धुलिखेल/जनस्वास्थ्य कार्यालय काभ्रेले जिल्लाका १३ पालिकामा भईरहेका स्वास्थ्यका गतिविधिहरुको सूचनाको अवस्था, ब्यवस्थापन गर्ने प्रणाली तथा अवस्थाका बारेमा जानकारी गराएको छ ।
तीन तहकै सरकारले स्वास्थ्य क्षेत्रमा गरिरहेका गतिविधिहरु उक्त प्रणालीमा राख्ने गरिन्छ । तर केहि पालिकाहरुले भने त्यसलाई कम प्राथमिकता दिने गरेको तथ्यांकले देखाएको छ । ‘स्वास्थ्य ब्यवस्थापन सूचना प्रणालीका बारेमा पटक पटक स्थानीय तहका स्वास्थ्य शाखाहरुलाई जानकारी गराईएको छ’–जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले भनिन–‘नियमित सूचना प्रणालीले बालबालिका तथा युवा किशोर किशोरीहरुका साथै जेष्ठ नागरिकहरुको अवस्था, समुदायमा स्वास्थ्यका बारेमा भईरहेका गतिविधि तथा सर्ने र नसर्ने रोगहरुको अवस्था, मातृ शिशु तथा गर्भवती, सुत्केरी महिलाहरुको अवस्थाका बारेमा समेत जानकारी हुन्छ । प्रकोपजन्य अवस्था सिर्जना भएमा तत्काल त्यसको पहिचान, उपचार र रोकथाम गर्न सकिन्छ ।’ जिल्लामा आयोजित आर्थिक वर्ष २०८१/०८२ को समिक्षा कार्यक्रममा १३ वटै पालिकाको तीन वर्षको स्वास्थ्य ब्यवस्थापन सूचना प्रणालीका बारेमा जानकारी गराईएको थियो ।
आर्थिक वर्ष २०८१/०८२ मा चौरीदेउराली गाउँपालिकाले ८८ प्रतिशत, भुम्लु गाउँपालिकाले ८५ प्रतिशत, मण्डनदेउपुर नगरपालिकाले ७५ प्रतिशत स्वास्थ्य ब्यवस्थापन सूचना प्रणालीमा जानकारी गराएको छ । त्यस्तै बनेपाले ८९, धुलिखेलले ८९, पाँचखालले ९२, तेमालले ९६, नमोबुद्धले ९३, पनौतीले ८३, बेथान्चोकले ८८, महाभारतले ६८, खानीखोलाले ५४ प्रतिशत सूचना प्रणालीमा समावेश भएको तथ्यांक छ । समग्र काभ्रेपलाञ्चोक जिल्लाले ८४ प्रतिशत प्राप्त गरेको छ । यहि आधारमा प्रदेश अन्र्तगत काभ्रेपलाञ्चोक जिल्ला प्रथम भएको छ ।





