ढुंखर्क/काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–२, ढुंखर्कस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा श्री १०८ श्रीमत्तारतम सागर पाठ सप्ताह ज्ञान महायज्ञ तथा श्रीकृष्ण प्रणामी धर्म जागनी महा–महोत्सव आयोजना हुने भएको छ ।
महोत्सव २०८२ साल चैत २७ गतेदेखि २०८३ साल वैशाख ३ गतेसम्म सञ्चालन हुने आयोजक मूल समारोह समितिले जनाएको छ । कार्यक्रमका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक गिता शर्माले उक्त जानकारी गराएकी हुन् । बेथान्चोकमा यस अघि दुई पटक आयोजना गरिएको कार्यक्रम विविध कारणवश हुन सकेको थिएन । कार्यक्रमको तयारी, कार्यक्रम अवधीभर हुने विविध गतिविधि र यसका उदेश्यका बारेमा विहिबार कार्यक्रम स्थल बेथान्चोकको ढुंखर्ककमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराईएको हो ।
कार्यक्रममा बेथान्चोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बेथान्चोकलाई धामिर्क पर्यटनका हिसावले चिनाउन धर्म जागनी महोत्सव महत्वपूर्ण हुने बताए । साथै उक्त महोत्सवका लागि आवश्यक पर्ने सहयोग र समन्वय गाउँपालिकाको तर्फबाट हुने उनले बताए । उपाध्यक्ष तारा राना तिमल्सिनाले धर्मका माध्यमबाट शान्ति स्थापना गर्न र धार्मिक पर्यटनका हिसावले आर्थिक समृद्धि ल्याउन महोत्सव महत्वपूर्ण हुने बताईन् । पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, केन्द्रीय समितिका श्याम केसी, गोपाल सञ्जेल, वडा अध्यक्षहरु, विभिन्न उप समितिका संयोजकहरुको सहभागिता रहेको थियो ।
भिमसेन तिमल्सिनाको स्वागत र बलराम बजगाईको संचालन रहेको कार्यक्रममा कार्यक्रमको ब्यवस्थापन र सहभागिताका बारेमा जानकारी गराईएको थियो । महोत्सवअन्तर्गत श्रीकृष्ण प्रणामी धर्मका धर्माचार्य तथा वर्तमान सतगुरु स्वरूप अनन्तश्री विभूषित जगतगुरु आचार्य श्री कृष्णमणि महाराजश्रीबाट नवनिर्मित मन्दिरको कलश अनावरण गरिने कार्यक्रम तय गरिएको छ । विभिन्न परमहंस पीठका गाधिपति, सन्त–महात्मा तथा गुरुजनहरूको सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाउने अपेक्षा गरिएको छ ।
महोत्सवको मुख्य उद्देश्य वैदिक सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विकास तथा सांस्कृतिक परम्पराको जगेर्ना गर्नुका साथै समाजमा धार्मिक जागरण फैलाउनु रहेको छ । साथै ढुंखर्क क्षेत्रलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसमेत लिइएको छ । साताव्यापी महोत्सवमा विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम सञ्चालन गरिनेछन् । चैत २६ गते बनेपा–९ नयाँबस्तीबाट ढुंखर्कसम्म मोटरसाइकल ¥याली आयोजना गरिनेछ भने चैत २७ गते १०८ कलश शोभायात्रासहित तारतम सागर पाठ पारायण गरिने कार्यक्रम छ । चैत २८ गते रक्तदान कार्यक्रम, चैत ३० गते मन्दिरको कलश अनावरण तथा वैशाख १ गते व्रतबन्ध कार्यक्रम सञ्चालन हुनेछन् ।
यस अवधिभर श्रीमद् तारतम सागरको कथा वाचन, भजन–कीर्तन, सत्सङ्ग, वैदिक अनुष्ठान, निःशुल्क स्वास्थ्य शिविर तथा सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवमा नेपालको केन्द्रीय धाम श्री नवतनधामका गाधिपति बाबाजी श्री १०८ अमृतराजजी महाराजबाट आशीर्वचन प्रदान गरिनेछ भने महन्त स्वामी श्री १०८ पुरुषोत्तम महाराजजीबाट दिव्य कथा वाचन तथा प्रवचन हुने कार्यक्रम रहेको छ । साथै अन्तर्राष्ट्रिय कलाकारहरूको भजन–कीर्तन प्रस्तुति पनि रहनेछ । धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिने ढुंखर्क क्षेत्र निजानन्द सम्प्रदायका अनुयायीहरूको प्रमुख केन्द्रका रूपमा परिचित छ । परमहंस ब्रह्मलिन गुरुजी श्री १०८ युगलदासजी महाराजबाट यस क्षेत्रमा धर्म प्रचार–प्रसार सुरु गरिएको इतिहास रहेको बताइन्छ ।
स्थानीय बासिन्दा तथा धर्मप्रेमीहरूको सहयोगमा निर्माण गरिएको श्रीकृष्ण प्रणामी मन्दिर हाल धार्मिक तथा सामाजिक गतिविधिको केन्द्रका रूपमा विकसित हुँदै गएको छ । मूल समारोह समितिले देश तथा विदेशबाट आउने भक्तजन, धर्मप्रेमी तथा सर्वसाधारणलाई महोत्सवमा सहभागी भई धार्मिक लाभ लिन आग्रह गरेको छ । २०४८ सालमा ढुंखर्कमा स्थापना भएको श्रीकृष्ण प्रणामी मन्दिरको भवन २०६२ सालमा शुरु गरिएको थियो । नेपालमा २०२३ सालमा श्रीकृष्ण प्रणामी समिति संघ संस्था ऐन अन्र्तगत दर्ता भएको थियो । यो सबै भन्दा पुरानो संस्था हो ।









