2026 August 17/ 01:05: 41pm

    पनौती/स्वास्थ्य समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान भन्ने नाराका साथ पनौती नगरपालिकाले २२ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ ।
     दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने स्वयंसेवकलाई पुरस्कृत गरिएको छ भने समयावधि पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान सहित विदाई गरिएको छ । नगरपालिकामा कार्यरत १ सय ४ जना महिला स्वयंसेविकाहरुलाई सम्मानपत्र, ब्याग र पछ्यौरा सहित सम्मान गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत जनक केसीले जानकारी दिए । यस्तै हरेक वडामा उत्कृष्ट कार्य गर्ने १/१ जना महिला स्वास्थ्य स्वयंसेवीलाई नगद सहित सम्मान गरिएको छ । १२ जना स्वास्थ्य स्वयंसेविकालाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको हो । महिला स्वास्थ्य स्वयंसेविका दिवसकै अवसर पारेर ३ जनालाई सम्मान सहित विदाई गरिएको छ । उमेर हदका कारण ६० वर्ष उमेर पुगेका ३ जना स्वयंसेवकलाई विदाई गरिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताए ।
    सबै महिला स्वयं सेविकहरुको भूमिकालाई स्मरण गर्दै थप प्रोत्साहन गर्न ब्याग र पछ्यौरा सहित सम्मान कार्यक्रम आयोजना गरिएको पनौती नगरपालिका उप–प्रमुख गीता बञ्जाराले बताइन । कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, उप–प्रमुख गीता बञ्जारा, जनस्वास्य कार्यलयका प्रमुख रागिश्री कक्षपती श्रेष्ठ, सामाजिक विकास समिति संयोजक विपिन लामा, वडा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख जनक केसी,  विभिन्न शाखाका शाखा प्रमुख, फोकल व्यक्ति तथा महिला स्वास्थ्य स्वयंसेवकहरुको उपस्थिति रहेको थियो ।     पनौती नगरपालिकाले स्वास्थ्य स्वयंसेवकलाई मासिक यातायात खर्च उपलब्ध गराउने गरेको छ भने क्षमता अभिवृद्धि कार्यक्रम र अध्ययन अवलोकन भ्रमण गराउँदै आएको नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिए । विमा प्रिमियमको ५० प्रतिशत रकम नगरपालिकाले नै भुक्तानी दिने गरेको छ । यस्तै वागमती प्रदेश सरकारले प्रोत्साहन रकम उपलब्ध गराउने गरेको छ भने संघीय सरकारले पोशाक भत्ता र यातायात खर्च उपलब्ध गराउँदै आएको छ । महिला, बालबालिका, सुत्केरी÷गर्भवती महिलाहरुको स्वास्थ्य प्रवद्र्धनमा स्वास्थ्य स्वयंसेविकाको भुमिका महत्वपूर्ण रहेको उपप्रमुख गिता बञ्जाराले बताईन् । उनीहरुकै कारण बाल मृत्यु, मातृमृत्यु शुन्य भएको बन्जाराले बताईन् । महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्य क्षेत्रमा मेरुदण्डको रुपमा काम गरिरहेको उनको भनाई छ । कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख विनोद कुईकेल, महिला स्वयंसेविका पनौती नगर समिति सदस्य सरस्वती श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।