बनेपा/जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप ७ जना पक्राउ परेका छन् । यसअघि प्रहरीले ११ जना पक्राउ गरी कानूनी प्रकृयामा ल्याएको थियो । पक्राउ परेकाहरु अधिकांश पहिले कुनै न कुनै अपराधमा संलग्न भएको प्रहरीले पुष्टि गरेको छ ।
२०८२ भाद्र २४ गते काभ्रेपलान्चोक जिल्लाका विभिन्न सरकारी तथा निजी संरचना भवन र सम्पत्ति माथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न थप ७ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । पक्राउ पर्नेमा पनौती नगरपालिका ३ का २८ बर्षिय अनिष सापकोटा, वडा नम्बर ८ का २६ बर्षिय सुमन केसी, बनेपा नगरपालिका वडा नम्बर १० का २१ बर्षिय साकार खत्री, पनौती वडा नम्बर २ का २४ बर्षिय स्यान्जी भन्ने सुवाष तामाङ, बेथानचोक गाउँपालिका–६ का १९ बर्षिय समीर तामाङ, बेथान्चोक गाउँपालिका वडा नम्बर ३ का ३२ बर्षिय रमेश भनेर बोलाउने चिउरे भनिने होमप्रसाद तिमल्सिना र महाभारत गाउँपालिका–४ का २३ बर्षिय ङेमासाङ मुक्तान रहेका छन् ।
पनौती–३ का अनिष सापकोटा विरुद्ध यसअघि समेत मुद्दा दर्ता भएको थियो । २०७२ सालमा अभद्र व्यवहार मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनपछि पनि सापकोटा सामाजिक सञ्जालमा विभिन्न धम्की दिँदै गालीगलौजमा उत्रिएका थिए । केहि महिना अघि उनले लेखापढी ब्यवसायीलाई समेत धम्की दिँदै आक्रमणको प्रयास गरेका थिए । बेथानचोकका होमप्रसाद तिमल्सिनाविरुद्ध पनि २०८१ सालमा अभद्र व्यवहार गरेको भन्दै मुद्दा दर्ता भएको थियो । पनौती–२ का सुवास तामाङ विरुद्ध तीनपटक चोरी मुद्दा दर्ता भएको छ । २०८१ सालमा दुई पटक र २०८२ मा एक पटक गरी तीन पटक चोरी मुद्दामा उनि पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक र मातहत प्रहरी इकाईहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले अपराधिक कार्यमा संलग्नहरुलाई पक्राउ गर्न सक्रियता देखाएको छ ।
उता प्रहरी मारेको अभियोगमा पनि काभ्रेका एक पक्राउ परेका छन् । उनी पुर्पक्षका लागि थुनामा गएका छन् । त्यस्तै भक्तपुर प्रहरी चौकी जलाउने मध्येका काभ्रेका तीन जनाले आत्मसमर्पण गरेका छन् । प्रहरीका अनुसार आत्मसमर्पण गर्नेहरूमा काभ्रेपलाञ्चोक भुम्लु–३ का ३४ वर्षीय रामशरण परियार, बनेपा–४ घर भई हाल भक्तपुर हनुमानघाट बस्ने ३२ वर्षीय रुपक परियार र सर्लाही लालबन्दी–६ घर भई हनुमानघाटमै बस्ने २६ वर्षीय होमबहादुर खत्री रहेका छन् । त्यस्तै, काभ्रे नमोबुद्ध–१ घर भई हाल ब्रम्हायणी बस्ने २२ वर्षीय अमृत सुनुवार र महोत्तरी सोनाम–८ घर भई हाल बम्हायणीमै बस्ने १८ वर्षीय प्रल्हादकुमार ठाकुरले पनि आत्मसमर्पण गरेका छन् । यसैगरी, भक्तपुर नगरपालिका–८ का २३ वर्षीय राजन माक, सर्लाही घर भई हाल भक्तपुर भातेढिकुर बस्ने १६ वर्षीय सरोज बम्जन र काभ्रे नमोबुद्ध–६ घर भई हाल भातेढिकुरमै बस्ने २२ वर्षीय विकास तामाङले समेत आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । यीमध्ये पनि केहि पहिले पनि अपराधमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेकाहरुको अभियोग के हो ?
