धुलिखेल/चालु आर्थिक वर्षको चौमासिकसम्म जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नयाँ नागरिकता लिनेको संख्या २ हजार ५ सय ३० पुगेको छ । नयाँ भन्दा प्रतिलिपी लिनेको संख्या धेरै छ । चार महिनाको अवधीमा ३ हजार ६ सय १६ जनाले प्रतिलिपि नागरिकता लिएका छन् ।
‘राष्ट्रिय परिचयपत्रका लागि आवश्यक पर्ने तथ्यांक स्पष्ट खुल्नुपर्ने भएकाले पुराना भएका नागरिकतामा अस्पष्ट भएका विवरणहरु देखिनका लागि प्रतिलिपी लिनेहरुको संख्या बढेको हो’–जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले भने–‘कार्तिक महिनामा मात्रै नयाँ नागरिकता ६ सय ८६ जनाले लिएका छन् भने प्रतिलिपी नागरिकता ८ सय ५६ जनाले लिएका छन् ।’ चार महिनामा १३ जनाले नागरिकता परित्याग गरेका छन् । ८ जनालाई गैह् आवासीय नागरिकता जारी गरिएको छ । ४ जनाको नागरिकता रद्द गरिएको छ भने १ जनाले अंगीकृत नागरिकता लिएका छन् ।
राष्ट्रिय परिचयपत्र सबै क्षेत्रमा अनिवार्य जस्तै भएपछि चार महिनाको अवधीमा जिल्लामा १० हजार ६ सय ४ जनाले फोटो खिचाएका छन् । कार्तिक महिनामा मात्रै २ हजार २ सय ९२ जनाले फोटो खिचाएका छन् । चौमासिकमा २ हजार ८ सय ५९ जनाले परिचयपत्रको कार्ड लिएका छन् ।
देशभर राहदानीको संकट छ । जिल्लामा पनि त्यसको असर देखिएको छ । राहदानी सहज नहुँदा पनि राहदानीका लागि फोटो खिचाउनेहरु चार महिनाको अवधीमा ४ हजार ६ सय ४६ जना भए । करिब १ हजार भन्दा धेरैले द्रुत मार्गबाट राहदानीका लागि विवरण खिचाएका छन् । कार्तिक महिनामा ९ सय २ जनाले फोटो खिचाएका छन् । यो अवधीमा ३ हजार ५ सय ६६ जनाले राहदानी कार्ड प्राप्त गरेका छन् । कार्तिक महिनामा २ सय ११ जनाले राहदानी लिएका छन् । मंसिर १० गतेसम्मको तथ्यांकका आधारमा करिब १५ सय नागरिकले राहदानी पाएका छैनन् ।









