बनेपा/‘उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता’ भन्ने मूल नाराका साथ जिल्ला सहकारी संघ लिमिटेड बनेपाले ६९ औँ राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रमहरू आयोजना गर्दै मनाएको छ ।
सहकारी दिवसको अवसरमा सहकारी क्षेत्रलाई थप सशक्त, उत्तरदायी र जनमुखी बनाउने उद्देश्यले संघले विविध र रचनात्मक कार्यक्रमहरू सञ्चालन गरेको हो । संघका अध्यक्ष अमन पोटेका अनुसार स्थापना दिवसको सन्दर्भ पारेर सहकारीका सञ्चालक तथा कर्मचारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता, रक्तदान कार्यक्रम, संघ परिसरमा गणेश र लक्ष्मीको प्राण प्रतिष्ठा, सहकारीको झण्डोत्तोलन, वृक्षारोपण, क्यालेन्डर सार्वजनिक तथा उद्यमशील महिलाहरूको विशेष भेला जस्ता कार्यक्रमहरू सम्पन्न गरिएको थियो ।
अध्यक्ष पोटेले सहकारी क्षेत्रलाई आर्थिक समृद्धिको बलियो आधारका रूपमा विकास गर्न संघले निरन्तर योजना निर्माण र कार्यान्वयन गर्दै आएको उल्लेख गरे । ‘सहकारीमार्फत व्यवसाय, उद्यम र आर्थिक समृद्धिको स्पष्ट मार्गचित्र बनाउँदै अघि बढेका छौँ,’ उनले भने, ‘साथै सहकारी क्षेत्रमा देखिएका समस्या, कानुनी जटिलता तथा बचतकर्ताहरूको सुरक्षित निक्षेप सुनिश्चितताका लागि कानुनी परामर्श र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ ।’ उनका अनुसार सहकारी प्राधिकरण स्थापना, अभिलेखीकरण प्रणालीको सुदृढीकरण लगायतका विषयमा संघले निरन्तर वकालत गर्दै आएको छ । कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले सहकारी क्षेत्रका समस्या समाधानमा स्थानीय सरकार सक्रिय रहेको बताए। यद्यपि प्रदेश र संघीय तहअन्तर्गत रहेका सहकारी संस्थाहरूका कारण बचतकर्ताहरूको रकम अझै जोखिममा रहेको उनले औँल्याए । ‘अभिलेखीकरणको प्रक्रिया सुरु भएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन र कारबाही निकै चुनौतीपूर्ण छ,’ उनले भने ।
त्यसैगरी उपप्रमुख विमला सापकोटाले नगर क्षेत्रभित्र रहेका सहकारीहरूको व्यवस्थापन सुधार र उद्यमशीलता प्रवद्र्धनका लागि नगरपालिका निरन्तर समन्वय गर्दै आएको बताइन् । उनले सहकारीहरूको अभिमुखीकरण कार्यक्रममार्फत स्थानीय स्तरमा आर्थिक गतिविधि सशक्त बनाउन पहल भइरहेको जानकारी दिइन् । संघका सचिव प्रकाश बञ्जाराको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकारहरू, पूर्व अध्यक्षहरू, सञ्चालक समिति तथा उपसमितिका पदाधिकारीहरू, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, काभ्रे उद्योग वाणिज्य संघ का वरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, राष्ट्रिय सहकारी बैंक का उपेन्द्र दाहाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रम अन्तर्गत आयोजित फुटसल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा पाँचखालको स्वेच्छा बचत सहकारी प्रथम हुँदै नगद १५ हजारसहित शिल्ड र मेडल प्राप्त गर्न सफल भयो । त्यसैगरी पनौतीको इन्द्रेश्वर सहकारी दोस्रो हुँदै नगद १० हजार प्राप्त ग¥यो भने बनेपाको एक्सप्रेस साकोस तेस्रो स्थान हासिल गर्दै नगद ५ हजारसहित पुरस्कृत भयो । समग्रमा, दिवसले सहकारी क्षेत्रभित्र पारदर्शिता, उत्तरदायित्व र उद्यमशीलताको सन्देश प्रवाह गर्नुका साथै सहकार्य र एकताको भावना सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन् ।









