2026 April 20/ 06:46: 52am

विकास तिमल्सिना
पाँचखाल

    राजधानी उपत्यकाको करिब २५ प्रतिशत कृषि उपज आपूर्ति गर्ने पाँचखाल नगरलाई ‘कृषि शहर’ भनेर चिनिन्छ । हराभरा फाँट हेर्दा मन आनन्दित हुन्छ, तर त्यही हरियालीभित्र किसानको पीडा भने गहिरो छ–रुवाबासीले भरिएको ।
    निर्वाचनपछि आलुले उचित मूल्य पाउने आशा गरेका किसानहरू नयाँ सरकार गठन भइसक्दा पनि निराश छन् । मूल्य नपाउँदा उनीहरूको अवस्था झन् दयनीय बनेको छ । पाँचखाल–१२ का किसान बुद्धिबहादुर दनुवार भन्छन्, ‘मंसिरमा रोपेको आलु चैत्र सकिँदासम्म पनि खन्न सकिएको छैन । खनेर बेच्दा लागतसमेत उठ्दैन ।’ उनका अनुसार बीउ, विषादी, रासायनिक मल, मजदुरी र जग्गा भाडा जोड्दा किसान उल्टै ऋणमा डुबेका छन् । धनबहादुर दनुवार र काली दनुवार पनि आलुको मूल्य घट्दा ठूलो घाटा व्यहोर्नु परेको बताउँछन् ।
    किसान विमलकुमार श्रेष्ठका अनुसार आफ्नै जमिनमा आफ्नै बीउ प्रयोग गर्दा पनि लागत उठाउन गाह्रो भएको छ । ‘जग्गा भाडामा लिएर खेती गर्ने त झन् डुबेका छन्’– उनले भने–‘कम्तीमा प्रतिकेजी २५ रुपैयाँ नपाउँदासम्म किसान बच्न सक्दैनन् ।’ किसान शम्भु थापा भन्छन्–‘पाँचखालको हरियाली हेर्दा रमाइलो लाग्छ, तर भोगाइ भने रुवाबासी छ । कृषि शहरको नारा नै गिज्याइरहेको छ ।’ 
    किसान सज्जनकुमार उदासको अवस्था पनि उस्तै छ । उनले ३–४ सय बोरा आलु बिक्री गरे पनि अझै २–३ सय बोरा घरमै थन्किएको छ । ७० बोरा भन्दा बढी बीउ आलु काफ्लेडीस्थित कोल्ड स्टोरमा राखिएको छ । ‘मूल्य नपाउँदा कोल्ड स्टोरमा राखेर पछि बेच्ने आशा पनि हराइसक्यो’–उनी भन्छन्– ‘स्थानीय सरकारले कोल्ड स्टोरमा अनुदान दिन सके केही राहत हुन्थ्यो ।’ 
    गत फागुनमा प्रतिकेजी २७–२८ रुपैयाँसम्म पुगेको आलुको मूल्य अहिले तीव्र रूपमा घटेको छ । किसानहरूले २५ रुपैयाँसम्म पाए घाटा नहुने अनुमान गरेका थिए । तर बजारमा व्यापारी नै नआएपछि मूल्य ओरालो लाग्दै गयो । अहिले डल्लो सेतो आलु प्रतिकेजी १० रुपैयाँमा पनि बिक्री हुन सकेको छैन भने रातो आलु १५–१६ रुपैयाँमै अड्किएको छ । धेरै किसानले आलु खन्नै छाडेका छन् । खनेका आलु घरमै थन्किँदा कुहिन थालेका छन्, खेतमै छाडिएका आलु पनि नष्ट हुँदैछन् ।
    अर्कोतर्फ, आलु भित्र्याएर अर्को बाली लगाउने समय बित्दै गएको छ । कतै खेतमा आलुका बोट सुकिसकेका छन्, कतै झार उम्रिएको छ, कतै खेत बाँझोझैँ देखिन थालेको छ । पाँचखालमा करिब १ लाख बोरा आलु भण्डारण क्षमता भएका दुई कोल्ड स्टोरमध्ये एउटा भरिएको छ भने अर्कोमा करिब १५ हजार बोरा मात्रै राखिएको छ । किसान शम्भु थापाका अनुसार कोल्ड स्टोरमा सहज पहुँच र सहुलियत मिल्न सके मूल्य समायोजनमा केही राहत मिल्न सक्छ ।
    काफ्लेडी कोल्ड स्टोरका व्यवस्थापक सज्जन अधिकारीका अनुसार राम्रो गुणस्तरको आलु भए ५० हजार बोरा सुरक्षित राख्न सकिन्छ । विगतमा किसानले कुहिएको आलु समेत भण्डारण गर्न ल्याउँदा समस्या देखिएको उनी बताउँछन् । किसान विमलकुमार श्रेष्ठले राजधानीको कालिमाटी बजारमा समेत आलु बिक्री नभएर फर्काउनु परेको गुनासो गरे । ‘ठूला र मझौला आलु केही बिके पनि साना आलुको बजार ठप्प छ’– उनले भने –‘बिकेको आलुको मूल्य पनि १६–१७ रुपैयाँभन्दा माथि पुगेको छैन ।’