धुलिखेल/सञ्चारमाध्यम माथीको विभेदकारी निर्णय विरुद्ध देशभरका संचारकर्मीहरु आन्दोलित भएका छन् । पत्रकारहरुले पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु सम्पन्न गरेर दोश्रो चरणका कार्यक्रम अन्र्तगत प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्रसँगै धर्ना शुरु गरेका हुन् ।
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको आयोजनामा हिजो बुधबार जेष्ठ २७ गते जिल्ला प्शासन कार्यालय काभ्रेको गेटमा पत्रकारहरुले एक घण्टा धर्ना दिएका छन् । भोली जेष्ठ २९ गते पनि एक घण्टा धर्ना दिने पत्रकारहरुले बताएका छन् । विहान ११ बजे देखि १२ बजेसम्म धर्ना कार्यक्रम गरिएको अध्यक्ष विनोद न्यौपानेले बताए । धर्नामा विभिन्न संचारमाध्यममा आवद्ध संचारकर्मीहरु, पत्रकार महासंघका पुर्व अध्यक्ष एवं पदाधिकारीहरु, वर्तमान कार्य समितिका पदाधिकारीहरु, पत्रकारसँग सम्वन्धित संघ संगठनका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यस अघि पत्रकार महासंघ काभ्रे शाखाको आयोजनामा सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी, प्रेसको सवैधानिक हकको रक्षाका साथै संसद्बाटै सर्वपक्षीय कार्यदल गठन गरी सविधान संशोधनको पहल र निर्वाध सूचना उपभोगको सुनिश्चितता माग गर्दै महासंघले संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी मार्फत प्रधानमन्त्रीलाई वुझाएको हो । हस्ताक्षर वुझाउँदै पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी सरकारको निर्णय फिर्ता लिन माग गरेका छन् । पत्रकारहरूको ऐक्यबद्धता सहितको हस्ताक्षरले सञ्चारकर्मीको माग तत्काल संवोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण हुने अपेक्षा गरिएको उनले बताएका छन् । हस्ताक्षर वुझ्दै प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले हस्ताक्षर प्रधानमन्त्रीसमक्ष पठाइने बताए । उनले समन्वय र सहकार्यका लागि आफु प्रतिवद्ध रहेको पनि बताएका छन् । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भोला प्रसाद गुरागाँई, पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष मोतिराम तिमल्सिना, पत्रकार महासंघ काभ्रेका सचिव नगेन्द्र अधिकारी, वरिष्ठ पत्रकार मधुसुदन गुरागाँई लगायत जिल्लामा क्रियाशिल सञ्चारकर्मीको उपस्थिती रहेको थियो । पत्रकार महासंघले सरकारको निर्णय विरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
आन्दोलनका कार्यक्रम अन्र्तगत २०८३ जेठ २५ गते बिहान ११ बजे महासंघका सबै संरचनाले संकलन गरेको हस्ताक्षर सबै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाउने, जेठ २७ र २९ गते दुई दिन बिहान ११ बजेबाट १२ बजेसम्मः–सबै जिल्ला प्रशासन कार्यालयमा जिल्ला शाखाको अगुवाइमा धर्ना दिने, असार १ र ३ गते दुई दिन बिहान ११ बजेबाट १२ बजेसम्म– महासंघका प्रदेश समितिको अगुवाइमा सबै मुख्य मन्त्रीको कार्यालयमा धर्ना दिने, असार ५ गते केन्द्रीय समितिको आयोजनामा पेशागत संगठन र सरोकारवालासहित काठमाडौंमा वृहत ऐक्यवद्धता ¥याली गर्ने लगायतका कार्यक्रम छन् । महासंघ २०८२ चैत्र १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै तहको सरकारी विज्ञापन र सूचनाबाट निजी सञ्चारमाध्यमलाई बञ्चित गर्ने विभेदकारी परिपत्र खारेजीको माग राखी चरणवद्ध आन्दोलनमा रहेको छ ।
दुई महिना दबाब र पहल जारी राख्दा सरकारले माग सुनुवाईको छनक समेत नदेखाएकाले महासंघको आन्दोलनलाई निरन्तरता दिनु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । आन्दोलनमा सक्रिय सहभागिताका लागि सरोकारवाला सबैलाई महासंघले हार्दिक आह्वान गरेको छ । यसअघिका आन्दोलनमा प्राप्त सहयोग, सहकार्य एवं ऐक्यवद्धताका लागि महासंघ पत्रकार, सञ्चारमाध्यम तथा सरोकारवाला सबैलाई हार्दिक आभार व्यक्त गरेको महासचिव रामप्रसाद दाहालले बताए ।









