2026 May 16/ 05:31: 56am

सुस्त बजेट, तिब्र निर्माण  
    धुलिखेल/अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तारमा माग गरेअनुसार अझै बजेट उपलब्ध हुन सकेको छैन । सडक निर्माण कार्य द्रुत गतिमा नहुँदा सर्वसाधारण सकसपूर्ण यात्रा गरिरहेका छन् । 
    दुई जिल्ला भक्तपुर र काभ्रे जोड्ने १५.८ किलोमिटर सडक विस्तारमा चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट अपुग भएको हो । ‘सडक निर्माण तिब्र गतिमा नहुँदा नागरिकहरुले सास्ति ब्यहोर्नु परेको छ’–बनेपामा सुरज पलाञ्चोकले भने–‘धुलो, हिलो र धराप जस्ता संरचनाका कारण नागरिकहरुलाई सास्ति भईरहेको छ ।’ अलपत्र पारिएका नाली, सडक विभिन्न खण्डको अब्यवस्थित निर्माण कार्यबाट जेष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका ब्यक्ति, बालबालिका तथा सामान्य अवस्थाका नागरिकलाई समेत असहज भएको छ । विशेषगरी बनेपा क्षेत्रको निर्माण कार्य प्रारम्भमै सर्वसाधारणले सास्ती ब्यहोर्न थालेका छन् । निर्माण भईरहेका दुई खण्ड मध्ये एउटा खण्ड हो, साँगा–धुलिखेल । 
    उक्त खण्डको दूरी ८.३ किमी र निर्माण प्रगति ६८ प्रतिशत छ । साँढे दुई किमी सडक कालोपत्रे भइसकेको छ । ३ किमी ६ लेन सडक कालोपत्र भएको आयोजनाले जनायो । यस खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले २०७९ मंसीर २७ मा ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा लिएको हो । २०८२ मंसिर २७ गते म्याद सकिएर २०८३ मंसिर २३ सम्म थप गरिएको छ । समग्र आयोजनाको निर्माण प्रगति ५६ प्रतिशत छ । उक्त सडक खण्डमा पर्ने तीनवटा पुलको भने छुट्टै ठेक्का गरिएको छ । पुलको ठेक्का हिमदुङ एन्ड थोकर–रामजानकी जेभीले लिएको छ । सडक निर्माण आधाभन्दा बढी सकिँदा पुल निर्माणले भने अझै गति लिन सकेको छैन । तीन वटा पुलको एउटै प्याकेजमा ठेक्का गरिएको छ ।
    दुई पुलको बल्ल निर्माण गर्ने सुरसार गरिँदै छ । एउटा पुलको मात्र काम भइरहेको छ । ठेक्का डिजाइन एन्ड बिल्ड प्रविधिमा भएको हो । २०७९ चैत्र ६ मा गरिएको सम्झौता अनुसार २०८२ असोज ५  भित्र पुल निर्माण सकि सक्नुपर्ने थियो । भ्याटसहित तीनवटा पुलको ठेक्का रकम ५७ करोड ५० लाख रुपैयाँ छ  । सम्झौता अवधिमा काम नसकिएपछि २०८३ मंसिर ५ सम्म म्याद थप गरिएको छ  । जगाती पुल भक्तपुर र पुण्यमाता तथा महादेव खोला पुल काभ्रेमा पर्छन् । महादेव खोला पुलमा काम भइरहेको र निर्माण प्रगति १२ प्रतिशत छ । पुण्यमाता र जगाती पुलको सुरुको डिजाइनमा पुनर्विचार गरेर बल्ल निर्माण थाल्न लागिएको छ । अहिले काम सुरु गर्न लागिएको आयोजनाले जानकारी दिएको छ । महादेव खोलामा भने धमाधम काम भइरहेको छ । आयोजनामा अर्को समस्या विद्युतका पोल सार्ने रहेको छ । ‘सूर्यविनायक–साँगा खण्डमा ६० वटा र साँगा–धुलिखेल खण्डमा ४० वटा पोल सार्न बाँकी छ, जसले गर्दा काममा ढिलाइ भइरहेको छ’–विजयकुमार महतोले भने–‘नेपाल विद्युत् प्राधिकरणमार्फत ठेक्का भएर पोल सार्ने काम गरिएको हो, एउटै व्यवसायीले धेरैतिर ठेक्का लिँदा सार्न ढिलाइ भइरहेको छ  ।’ उनका अनुसार चालु आर्थिक वर्षमा १ अर्ब बजेट उपलब्ध भए समग्र निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी पुग्नेछ । 
    अर्काे खण्ड हो, सूर्यविनायक–साँगा । यो खण्डको दूरी ७.५ किमी छ । यस खण्डको ठेक्का आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले २४ पुस २०७९ मा लिएको हो । जसको ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ रहेकामा प्रगति ४८ प्रतिशत छ । यस खण्डमा कालोपत्र भइनसकेको र दुई किमीमा कालोपत्र गर्ने तयारी हुँदै छ । अहिले सूर्यविनायकदेखि जगातीसम्म कालोपत्र गर्न लागिएको हो । २०८२ पुस २७ गते म्याद सकिएर २०८३ फागुन २९ सम्म थप गरिएको छ  । साँगाको अण्डरपासका कारण उक्त खण्डको कार्यमा झन ढिलाई भएको छ । सिमसिम पानीमा समेत गाडीहरु जाम हुँदा झनै ठुलो संकटपूर्ण यात्रामा नागरिकहरु छन् भने धुलोले सडक आसपासका नागरिकहरु तथा सडकमा यात्रा गर्नेहरु झनै ठुलो समस्यामा परिरहेका छन् । 
    चालु आर्थिक वर्षमा आयोजनाले ३ अर्ब रुपैयाँ माग गरेको थियो । तर सडक र पुल निर्माणका लागि ७० करोड रुपैयाँ मात्र विनियोजन भएको थियो, जसमा ६० करोड सडक विस्तारमा र १० करोड पुल निर्माणका लागि छुट्याइएको थियो । उक्त रकम अपुग भएर निर्माणकै क्रममा थप १५ करोड रुपैयाँ पाए पनि त्यो पनि सकिइसकेको सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोले बताए । ‘रफ्तारमा काम भइरहेको छ, तर पर्याप्त बजेट छैन,’ महतोले भने, ‘बजेट अभावले काम नै रोकिसकेको छैन, माग गरेअनुसार बजेट नआए काम प्रभावित बन्ने जोखिम धेरै छ ।’ समयमै बजेट उपलब्ध गर्न माग गरिरहेको उनको भनाइ छ । ‘चालु आर्थिक वर्षमा अब कम्तीमा एक अर्ब चाहिन्छ । दुवै खण्डमा नाली बनाउने काम सकिने चरणमा छ, ठेक्का भएको एउटा खण्डमा कालोपत्र भइरहेको र अर्को खण्डमा सुरु गर्ने तयारी छ । तत्काललाई ६० करोड रुपैयाँ माग गरिएको हो, सडक विभागले २० करोड रुपैयाँ रकमान्तरका लागि सिफारिस गरेर अर्थ मन्त्रालयमा पठाएको छ’–उनले भने–‘अहिलेसम्म भुक्तानीका लागि अख्तियारी आएको छैन ।’