2026 February 15/ 10:08: 41pm

काभ्रेका १३ पालिकाबाट बैदेशिक रोजगारमा एक वर्षको अवधीमा १३ हजार २ सय विदेश गएका छन् । १५ जनाले ज्यान गुमाएका छन् भने ११ जनाको अंगभंग भएको छ । २२ जनाले छात्रबृत्ति प्राप्त गरेका छन् । 

मोतीराम तिमल्सिना
धुलिखेल

    काभ्रेपलाञ्चोक जिल्लाबाट एक वर्षको अवधीमा १३ हजार २ सय बैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका छन् । हरेक वर्ष बैदेशिक रोजगारीमा जानेहरुको संख्या बढिरहेको छ । त्यो भन्दा धेरै अध्ययनका लागि युवाहरु विदेशिने क्रम बढेको छ । बैदेशिक रोजगारमा जानेहरुले रेमिट्यान्स नेपाल पठाई रहेका छन् भने अध्ययनका लागि जानेहरुले नेपालबाट रकम अन्य मुलुक पु¥याईरहेका छन् । 
    युएई, अरब, कतार, मलेसिया, कुवेत, बहराईन, जोर्डन, ओमन, जापान, साईप्रस, कोरिया, क्रोएसिया, रोमानिया तथा युरोपेली देश र अन्य विभिन्न मुलुकमा काभ्रेपलाञ्चोक जिल्लाबाट बैदेशिक रोजगारका लागि जाने गरेका छन् । बनेपाबाट १७ सय ३७, बेथान्चोक ८२९, भुम्लु ८८६, चौरीदेउराली ८११, धुलिखेल ९८८, खानीखोला ६५५, महाभारत ८८४, मण्डनदेउपुर ८३४, नमोबुद्ध १०२६, पनौती ११९१, पाँचखाल १२१५, रोशी १२०२ र तेमाल ९३२ जना बैदेशिक रोजगारमा पुगेका छन् । सोहि अवधीमा १५ जनाले ज्यान गुमाएका छन् । १ करोड ३ लाख ५० हजार मृत्यु बापत क्षतिपुर्ति प्राप्त भएको छ । रोशीका ३, भुम्लु, महाभारत र बनेपाका १÷१, धुलिखेलका २, पाँचखालका ३ र तेमाल गाउँपालिकाका ४ जनाले ज्यान गुमाएका छन् । विरामी अंगभंग बापत २४ लाख ३३ हजार प्राप्त भएको छ । ११ जना अंगभंगमा परेका छन् । 
    पारिवारीक स्वास्थ्य उपचार बापत एक जनाले ५० हजार प्राप्त गरेका छन् । २२ जनाले छात्रबृत्ति प्राप्त गरेका छन् । २ जनाको शव निशुल्क ढुवानी गरिएको छ भने ४ जनाको शव नेपाल झिकाईएको हो । ५ जनाको उद्धार तथा खोजतलास गरिएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम र  बैदेशिक रोजगारको  बर्तमान अवस्थाका बारेमा जानकारी दिदै धुलिखेल नगरपालिकाका सामाजिक शाखा प्रमुख तथा सामी फोकल पर्सन विदुर गौतमले प्रति बर्ष करिब ५ लाख भन्दा बढि श्रमशक्ति श्रम बजारमा प्रवेश गर्ने बताए । मुलुकमा सीमित रोजगारीका अवसर, गरिबी लगायतका कारण वैदेशिक रोजगारी प्रति आकर्षित, नेपालबाट श्रम स्वीकृत लिएर बैदेशिक रोजगारमा जानेको संख्या ७९ लाख नाघिसकेको बताए । 
    वैदेशिक रोजगार विभागका अनुसार दैनिक सरदर २,०३० जना वैदेशिक रोजगार जाने गरेका छन् ।  आ.व.२०८१/०८२ मा श्रम स्वीकृति (पुनः श्रम स्वीकृति समेत) लिनेको संख्या ८ लाख ३९ हजार २ सय ६६ जना (पुरुष ७,४४,८११ (८८.७५%), महिला ९४,४५५ (११.२५%) रहेका छन् । श्रम स्वीकृती नलिई वैदेशिक रोजगारमा जानेको संख्या पनि उल्लेख्य रहेको, वैदेशिक रोजगारको लागि खुल्ला गरिएका देशहरु १११ वटा (हाल रोक्का गरिएका देशहरु अफगानिस्तान, युक्रेन, रुस, लिविया र ईराक) रहेका छन् । विएलए भएका राष्ट्रहरु कतार र जोर्डन रहेका छन् । एमओयु भएका राष्ट्रहरुको संख्या ८ वटा छ । यूएइ, रिपव्लिक अफ कोरीया, वहराइन, इजरायल, मलेशिया, मौरीसस, वेलायत, रोमानीया हुन् । एमओसी भएका राष्ट्र जापान हो । संयुक्त घोषाणपत्र जारी भएका राष्ट्र जर्मन हो । ६६ लाख ६० हजार ८ सय ४१ घरपरिवारमध्ये ७६.८ प्रतिशतले रेमिट्यान्स प्राप्त गर्ने गरेका (५१ लाख १५ हजार ५ सय २६) छन् । आर्थिक बर्ष २०८१/०८२ मा मात्रै १७ खर्व २३ अर्व रेमिट्यान्स नेपाल बैधानिक रुपमा भित्रिएको थियो । 

