2026 May 15/ 05:47: 09pm

      बनेपा/एसईई दिएर बसेका विद्यार्थीहरुका लागि छैटांै पटक आयोजना गरिएको ज्ञानकुञ्ज रोड रेस २०८३ को पहिलो पुरस्कार छात्रा तर्फ तुलसा गौतम र छात्र तर्फ अभिषेक मगरले प्राप्त गरेका छन् । तुलसा ज्ञानकुञ्जकी विद्यार्थी हुन् भने अभिषेक चण्डेश्वरी मावी नालाका विद्यार्थी हुन् । उनिहरु दुबैले नगद ३० हजार सहित विभिन्न पुरस्कार प्राप्त गरे । 
    छात्रहरुका लागि ३.६ किमी र छात्राहरुका लागि ७ किमी दौड निर्धारण गरिएको थियो । त्यस्तै छात्रातर्फ ग्रेस ल्याण्ड साँगाकी पार्वती श्रेष्ठ र तेश्रो चण्डेश्वरी माविकै समिता अधिकारी भईन् । छात्र तर्फ शंखेश्वरी मावि शंखुका अनिल खत्री र सिद्र्धाथ बनस्थलीका दावा शेर्पा भए । क्रमश दोश्रो र तेश्रोलाई २० हजार र १० हजार नगद सहितका पुरस्कार उपलब्ध गराईएको थियो । 
    कार्यक्रममा पुरस्कार वितरण गर्दै श्री मेहर गण धुलिखेलका गणपति प्रमुख सेनानी झलक सुवेदीले बालबालिकाहरुलाई खेलमा प्रतिस्पर्धा गर्नु जीवनकै महत्वपूर्ण पाटो भएको बताए । अनुशासन  सहित जीवनका लक्ष्यहरुलाई अघि बढाउन खेल महत्वपूर्ण हुने उनले बताए । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय महिला फुटबलकी गोलकिपर अञ्जना राना मगरले खेलमा हार्न र जित्न सिकाउने बताउँदै जिन्दगीमा हुने हारलाई जित्न सिकाउने बताईन् । 
    असफलताबाट फेरी उठ्ने खुट्किलो खेल भएकाले विद्यार्थीहरुको शिक्षाको र जीवनको खुट्किलो एसईई पछि त्यसरी नै अघि बढाउन सहभागिहरुले सुझाव दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप बैद्य, ज्ञानकुञ्ज क्याम्पसका सहायक क्याम्पस प्रमुख नवराज चौलागाई लगायतले प्रतियोगिताका बारेमा धारणा राखेका थिए । 
    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले विकास, अनुशासन र गतिशीलताको नारालाई ब्यवहारमा नै प्रयोग गरिरहेको अध्यक्ष सुरकृष्ण बैद्यले बताए । ‘नैतिक, ब्यवहारिक तथा ब्यवसायिक शिक्षाका लागि ज्ञानकुञ्ज भन्ने मुल लक्ष्य छ’–बैद्यले भने–‘किण्डरगार्टेनदेखि स्नातकोत्तर तहसम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयले एसईई परीक्षा २०८३ मा सहभागी विद्यार्थीहरुलाई लक्षित गरी स्वस्थ प्रतिस्पर्धा, अनुशासन र सकारात्मक जीवनशैली प्रवद्र्धन गर्ने उदेश्यले दौड प्रतियोगिता आयोजना गरेको हो ।’ सफल जीवनका लागि स्वास्थ्य, स्वास्थ्यका लागि खेलकुद भन्ने अभियानलाई विद्यालयले भरपुर प्रयोगमा ल्याएको प्रतिष्ठानद्वारा संचालित ज्ञानकुञ्ज कलेजका सहायक क्याम्पस प्रमुख नवराज चौलागाईले बताए ।