2026 August 18/ 05:39: 36pm

    बनेपा/बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 
    साधारण सभाको एकाई बैठकबाट भएका निर्णयहरुलाई एकाई प्रतिनिधिहरुको निर्णय प्रमाणित सभाले पारित गरेसँगै संस्थाको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका, २०७६ बमोजिम एकै साथ एकै समय तालिकामा साधारण सभाको चारवटा एकाई बैठकको आयोजना गरी समान कार्य सूचीहरु उपर छलफल गरी मंसिर ६ गते एकाई बैठकहरु सम्पन्न गरेको थियो । साधारण सभाको एकाई बैठकहरुमा कुल सदस्य संख्याको ५६ दशमलब २१ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो ।
    सभाले आर्थिक वर्ष ०८१/०८२ को मुनाफाबाट सदस्यहरुलाई ८ प्रतिशतका दरले लाभांश र संरक्षित पूँजी फिर्ता कोषमार्फत सदस्यहरुले बचतमा गरेको योगदानको लागि २.८ प्रतिशत र ऋणमा गरेको योगदानको लागि २.५ प्रतिशतका दरले अतिरिक्त लाभ वितरण गर्ने निर्णय गरेको छ । साधारण सभाले संस्थाको आफ्नै भवन निर्माण गर्न र सदस्यहरुको शेयर रकम समान रुपमा दश हजार कायम गर्न संचालक समितिलाई जिम्मेवारी दिएको छ ।
    सभामा पेश गरिएको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०८१/०८२ मा ४ करोड १७ लाख ८४ हजार ६ सय ७२ मूनाफा गरेको छ । सोही अवधिमा संस्थाको कुल सम्पत्ति २ अर्ब १२ करोड ७७ लाख २० हजार २ सय  बचत हिसाब १ अर्ब ७२ करोड १७ लाख १० हजार,  शेयर पूँजी १७ करोड २१ लाख ८९ हजार संस्थागत पूँजी १८ करोड ४५ लाख ६८ हजार, लगानीमा रहेको ऋण १ अर्ब ३४ करोड ४९ लाख ३२ हजार रहेको प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले बताए । 
    सभामा संस्थाका अध्यक्ष कैलाश केसीको सभापतित्वमा भएको थियो । एकाई सभाहरुमा संस्थाले गरेका विभिन्न गतिविधिहरुका बारेमा जानकारी दिईएको थियो । संस्थाले आर्थिक सुरक्षा कार्यक्रम, दुर्घटनमा वीमा, मृत्यु राहत सहयोग, उपचार खर्च, सदस्य शिक्षा शिबिर, विद्यालयमा बुसा कार्यक्रम, क्षमता विकास तालिम, एसईई सम्मान, महिला भेला, जेष्ठ नागरीक सम्मान, अन्र्तक्रिया, रक्तदान, हाजिरी जवाफ, तिर्थाटन लगायतका विविध कार्यक्रमहरु गर्दै आएको बताईएको थियो ।