2026 August 19/ 07:23: 41am

    बनेपा/मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३१ औं वार्षिकोत्सवको अवसर पारेर मुख्य कार्यालय बनेपा ५ घोगेचौरमा पुस्तकालय संचालन गरेको छ ।
    पुस्तकालयको उद्घाटन जनमत प्रकाशन प्रालिका अध्यक्ष एवं वरिष्ठ साहित्यकार मोहन दुवालले गरेका थिए । दुवालले साहित्य र संस्कृति जोगाउन पुस्तकालयको अति नै महत्व रहेको बताउँदै मनकामना बचत तथा ऋण सहकारीले गरेको कार्यको प्रशंसा गरेका थिए । दुवालले पुस्तकको हेला गर्नेको कहिले पनि प्रगति नहुने र पुस्तकलाई माया गर्नु पर्ने बताए । साकोसले स्थापना गरेको पुस्तकलायलाई आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । 
    कार्यक्रममा संस्थाका सल्लाहकार बालकृष्ण दाहालले आफुले सहकारी स्थापना गर्दा २ वटा लक्ष्य राखेको बताउँदै उक्त २ वटै लक्ष्य ३१ वर्ष पछि पूरा भएको बताए । पहिलो संस्थाको आफ्नै भवन र भवनमा पुस्तकालयको स्थापना रहेकोमा दुवै पूरा भएको दाहालले बताए । सहकारी क्षेत्रमा पहिलो पटक पुस्तकालयको स्थापना गरेको र यसलाई थप ब्यबस्थित गर्दै जाने दाहालले बताए । कार्यक्रममा संस्थाका अध्यक्ष गोपाल प्रसाद घिमिरेले सहकारीको मुख्य काम आर्थिक गतिविधिहरु भए पनि ज्ञान बढाउने काम पनि प्राथमिकतामा रहेको बताए । घिमिरेले पैसा आफैंमा ठूलो कुरा भएको भए पनि त्यो भन्दा ठूलो कुरा ज्ञान भएकाले पुस्तकालयले मानिसमा ज्ञानको बृद्धिमा सहयोग गर्ने बताए । 
    कार्यक्रमका बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, शब्दयात्रा प्रकाशनका अध्यक्ष एवं वरिष्ठ साहित्यकार हरि मञ्जुश्री, कानुनी सल्लाहकार बुद्धरत्न मानन्धर, संस्थाका प्रमुख कार्यकारी अधिकृत सिताराम तिमल्सिना, वरिष्ठ प्रबन्धक सुजन जंगम, जिल्ला सहकारी संघ काभ्रेका कोषाध्यक्ष अर्जुन सापकोटा, संस्थाका संचालक समितिका सदस्यहरु, कर्मचारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष विदुर प्रसाद घिमिरेले राखेका थिए भने सभापतित्व अध्यक्ष गोपाल प्रसाद घिमिरेले गरेका थिए । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सिताराम तिमल्सिनाले संस्थाको मुख्य कार्यालय बनेपा ५ मा र सेवा केन्द्रहरु कौशलटार, कोटेश्वर, बेथान्चोक, बनेपाको गोदामचोक, पाँचखालबाट कारोबार गर्दै आएको बताए । 
    संस्थाको २०८२ कार्तिक ३० गते सम्म कुल शेयर पुजीं १६ करोड २९ लाख ५७ हजार, कुल बचत १ अर्ब ९५ करोड, २० लाख ७० हजार, जगेडा कोष १२ करोड ३४ लाख ७९ हजार, ऋण लगानी १ अर्ब ७८ करोड ३२ लाख  ६४ हजार रहेको तिमल्सिनाले बताए । संस्थाले सदस्य लक्षित कार्यहरु गर्दै आएको तिमल्सिनाले बताए ।