पनौती ३ का अनिश सापकोटाले भिडलाई उत्तेजित बनाएको, प्रहरीको समान बोकी भीडमा संलग्न भएर हिडेको अभियोग छ । त्यसअघि उनी नेकपा एमाले, नेपाली काँग्रेसको पार्टी कार्यालयका साथै ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय तोडफोड र आगजनीमा संलग्न भएका थिए । बनेपा १० का साकार खत्रीले इलाका प्रहरी कार्यालय तोडफोड र आगजनी गरे पछि प्रहरीको पोषाक लगाई हिडेका थिए । आन्दोलनको क्रममा भीडमा संलग्न भई उत्तेजित बनाएका थिए । बेथान्चोक ३ घर भई बनेपामा बसोबास गर्दै आएका चिउरे भनिने होमप्रसाद तिमिल्सिना मजदुरी गर्छन । बसमा कण्डक्टर गर्दै आएका तिमल्सिनाले प्रहरी बिट तोडफोड गरेका थिए । बेथान्चोकका समिर तामाङ पनि चारदोबाटोमा रहेको प्रहरी बिट तोडफोड र आगजनीमा संलग्न भएका थिए ।
पनौती ८ घर भएका सुमन के.सी पनौतीका विभिन्न घटनामा प्रत्यक्ष र सक्रिय सहभागी थिए । पनौतीमा शिवप्रसाद हुमागाई, रामशरण भण्डारी, गिता बञ्जारा, रामेश्वर थापा, पुरुषोतम अधिकारी, भिम न्यौपाने, दिपक न्यौपाने र विमल न्यौपानको घरमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको भिडियोमा देखिन्छ । उनी भिडलाई उत्तेजित बनाउन पनि सक्रिय भएका थिए । पनौती २ का स्यान्जी भनिने सुवाष तामाङले प्रहरीको समान चोरी गरि लगेका थिए । साथै उनि पनि विभिन्न घटनामा संलग्न थिए । महाभारत गाउँपालिका घर भएका ङेमासाङ मोक्तान चारदोबाटोमा रहेको प्रहरी बिट तोडफोडमा संलग्न थिए भने आगजनी र तोडफोडमा संलग्न थिए ।
पक्राउ परेकाहरुलाई काभ्रेपलान्चोक जिल्ला अदालतबाट अपराधिक उपद्रव मुद्दामा ७ दिनको म्याद थप गरि जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकको हिरासत कक्षमा राखि अनुसन्धान भइरहेको छ । जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्नहरु विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । काभ्रेमा अपराधिक उपद्रव घटनामा संलग्न भएका मध्ये एक सय भन्दा धेरैको पहिचान भएको छ । १० वटा भन्दा धेरै जाहेरी निवेदन दर्ता भएका छन् । बनेपामा रहेको युलेन्स स्कुलका संरचनामा पनि आगलागी भएको छ । धुलिखेलमा नगर प्रमुख अशोक ब्याञ्जुको घरमा पनि आगजनी, लुटपाट र तोडफोड गरिएको छ । जिल्लामा ब्यक्तिका ९ घरमा आगजनी, तोडफोड र लुटपाट गरिएको छ भने सरकारी सम्पत्ति प्रहरी कार्यालय, नगरपालिका लगायतका संरचनामा क्षति पु¥याईएको छ ।
यी पुनः पक्राउ परेका थिए
