2026 May 16/ 05:37: 52am

    बनेपा/स्वदेश र विदेशमा समेत चर्चित ‘आमाको अचार’ को विक्री कक्ष बनेपा नालादोवाटोमा शुरु भएको छ । आमाको अचारका संस्थापक संगिता पाण्डेले शनिबार एक कार्यक्रमका साथ उक्त शो रुमको उद्घाटन गरिन् । 
    बनेपाका स्थायी बासिन्दा समाजसेवी प्रकाश कायश्थका छोरा बुहारी प्रफुल र रिया कायश्थ अध्ययनका लागि लण्डन बस्दै आएका थिए । लण्डनमा स्थायी बसोबासका लागि योजना बनाएका रिया र प्रफुलले स्वदेश फर्कने योजना बनाए । स्वदेश त फर्कने तर के गर्ने ? प्रफुल्लको दिमागमा झ्वाट्ट याद आयो–आफुले लण्डनमा खाएको ‘आमाको अचार’ विक्री गर्न शुरु गर्ने । त्यसका लागि उनले सामाजिक सञ्जालका विभिन्न माध्यम प्रयोग गरे । केहि दिनमा नै प्रफल्ल परिवारका सदस्य सहित नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्य सहितको टोली संगिता पाण्डको ‘आमाको अचार’ उद्योगमा पुग्यो । 
    त्यहाँ पुगे पछि थाहा भयो बनेपामा दुई महिना अघि नै शो रुम निर्माण भईसकेको छ । त्यहि शो रुम मार्फत नै आफ्नो ब्यवसाय गर्ने चाहना अघि बढाउने गरी प्रफुल्ल र रियाले जिम्मेवारी लिने योजनामा अभिभावक प्रकाश कायश्थ सहितले स्वीकृति दिए । शनिबार भब्य कार्यक्रमका साथ उद्घाटन गरिएको शो रुमबाट अचार लिनेहरुको घुँईचो लागेको थियो । ‘बनेपामा शो रुम भएर धेरै सहज भयो’–गृहिणी हरिप्रभा श्रेष्ठले भनिन–‘भान्साका लागि आवश्यक पर्ने थुप्रै अचारहरु उपलब्ध छन् । यसअघि अनलाईन मार्फत मगाउने गरिएको थियो । बनेपामा नै शो रुम भए पछि आवश्यकता अनुसार चाहिने अचारहरु खरिद गर्न सहज भयो ।’ 
    शो रुम उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्य, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, नेपाल सुन चाँदी ब्यवसायी संघका उपाध्यक्ष दियेशरत्न शाक्य, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रताप बैद्य, यातायात ब्यवसायीहरु, उद्योगी ब्यवसायीहरु, पतञ्जली योग समितिका बागमती प्रदेश अध्यक्ष ग्रुुवेन तौजले, वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । प्रफुल्ल र रियाले स्वदेशमा नै केहि गर्ने योजना अनुसार ब्यवसाय शुरु गरेको बताए । 
के हो ‘आमाको अचार’
    पछिल्लो समय बजारमा पाइने अचार ब्रान्डहरूमध्ये आमाको अचार लोकप्रिय छ । यसको कारखाना चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा छ । यहीँबाट ३५ भन्दा बढी स्वादका अचार बन्छन र ४० वटा देशमा पुग्छन । आमाको अचारका सञ्चालक हुन् संगीता पाण्डे । ६३ वर्षीया संगीतालाई सबैले आमा भनेर चिन्छन् । उनी हरेक दिन कारखाना पुग्छिन् र अचार बनाउने काममा सघाउँछिन् । यसरी संगीताले अचारको उत्पादन थालेको झन्डै डेढ दशक भयो । 
    अहिले उनका दुई छोरा र एक जना बुहारी यसमै सक्रिय छन् । दुवै छोरा विदेश बसेर फर्किएका हुन् । जेठा पिताम्बर उत्पादन र व्यवस्थापनको काम सम्हाल्छन् । कान्छा प्रकाश बजारीकरण हेर्छन् । रेसिपीको जिम्मा कान्छी बुहारी गोमाको हो । एक वर्षदेखि उनीहरूले ‘आमाको मसला’ पनि उत्पादन गरिरहेका छन् । यसका लागि मातातीर्थमै थप दुई रोपनी जमिनमा मसला कारखाना बनाएका छन् । यहीँबाट चिकेन, मटन, थुक्पा लगायत थुप्रै खानेकुरालाई विशेष बनाएर विभिन्न मसला तयार हुन्छ । मसला पनि आमा संगीताकै रेसिपी अनुसार बन्ने कम्पनीका प्रबन्ध निर्देशक प्रकाशले बताए । यी मसलामा जिरा, धनियाँसँगै लसुन–अदुवाको धूलो पनि हुन्छ । यसले व्यस्त दैनिकी हुनेहरूलाई सजिलो बनाएको छ । 
