि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत असार ३ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरिएको छ । अदालतमा विचाराधीन रहेको उक्त मुद्दाको थप सुनुवाइ र न्यायिक प्रक्रिया अगाडि बढिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन् । 
    बालबालिकाको सुरक्षा, उनीहरूमाथि हुने सम्भावित शोषण तथा सामाजिक दबाबका घटनाप्रति परिवार, विद्यालय र समुदाय सबै सचेत हुनुपर्ने आवश्यकता उक्त घटनाले पुनः उजागर गरेको छ । नाबालिकासँग सम्बन्धित यस्ता घटनाले केवल कानुनी प्रश्न मात्र नभई सामाजिक र मनोवैज्ञानिक असरसमेत पार्ने भएकाले सम्बन्धित निकायको संवेदनशील भूमिका आवश्यक देखिएको छ ।