2026 August 17/ 07:46: 55am

    पनौती/सामुदायिक सेवा समाजअन्तर्गतको सामुदायिक योग समूह, मैजुबहाल–कुमारीगालले काभ्रेपलाञ्चोक जिल्लाको पनौतीस्थित श्री प्राणनाथ माइती वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरूलाई लत्ताकपडा, सरसफाइ सामग्री वितरण गर्नुका साथै भोजन अर्पण गरेको छ।
    सेवामूलक कार्यक्रममा आश्रममा रहेका ४० जना जेष्ठ नागरिकलाई लक्षित गरी सहयोग प्रदान गरिएको हो। कार्यक्रममा बोल्दै सामुदायिक योग समूहकी मुख्य प्रशिक्षक सुनिता शर्मा अर्यालले स्वास्थ्य र सेवाको सम्बन्धलाई जोड दिँदै सबैभन्दा पहिले आफ्नै स्वास्थ्यप्रति सचेत रहन अनुरोध गरिन् । नियमित योगाभ्यास र व्यायामले हामीलाई शारीरिक मात्र होइन, मानवीय सेवामा पनि समर्पित हुन प्रेरणा दिएको छ।
    सामुदायिक योग समूहले काठमाडौँ महानगरपालिका वडा नं. ७,चाबहिलस्थित मैजुबहाल–कुमारीगालको शहीदस्मृति सामुदायिक भवनमा विगत साढे दुई वर्षदेखि निरन्तर रूपमा बिहान ५ः१५ देखि ६ः३० बजेसम्म योगाभ्यास सञ्चालन गर्दै आइरहेको छ।सामुदायिक सेवा समाजकी कार्यवाहक अध्यक्ष विनु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा श्री प्राणनाथ माइती वृद्धाश्रमका अध्यक्ष रघुनाथ तिमल्सिनाको सभापतित्व रहेको थियो।आश्रममा आश्रित वृद्धवृद्धाहरूले काठमाडौँबाट आफ्नै माइती घर आएको अनुभूति भएको प्रतिक्रिया व्यक्त गरे। उनीहरूले सहभागी सबैलाई पूजाअर्चनासहित भक्तिसङ्गीतद्वारा स्वागत गर्दै भने, ‘निस्वार्थ सेवा र सहयोगको भावनासहित यहाँसम्म आइपुग्नुभएकोमा हामी सबै आभारी छौँ। तपाईंहरू सबै धन्यवादका पात्र हुनुहुन्छ।’ 
    कार्यक्रममा स्थानीय समाजसेवी रामचन्द्र तिमिल्सिना, पनौती विकास समाजका अध्यक्ष सुरेश सैजु, सामुदायिक योग समूहकी कोषाध्यक्ष सोभना क्षेत्री, सामुदायिक सेवा समाजका कोषाध्यक्ष विष्णुप्रसाद तिमल्सिना, जापानी सूचना केन्द्र नेपालका अध्यक्ष मदनकृष्ण सिलवाललगायतको उपस्थिति रहेको थियो।सामुदायिक योग समूहले गत वर्ष काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक क्षेत्रमा बाढीपीडित परिवारहरूलाई खानेपानी पाइप वितरण गरी सहयोग पु-याएको थियो।