खानीखोला/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले खानीखोला गाउँपालिकाबाट पहिलो पटक अनलाईन मार्फत स्थानीय तहबाट नागरिकता सिफारिस गर्दा अनुमोदन गर्ने प्रणाली शुरुवात गरेको छ । दुर्गम पालिकाबाट शुरु गरिएको उक्त प्रणाली पछि नागरिकहरुले छिटो र झन्झट रहित सेवा प्राप्त गर्नेछन् ।
सोहि प्रणालीका बारेमा वडा अध्यक्ष, सचिव तथा सरोकारवाला निकायका प्रतिनिधिहरुलाई पालिकामा नै पुगेर जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको टोलीले अभिमुखीकरण गराएको छ । ‘जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका १३ तह मध्ये पहिलो पटक खानीखोला गाउँपालिकाबाट अनलाईन नागरिकता सिफारिस अनुमोदन गर्ने ब्यवस्था शुरु गरेको छ’– जिल्ला प्रशासन कार्यालय काभ्रेकी प्रशासकीय अधिकृत सुनिता थापाले भनिन–‘अनलाईन नागरिकता सिफारिस अनुमोदनका लागि आवश्यक पर्ने कागजात, प्रकृया र अवस्थाका बारेमा वडा अध्यक्ष तथा वडा सचिव र कार्यालयका कर्मचारीहरुलाई अभिमुखीकरण गराएका छौं ।’ क्रमशः यो प्रणाली अन्य पालिकामा पनि शुरु गरिनेछ ।
नयाँ नागरिकताको लागि वडाबाट सिसिआईएमएसमा सबै कागजातहरु अनिवार्य रुपमा अपलोड गरे पछि प्रशासनले अपलोड गरिएका कागजातहरु पुगे नपुगेको हेर्नेछ । पुगेको भए एसेप्ट गर्नेछ भने नपुगेको भए रिजेक्ट गर्नेछ । नागरिकतामा सनाखत गर्ने ब्यक्तिको हकमा भने कसको सनाखतमा नागरिकता दिने हो यकिन गरी सनाखत गर्ने ब्यक्तिको नागरिकता र आवश्यक भएमा नाता प्रमाणित समेत अपलोड गर्नु पर्नेछ । कागजातहरु पुरा भई आएको अवस्थामा अनुमोदन गरी कार्ड समेत प्रिन्ट गर्न सक्नेछ । नागरिकता दिन आउनका लागि सेवाग्राहीको समयानुकुल उपयुक्त समय दिईनेछ । दिईएको समयमा आउँदा अनुसुची लगायतका कागजात, फोटो र सनाखत गर्ने ब्यक्ति समेत उपस्थित हुनु पर्नेछ । तोकिएको समयमा उपस्थित भए पश्चात ब्यक्ति एकिन गरी नागरिकता प्रमाणपत्र उपलब्ध गराईनेछ । ‘प्रकृया पुरा गरेका सेवाग्राहीहरु जिल्ला प्रशासन कार्यालयमा आएको ५ मिनेटमा नै नागरिकता प्रमाणपत्र पाउन सक्नेछन्’–प्रशासकीय अधिकृत सुनिता थापाले भनिन–‘सोहि प्रयोजनका लागि वडा सचिवहरु संलग्न रहेको ह्वाट्स अफ ग्रुप तयार गरिएको छ । सोहि ग्रुपमा आवश्यक समन्वय, परामर्श हुनेछ ।’ पहिलो चरणमा ह्वाट्स अप ग्रुप भने खानीखोला र तेमाल गाउँपालिकाका सचिवहरुका लागि शुरुवात गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले नागरिकता लगायत राष्ट्रिय परिचयपत्र र राहदानीका सन्दर्भमा विकास अभिमुखीकरण कार्यक्रम खानीखोलामा सम्पन्न गरेको छ ।
गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहका बारेमा स्थानीय पालिकामा आयोजना गरेको अभिमुखीकरणले सर्वसाधारणहरुले नागरिकता लगायतका सेवामा ब्यहोर्नुपर्ने झन्झट अन्त्य हुने बताए । ‘नागरिकहरुलाई सहज र सरल सेवा दिने उदेश्यले जिल्ला प्रशासन कार्यालयले खानीखोलाबाट अनलाईन सिफारिसको अनुमोदन सेवा महत्वपूर्ण हुनेछ’–अध्यक्ष थिङले भने–‘सेवा प्रवाहमा नागरिकहरुलाई सहज हुँदा घर दैलोको सरकारले समेत जस पाउने अवस्था रहन्छ ।’ प्रशासकीय अधिकृत सुनिता थापाले नागरिकताका प्रकार जस्तै बंशज, प्रतिलिपि, नागरिकता परित्याग, रद्द, गैर आवासीय नागरिकता, अंगीकृत नागरिकता लगायतका विषयमा जानकारी गराएकी थिईन् । वडाबाट आदिवासी, जनजाति, दलित, मधेशी सम्बन्धी सिफारिसका लागि आवश्यक पर्ने कागजातहरुका बारेमा पनि स्पष्ट पारेकी थिईन् । सम्वन्धित वडा कार्यालयको सिफारिस, नागरिकताको प्रमाणपत्र, बसाई सरी आएको हकमा बसाईसराई प्रमाणपत्र, दलित जनजाति सिफारिस अनलाईन मार्फत आवेदन कागजात पठाई कार्यालयले चेकजाँच गरी तयार गर्नेछ । हुलाकबाट प्रमाणपत्र लिन चाहने सेवाग्राहीहरुले आवेदन दिएमा सोही अनुसार पठाउने ब्यवस्था गरिने अधिकृत थापाले बताईन् ।
सदरमुकामको सेवा पालिकामा
खानीखोला/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गाउँपालिकामै पुगेर सेवा प्रवाह सुरु गरेपछि किरियापुत्रीमा बसेका सेवाग्राही समेत लाभान्वित भएका छन् । जेष्ठ नागरिकहरुले समेत नागरिकता बनाउन नसकेको अवस्थामा स्थानीय तहमा नै पुगेर उपलब्ध गराएको सेवाबाट खुशी भएका छन् ।
राष्ट्रिय परिचयपत्र, राहदानी तथा अशक्त र अपाङ्गता भएका नागरिकका लागि नयाँ नागरिकता सेवा गाउँपालिकामै उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत सुनिता थापाले जानकारी दिइन् । यसअघि मण्डनदेउपुर नगरपालिका र महाभारत गाउँपालिकामा समेत यस्ता सेवा सञ्चालन गरिएको थियो । खानीखोला गाउँपालिकामा भने वैशाख १८, १९ र २० गतेसम्म सेवा उपलब्ध गराइने जनाइएको छ । राष्ट्रिय परिचयपत्र तयार भइसकेका नागरिकलाई वितरण गर्ने, राहदानी प्रक्रियाका सबै चरण पूरा भइसकेका सेवाग्राहीलाई राहदानी उपलब्ध गराउने तथा अशक्त र अपाङ्गता भएकै कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई स्थानीय तहबाटै नागरिकता सेवा दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको अधिकृत थापाले बताइन् ।
सेवा गाउँमै पुगेपछि विशेष परिस्थितिमा रहेका नागरिकले राहत महसुस गरेका छन् । किरियापुत्रीमा बसेकाहरूले समेत गाउँपालिकामै सेवा पाएका छन् भने अशक्त तथा ज्येष्ठ नागरिकलाई लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार तेमाल गाउँपालिकामा भने अशक्त नागरिकको घरमै पुगेर नागरिकता वितरण गरिएको थियो । प्रशासनले आगामी दिनमा जिल्लाका अन्य दुर्गम स्थानीय तहमा समेत यस्ता सेवा विस्तार गर्ने तयारी गरेको जनाएको छ ।









