2026 April 20/ 06:46: 53am

    धुलिखेल/सहकारी ठगीका मुद्दाहरूले पछिल्लो समय गम्भीर रूप लिएको छ । मुद्दा दर्ता भए पनि बचतकर्ताहरुको रकम फिर्ता हुने ग्यारेन्टी छैन । सरकारले १ सय दिन भित्र बचतकर्ताको रकम फिर्ता दिन शुरु गर्ने भने पनि बचतकर्ताहरु विश्वस्त हुन सकेका छैनन् । 
    प्रहरीमा दर्ता भएका ठगी अभियोगमध्ये सबैभन्दा ठूलो विगो अग्नि बचत तथा ऋण सहकारी संस्था लिमिटेड को रहेको छ, जसको कुल विगो २४ करोड ९७ लाख ५ हजार ९ सय ७७ रुपैयाँ कायम गरिएको छ । क्रमशः यु.एम साकोसको १५ करोड ६१ लाख ५८ हजार, पशुपति सहकारीको १४ करोड ३६ लाख ७८ हजार ३ सय ३४ रुपैयाँ, गरुड सहकारीको १२ करोड ३२ लाख ४५ हजार २ सय ५ रुपैयाँ विगो रहेको छ । त्यसैगरी मुकुल सहकारीको ४ करोड ७२ लाख ८१ हजार ७ सय ७० रुपैयाँ, पुण्यश्वर सहकारीको ३ करोड ८० लाख ९३ हजार ४ सय १८ रुपैयाँ र सबैभन्दा कम युनिटी साकोसको ३ करोड १९ लाख १८ हजार ५ सय २५ रुपैयाँ विगो कायम भएको छ । 
    प्रहरी तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा १ वटा, २०८०/८१ मा ३ वटा र २०८१/८२ मा थप ३ वटा गरी कुल ७ वटा सहकारी विरुद्ध ठगी मुद्दा दर्ता भएका छन् । तीमध्ये कान्तिपुर सहकारी विरुद्धको मुद्दा काठमाडौंमा दायर भएको छ भने अन्य सहकारीहरूबारे अझै प्रहरीमा थप जाहेरी परेका छैनन् । यी घटनाहरूमा १ सय १९ जना सञ्चालक र कर्मचारीविरुद्ध अभियोग दर्ता गरिएको छ । कुल ७ वटा सहकारीबाट ७९ करोड ८१ हजार २ सय ३८ रुपैयाँ बराबरको बचत फिर्ता गर्नुपर्ने अवस्था देखिएको छ ।
    कारबाहीको क्रममा प्रहरीले २७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये १७ जना धरौटीमा रिहा भएका छन् भने १० जना अझै कारागारमा छन् । यसैबीच ९२ जना फरार रहेका छन् । समग्रमा सहकारी ठगी र बैंकिङ कसुर सम्बन्धी मुद्दामा १ सय ९८ जना फरार छन् भने ६३ जना पक्राउ परिसकेका छन् । उता बैंकिङ कसुरका मुद्दा पनि वर्षेनि बढ्दै गइरहेका छन् । आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा मात्रै १ सय ४२ वटा मुद्दा दर्ता भएका छन् । यसअघि केही समयसम्म यस्ता मुद्दा सिधै अदालतमा दायर गर्न सकिने व्यवस्था थियो । अदालतमा सिधै दायर भएका मुद्दासहित हेर्दा चालु वर्षको ९ महिनामा करिब २ सय मुद्दा दर्ता भएको अनुमान गरिएको छ ।
    अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ सय ६५ वटा मुद्दा दर्ता भएका थिए र ती सबै फछ्र्योट भएका थिए । चालु वर्ष दर्ता भएका १ सय ४२ मध्ये १ सय १७ वटा मुद्दा फछ्र्योट भइसकेका छन् भने २५ वटा बाँकी छन् । यस वर्ष ३६ जना पक्राउ परेका छन् र १ सय ६ जना फरार छन् । अघिल्लो वर्ष भने ५८ जना पक्राउ परेका थिए भने १ सय ७ जना फरार रहेका थिए । सहकारी र बैंकिङ क्षेत्रसँग सम्बन्धित ठगीका घटनाहरू बढ्दै गएको स्पष्ट देखिन्छ, जसले सर्वसाधारण बचतकर्ताको विश्वासमा गम्भीर असर पारिरहेको छ ।