2026 May 29/ 10:06: 45pm

     शंखु/नमोबुद्ध आवासीय माध्यमिक विद्यालय धुलिखेल–१२ शंखुमा एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान तथा बधाई कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ । 
    विद्यालयले नगरभित्रकै विद्यालयहरूमध्ये उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थी मनिषा सापकोटासहित ३९ जना विद्यार्थीलाई सम्मान गरेको हो । कार्यक्रममा एसईई २०८१ मा उत्तीर्ण विद्यार्थीहरूलाई पनि विशेष सम्मान गरिएको थियो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा शिक्षा, अनुशासन र गुणस्तरीय शिक्षाको महत्वलाई जोड दिँदै वक्ताहरूले विद्यालयले विगत तीन दशकदेखि समाजमा सक्षम, सफल र जिम्मेवार नागरिक उत्पादन गर्दै आएको बताएका थिए ।
    कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष पूर्ण बहादुर श्रेष्ठले विद्यालय स्थापनाको प्रारम्भिक संघर्ष स्मरण गर्दै २०५२ सालमा केही सीमित स्रोत–साधनबाट सुरु भएको विद्यालय जिल्लाकै विश्वासिलो शैक्षिक संस्थाका रूपमा स्थापित भएको बताए। उनले विद्यालयले आरोह–अवरोहका अनेक चरण पार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने आफ्नो लक्ष्यलाई निरन्तरता दिएको उल्लेख गरे। ’हामीले भवन मात्र होइन, असल संस्कार र जिम्मेवार नागरिक निर्माण गर्ने अभियान अघि बढाएका छौं’– उनले भने ।
    संस्थापक प्रिन्सिपल सत्यनारायण श्रेष्ठ ले विद्यालयको सुरुवाती समय सम्झँदै कठिन परिस्थितिमा पनि शिक्षा क्षेत्रप्रतिको समर्पणका कारण विद्यालयले सफलताको उचाइ हासिल गरेको बताए । उनले शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्य नै विद्यालयको सफलताको आधार भएको धारणा व्यक्त गरे । विद्यालयका प्रिन्सिपल सुवर्ण श्रेष्ठले एसईई २०८२ को नतिजाले विद्यालयको शैक्षिक स्तरलाई थप पुष्टि गरेको बताए । उनले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको विश्वासकै कारण उत्कृष्ट उपलब्धि हासिल भएको उल्लेख गरे । आगामी दिनमा अझ उत्कृष्ट नतिजाका लागि विद्यालय प्रतिबद्ध रहेको उनले बताए । मानार्थ प्रिन्सिपल सुदर्शन भट्टराईले शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम मात्र नभई जीवन निर्माणको आधार भएको बताए । उनले विद्यार्थीहरूलाई अनुशासन, नैतिकता र जिम्मेवारीलाई सँगै अघि बढाउन आग्रह गरे ।
    कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रीय समितिका सचिब भिमसेन केसीले निजी विद्यालयहरूले नेपालमा शिक्षाको गुणस्तर उकास्न महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले नमोबुद्ध आवासीय माध्यमिक विद्यालयले ग्रामीण क्षेत्रमै उत्कृष्ट नतिजा ल्याएर उदाहरणीय काम गरेको उल्लेख गरे । ’विद्यालयले केवल नतिजा मात्र दिएको छैन, समाजलाई सक्षम नागरिक पनि दिएको छ’–उनले भने । विशेष अतिथि प्याब्सन काभ्रेका संस्थापाक रबि श्रेष्ठले विद्यालयको निरन्तर प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै गुणस्तरीय शिक्षामा निरन्तरता दिन आग्रह गरे। उनले प्रतिस्पर्धात्मक समयमा विद्यालयले शिक्षा, संस्कार र नेतृत्व विकासलाई समान प्राथमिकता दिएको बताए । धुलिखेल–१२ का वडा अध्यक्ष मोहन लामिछानेले विद्यालयले स्थानीय स्तरमा शिक्षा विकासमा पु¥याएको योगदानको प्रशंसा गरे। उनले नगरको शैक्षिक पहिचान निर्माणमा विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताए । स्थानीय सरकारले पनि शिक्षाको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
    अभिभावकका तर्फबाट मन्तव्य राख्दै उत्तम आचार्यले विद्यालयप्रति अभिभावकहरूको विश्वास दिनप्रतिदिन बढ्दै गएको बताए । उनले विद्यालयले विद्यार्थीको शैक्षिक विकाससँगै नैतिक शिक्षा र अनुशासनमा समेत ध्यान दिएको उल्लेख गरे । विद्यार्थी प्रतिनिधिका रूपमा बोल्दै मनिषा सापकोटाले आफ्नो सफलताको श्रेय शिक्षक, अभिभावक र विद्यालय परिवारलाई दिइन् । उनले निरन्तर मेहनत, अनुशासन र शिक्षकहरूको मार्गदर्शनका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताइन् । त्यस्तै श्रीहरी आचार्यले विद्यालयले विद्यार्थीहरूलाई आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रममा एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने ३९ जना विद्यार्थीलाई सम्मानपत्र तथा मायाको चिनोसहित सम्मान गरिएको थियो । नगरभित्रकै विद्यालयमध्ये उत्कृष्ट जिपिए ल्याउन सफल मनिषा सापकोटा कार्यक्रमको मुख्य आकर्षण बनेकी थिइन् । साथै एसईई २०८१ मा उत्तीर्ण विद्यार्थीहरूलाई पनि सम्मान गर्दै विद्यालयले आफ्नो परम्परालाई निरन्तरता दिएको जनाएको छ । कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो । विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा विद्यालयको शैक्षिक यात्रा, संघर्ष र सफलताको भावनात्मक चर्चा गरिएको थियो । विद्यालयले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै सक्षम, सफल र सबल नागरिक उत्पादन गर्ने प्रतिबद्धता दोहो¥याएको छ ।