जिल्ला अदालत काभ्रेपलाञ्चोक र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट धरौटीमा रिहा भएकाहरुलाई प्रहरीले पुनः पक्राउ गरेको थियो । धरौटी बुझाए लगत्तै प्रहरीले सोहि स्थानबाट पक्राउ गरी पुनः अभद्रमा मुद्दा दर्ता गरेको थियो । ‘जिल्ला अदालतबाट ८ जना र प्रशासन कार्यालयबाट ३ जनालाई धरौटीमा छाड्ने आदेश भएको थियो’–प्रहरीले भन्यो–‘धरौटीमा छुटे लगत्तै उनिहरुलाई पुनः पक्राउ गरिएको छ ।’ पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय बनेपाले अभद्र ब्यवहारमा म्याद थप गरेको छ । उनिहरु सबै प्रहरी कार्यालय लुटपाट, तोडफोड र आगजनीमा संलग्न भएको आशंका गरिएको छ । ति मध्ये एक राजधानीमा बैंकमा भएको नगद र सुन लुटपाटमा संलग्न थिए । उनि त्यसअघि पनि विभिन्न चोरीको घटनामा संलग्न भएको अभिलेखबाट खुलेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले सिराहा जिल्ला भगवानपुर गाउँपालिका २ का नरेशकुमार यादव, ओखलुढुंगा कटुन्जे ४ का पासाङ तामाङ । संखुवासभा मकालु गाउँपालिकाका विकास राईलाई असोज २१ गते धरौटीमा छाड्ने आदेश दिएको छ । उनिहरु सबै जना १०÷१० हजार धरौटीमा रिहा भएका थिए । रिहा भए लगत्तै उनिहरुलाई पक्राउ गरिएको थियो ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले ८ मध्ये ७ जनालाई १०÷१० हजार धरौटीमा रिहा गर्ने आदेश दिएका थिए भने एक जनालाई १५ हजार धरौटी माग गरेका थिए । सूचना अधिकारी अधिकृत अक्षयकुमार दनुवारका अनुसार उनिहरु सबैले असोज २३ गते धरौटी बुझाएर रिहा भएका थिए । रिहा भए लगत्तै प्रहरीले पुनः उनिहरुलाई पक्राउ गरी अभद्रमा मुद्दा दर्ता गरी म्याद थप गरेको थियो । शुशान्त लो, अच्युत खड्का, सिर्जन सुवाल, तिमोथी तामाङ, सन्तोष श्रेष्ठ, प्रविण कार्की र महेशकुमार मुखियालाई १० हजार र सुबास गौतमलाई १५ हजार धरौटी माग गरिएको थियो । बनेपा ९ लायकुबाट मण्डनदेउपुर ७ घर भएका सन्तोष श्रेष्ठ कटुवा पेस्तोल र ३६ राउण्ड गोली सहित २०८२ भाद्र २८ गते शनिबार पक्राउ परेका थिए । प्रहरीले उनलाई हतियारसहित पक्राउ गरेको भए पनि अभद्रमा मुद्दा दर्ता गरेको थियो । त्यस्तै बनेपा ९ नयाँबस्तिबाट हातहतियारको गोली राउण्ड सहित २०८२ भाद्र २८ र २९ गते प्रहरीले ७३० राउण्ड गोली फेला परेको थियो । २०८२ भदौं २४ गते इलाका प्रहरी कार्यालय बनेपाबाट लुटिएको गोली भएको पक्राउ परेकाहरुले बयान दिएका थिए । तर पनि प्रहरीले सबैलाई अभद्रमा मात्रै मुद्दा दर्ता गरेको थियो । बनेपा नगरपालिका ९ का अछुत खड्का, सिजन सुवाल, सुबास गौतम, बारा बनौली सखुवा ८ का महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका ६ का सुशान्त लो, तेमाल गाउँपालिका २ का तिमोथी तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका ४ का प्रविन कार्की पक्राउ परेका थिए । बनेपाका सुबास गौतमलाई काठमाडौ प्रहरी परिसरले पुनः पक्राउ गरी अनुसन्धान गरिरहेको विज्ञप्ती प्रकाशन गरेको छ ।









