2026 May 29/ 10:06: 45pm

    बनेपा/नेपाल पत्रकार महासघं काभ्रेशाखाको वार्षिक साधारण सभा केन्द्रिय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा तथा शाखा अध्यक्ष विनोद कुमार न्यौपानेको सभापतित्वमा सम्पन्न भएको छ । 
    कार्यक्रममा प्रमुख अतिथी शर्माले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिता मार्फत समाजलाई सही सूचना प्रवाह गर्न पत्रकारहरू अझ सक्रिय बन्नुपर्ने बताईन् । शर्माले बदलिँदो सञ्चार प्रविधिसँगै पत्रकारहरूको क्षमता विकास र संस्थागत सुदृढीकरण आवश्यक रहेको बताईन् । नेपाल पत्रकार महासंघ पछिल्लो समय सरकार विरुद्ध आन्दोलमा रहेको र सरकारले विज्ञापनमा एकाधिकार गरेको सरकारी सञ्चार माध्यममा मात्रै प्रकाशित गर्ने र मिडिया माथी लगाएको अंकुश माथि देशैभरी हस्ताक्षर अभियान शुरु गरिएको शर्माले बताईन् । सरकारले स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने काम गरिरहेकाले देशैभरीका पत्रकार र सञ्चार माध्यम समेत आन्दोलित भएको शर्माले बताईन् । 
    सभामा वार्षिक प्रगति प्रतिवेदन सचिव नगेन्द्र अधिकारीले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष केशबराज पौड्यालले तथा आगामी कार्ययोजना अध्यक्ष बिनोद कुमार न्यौपानेले प्रस्तुत गरेका थिए । कार्यक्रममा स्व.भरतराज पत्रकारीता पुरस्कारबाट अग्रज पत्रकार मधुसुधन गुरागाईलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, जिल्लाका पूर्व अध्यक्षहरु भोजराज तिमल्सिना, ईश्वरी ओझा, भोला थापा, महेशराज पौड्याल, नारायण सापकोटा, मोतीराम तिमल्सिना, बद्रीराज तिमल्सिना, प्रेस चौतारीका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टरका अध्यक्ष रामप्रसाद ढकाल, आदिवासी जनजाती महासघंका अध्यक्ष ईन्द्रबहादुर थापा, प्रेस युनियनका सचिब शुभराज अधिकारी, संचारिका समुह अध्यक्ष सुनिता सापकोटा लगायतले पत्रकारिताको पेशागत मर्यादा, सञ्चार क्षेत्रका चुनौती, पत्रकार सुरक्षा, प्रेस स्वतन्त्रता तथा डिजिटल पत्रकारिताको बढ्दो प्रभावका बारेमा मन्तब्य राखेका थिए । 
    साधारणसभामा सहभागी सदस्यहरुले पत्रकार महासंघलाई अझ सक्रिय, पारदर्शी र सदस्यमुखी बनाउन सुझाव दिएका थिए । कार्यक्रम सञ्चालन शाखाका सचिव नगेन्द्र अधिकारीले र स्वागत मन्तब्य उपाध्यक्ष कपिल कोईरालाले राखेका थिए । साधारण सभाको बन्द सत्र पूर्व अध्यक्ष भोजराज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष तिमल्सिनाले महासंघको इतिहास, संस्थागत निर्णय र अवस्था, सदस्यहरुको भूमिका र आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।