2026 June 05/ 02:44: 49am

    बनेपा/निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काभ्रेले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, विद्यालय, शिक्षक तथा अभिभावकलाई सम्मान गरेको छ ।
    प्याब्सन अन्तर्गत यस वर्ष पाँच जना विद्यार्थीले सर्वोत्कृष्ट जीपीए ४ प्राप्त गरेका छन् । विद्यासागर स्कुल बनेपा, सिद्धार्थ इङ्गलिस स्कुल बनेपा, नवप्रतिभा स्कुल पाँचखाल तथा पनौतीस्थित नवरत्न माविका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएका हुन् । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. अच्युत वाग्लेले उत्कृष्ट विद्यार्थी, अभिभावक तथा विद्यालयका प्रिन्सिपलहरूलाई सम्मान गरेका थिए । उत्कृष्ट विद्यार्थीहरूले नगद १० हजार रुपैयाँसहित विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।
    त्यसैगरी, प्याब्सन काभ्रेले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने प्याब्सनअन्तर्गतका ३१ विद्यालयलाई सम्मान गरेको छ । प्याब्सनमा आबद्ध ५२ विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो । नौ वटा विषयका उत्कृष्ट विषयगत शिक्षकहरूलाई सम्मान गरिएको कार्यक्रममा एउटै विद्यालयमा निरन्तर २५ वर्षदेखि सेवा गर्दै आएका दीर्घसेवी शिक्षकहरूलाई पनि विशेष सम्मान गरिएको थियो । कार्यक्रममा चार सय ५० भन्दा बढी उत्कृष्ट विद्यार्थीहरू सम्मानित भएका थिए । यो वर्ष प्याब्सनबाट १५ सय भन्दा धेरै विद्यार्थीहरु एसईईमा सहभागी भएका थिए । 
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा. अच्युत वाग्लेले नेपालको शिक्षामा गुणस्तरीयताको आधार निर्माण गर्न निजी विद्यालयहरूको महत्वपूर्ण भूमिका रहेको बताए । उनले सरकारका केही निर्णय र निजी क्षेत्रप्रतिको दृष्टिकोणका कारण निजी विद्यालय सञ्चालकहरू खुम्चिन बाध्य भएको उल्लेख गरे । ‘आफ्नो लगानीमा सञ्चालित शैक्षिक संस्थामार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानलाई निर्धक्क रूपमा अघि बढाउनुस्’– उनले भने । उनले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई स्वदेशप्रति माया गर्न, आत्मनिर्भर बन्न र देशका लागि योगदान दिने योजना बनाउन आग्रह गरे । ‘परजीवी नभई सेवाभावका साथ अघि बढ्नुपर्छ’– उनले बताए ।
    कार्यक्रममा प्याब्सनका केन्द्रीय महासचिव आरबी कटुवालले निजी विद्यालयहरूले नेपालको शैक्षिक गुणस्तर अभिवृद्धिमा पु¥याएको योगदानको चर्चा गर्दै विद्यार्थी, शिक्षक, विद्यालय र अभिभावकलाई बधाई तथा शुभकामना व्यक्त गरे । उपमहासचिव भीमसेन केसीले निजी क्षेत्रको अर्बौं लगानी रहेको विद्यालय क्षेत्रलाई धराशायी बनाउने खालको वातावरण सिर्जना हुन थालेको बताए । कार्यक्रममा प्याब्सन सचिवालय सदस्य हिरा शर्मा नेपाल, प्रदेश अध्यक्ष तथा पदाधिकारीहरू, विभिन्न जिल्लाका प्रतिनिधिहरू, विद्यालयका प्रिन्सिपल, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो ।
    कार्यक्रममा उपाध्यक्षद्वय बसन्त नेपाल र सुजेन्द्र श्रेष्ठले प्याब्सन काभ्रेको गतिविधि तथा कार्यक्रमको औचित्यमाथि धारणा राखेका थिए । सचिव विमल न्यौपानेले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलले गरेका थिए । अध्यक्ष भुजेलले विद्यार्थीहरूको आगामी गन्तव्य, प्याब्सनको भावी योजना तथा समग्र शैक्षिक अवस्थाबारे धारणा व्यक्त गरेका थिए ।