    संगीताले उनका श्रीमान तुलसीरामका साथमा सुरू गरेको यो व्यवसायमा अहिले पाण्डे परिवार नै जमेर लागिपरेको छ । सुरूमा उनीहरूले घरनजिकै एक रोपनी जग्गा भाडामा लिएर सानो कारखाना बनाएका थिए । पाँच वर्षअघि दुई रोपनी जग्गा किनेर ठूलो कारखाना बनाएका हुन् । हाल आमाको अचारमा ८० जना भन्दा बढी कर्मचारी नियमित रूपमा काम गर्छन् । आँप, लप्सी, तामा जस्ता मौसमी चिजको अचार बनाउने बेला तीन सय जनासम्म हुन्छन् । संगीता अचारको व्यवसायले नसोचेको सफलता मिलेको बताउँछिन् । घरको भान्सामा बनाएको अचार विभिन्न देशमा पुग्ला भन्ने उनले कल्पना पनि गरेकी थिइन् । 
    ‘घरमा यसै खाली किन बस्नु भन्ने सोचेर अचार बनाउन थालेकी थिएँ । व्यवसाय यसरी फैलिएला, बुढेसकालमा थालेको व्यवसायले विदेश पुगेका छोराबुहारीलाई स्वदेश फर्काउला भनेर कहिल्यै सोचेकी थिइनँ’– संगीताले भनिन्–‘अहिले यही उद्योगले हाम्रो र धेरैको परिवार पालेको छ ।  मेहनत र लगाव भएमा गर्न सकिने रहेछ ।’ अर्घाखाँचीकी संगीताको १३ वर्षको उमेरमा बिहे भएको थियो । श्रीमान तुलसीराम भारतको युनाइटेड बैंकमा जागिरे थिए । संगीता उतै गइन् र १९ वर्ष उनीहरू त्यहीँ बसे । तीन छोरा भारतमै जन्मे, हुर्के । तुलसीराम सेवानिवृत्त भएपछि उनीहरू स्वदेश फर्के । बुटवलमा घर बनाएर बसे । छोराहरू उच्च शिक्षाका लागि काठमाडौं आए, घरमा श्रीमान श्रीमती मात्र भए । छोराहरू भेट्न उनीहरू काठमाडौं आउजाउ गरिरहन्थे । पछि काठमाडौंमै बस्ने निधो गरे विशालनगरमा घर बनाए । पछि बुटवलको घर बेचेर बालुवाटारमा अर्को घर किनेर सरे ।
    काठमाडौंमा पनि छोराबुहारी आ–आफ्नो काममा बाहिरै भएपछि पाण्डे दम्पती मात्र घरमा भए । त्यसैले संगीता केही नयाँ काम सुरू गर्न चाहन्थिन् । उनले बुटवल बस्दा अचार बनाउने तालिम लिएकी थिइन् । भारतमा छँदा छरछिमेकका साथीहरूलाई पनि अचार बनाएर खुवाउँथिन् । ‘भारतमा हामी साथीहरू भेला भएर खानाका परिकारबारे गफ गथ्र्यौं । एकअर्कालाई घरमा बोलाएर खुवाउँथ्यौं’– संगीताले भनिन्– ‘साथीहरू मैले बनाएको अचार खुब मनपराउँथे ।’ बुटवलमा पनि उनले बनाएको अचार मन नपराउने कोहि थिएन । उनले बनाएको अचारमा कहिल्यै रेसिपी परिवर्तन भएन । 
    एक दिन एक जना नेपालीले अमेरिका लैजान भनेर २५ कार्टुन अचार अर्डर गरे । एक कार्टुनमा १२ बट्टा अचार हुन्थ्यो । त्यो अर्डरले संगीता उत्साहित भइन्, खुसीको सीमा रहेन । ‘त्यो अर्डर आएका दिन त मैले संसारै जितेको महसुस गरेँ’– उनले भनिन् । दिन बित्दै जाँदा बेलायत, अस्ट्रेलिया, जापान र दक्षिण कोरियाबाट पनि माग आउन थाल्यो । संगीताले सुरू गरेको आमाको अचारको हाल ९० प्रतिशत बजार विदेश नै हो । विदेश बस्ने नेपालीहरू यसका मुख्य उपभोक्ता हुन् । हाल आमाको अचार ३५ भन्दा बढी स्वादमा पाइन्छ । डल्ले खुर्सानी, करेला, लसुन, कागती, मेथी, गुन्द्रुक, आँप, लप्सी, काउली, तामा, काँक्रो, मुला, टिमुर लगायत । ‘सबै काम हातैबाट हुन्छ । बजारको मसला पनि हालिँदैन । मेसिनबाट बनाउँदा काम छिटो र अचार सस्तो हुन्थ्यो । तर मेसिनले बनाएपछि स्वाद अर्कै हुन्छ,’ संगीताले भनिन्, ‘हामीले बनाउने अचार औद्योगिक होइन, घरेलु हो ।’ हाल अचार र अचार पेस्टको भाउ १५० रूपैयाँदेखि ७५० रूपैयाँ छ । उपभोगको म्याद उत्पादन मितिले सामान्यतया दुई वर्षसम्म हुन्छ । यो अचार किराना पसलदेखि ठूला मार्ट र सुपरमार्केटमा पाइन्छ । आमाको अचार चम्कन थाले पछि कान्छो छोरा बुहारी पनि अष्ट्रेलियाबाट फर्केर त्यहि काममा सक्रिय भएका हुन् । अहिले नेपालका विभिन्न स्थानमा आमाको अचार सहजै पाउन सकिन्छ ।