वैदेशिक रोजगारको अवसर
    देश भित्र पर्याप्त रोजगारीको अवसर उपलब्ध नभएको अवस्थामा धेरै युवाहरुको लागि अल्पकालीन रुपमा रोजगारीको विकल्प रहेको छ । हाल कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा विप्रेषणको योगदान करिब २८% रहेको छ । आ.व.२०८२/०८२ मा १७ खरब २३ अरब विप्रेषण नेपाल भित्रिएको थियो । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख श्रोत रहेको र हाल ३० खरब भन्दा बढी विदेशी मुद्रा संचित रहेको छ । ७६.८% घरपरिवारले प्रत्यक्षरुपमा विप्रेषण प्राप्त गर्ने गरेको छ । (स्रोतःनेपाल जीवन स्तर सर्भेक्षण चौथो २०७९/८०) । गरिबी न्यूनिकरणमा महत्वपूर्ण योगदान, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा पहुँच वृद्दि, सीप युक्त दक्ष जनशक्तिमा वृद्धि र स्वदेशमा उपयोग गरी उत्पादानमा वृद्धि गर्न सकिने अवस्था छ । 
    वैदेशिक रोजगारको चुनौतिहरु पनि उत्तिक्कै छन् । वैदेशिक रोजगार सम्बन्धि समग्र अद्यावधिक तथ्यांकहरु उपलब्ध नहुनु, वैदेशिक रोजगारमा जानेहरुसँग सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सही सूचना, तथा जानकारीको कमी, गन्तव्य मुलुकमा आफूले गर्ने कामको बारेमा उचित ज्ञान र सीप नहुनु, बिना सीप वैदेशिक रोजगारमा जाँदा थ्रीडी (फोहोर, कठिनाई र खतरनाक) काम गर्न वाध्य हुनु, विना प्रमाण दलाल र मेनपावर कम्पनीलाइ पैसा दिएर वैदेशिक रोजगारमा जानु र ठगी तथा अलपत्रमा  पर्दा  प्रमाणको अभावमा कानुनी सहायता नपाउनु, वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सलाई आयमुलक क्षेत्रमा परिचालन गर्न नसक्नु, गन्तव्य मुलुकको हावापानी, नियम कानुन, काम गर्ने वातावरण र धर्म संस्कृतिको बारेमा ज्ञान नहुनु, उत्पत्ति तथा रोजगारी दुबै मुलुकहरुले महिला कामदारहरुलाई बेला बेलामा लगाइने कानुनी रोक, नेपाल एयरपोर्टमा दैनिक ३ देखी ५ वटा वैदेशिक रोजगारमा गएका कामदारको शव भित्रिने गरेको, दलालको लहलहैमा जाँदा गन्तब्य मुलुकमा सम्झौता अनुसारको तलब, काम र सुविधाहरु नपाउनु लगायत छन् । 
    समुदाय तथा वस्ती स्तरमा वैदेशिक रोजगारको असर देखिन थालेको छ । आन्तरिक बसाइसराईमा बृद्धि, पारिवारिक जिम्मेवारीमा परिवर्तन तथा कार्यबोझ, बालबालिका र जेष्ठ नागरिकहरुमा हेरचाह र अभिभावकको अभावमा नकारात्मक असर पर्नु, पारिवारिक वेमेल, आरोप प्रत्यारोप, लान्छाना, सम्बन्ध विच्छेद, घरेलु हिंसा, पिर, चिन्ता, तनाव, मानसिक स्वास्थ्य समस्या, डिप्रेशन र आत्महत्याको घटनामा वृद्धि हुनु, सामाजिक तथा विकास निर्माणका कार्यहरुमा युवा जनशक्तिको अभाव हुनु, खेती योग्य जमिनहरु जंगलमा परिणत हुँदै जानु, दैनिक उपभोग्य सामान खरीदमा सवै कमाइ खर्च हुनु, अनुत्पादक क्षेत्रमा वढ्दो खर्च गर्ने प्रबृत्ति, भड्किलो र खर्चीलो सामाजिक जीवनशैली, शहरी जनसंख्या र ग्रामीण जनसंख्यामा असमानता, दलालहरुलाई विश्वास गर्दा मानव बेचबिखनमा पर्ने लगायत छन् । यसको अलावा विदेश अध्ययनमा हरेक वर्ष रकम बाहिरिने क्रम तिब्र बनिरहेको छ । 
    आ.ब.२०७९/८० मा एनओसी लिने विद्यार्थीको संख्या १ लाख १० हजार २ सय १७ रहेको थियो भने आ.ब. २०७८/०७९ मा १ लाख १२ हजार ९ सय ६८ रहेको थियो । आ.ब.२०८१/०८२ मा महिलाले श्रम स्वीकृती लिएका प्रमुख १० जिल्ला मध्ये ७ जिल्ला बागमती प्रदेशका छन् । सबैभन्दा धेरै झापाबाट महिलाहरु विदेश गएका छन् । दोश्रोमा मोरङबाट छन् । बागमती प्रदेशका सिन्धुपाल्चोक, मकवानपुर, चितवन, काभ्रे, काठमाडौ, नुवाकोट, धादिङ लगायत ७ वटा जिल्लाबाट धेरै महिला विदेश गएका छन् । सुनसरी १० औ जिल्लामा पर्छ ।