पटक पटक विभिन्न अभियोगमा जेल सजायँ सुनाईएका ब्यक्तिहरु नै लुटपाट, चोरी तथा अन्य घटनामा संलग्न देखिएका छन् । घटनामा योजनाकार फरार छन् भने ओसार–पसार गर्ने नियन्त्रणमा छन् ।
धुलिखेल÷/न्दोलनका नाममा कैदीहरु फरार भए पछि समाजमा त्रास फैलिएको छ । तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न शान्ति सुरक्षाको प्रश्न पनि उठेको छ । प्रहरीका बर्दिहरु लुटिएका छन् । हतियार लुटिएका छन् । गोली गठ्ठा पनि उनिहरुसँगै छन् । एक पटक जेल बसिसकेको र फेरी बस्नै बाँकी रहेका कैदी बन्दीहरु समाजमा खुल्ला रहिरहँदा कसरी हुन सक्छ शान्ति सुरक्षा ? प्रश्न उठिरहेका बेला सजायँ तोकिएका फरार ब्यक्तिहरुको योजनामा चोरी लगायतका अपराधका घटना हुन थालेको छ ।
जतिखेर राज्य विहीनताको अवस्था बन्यो त्यतिबेला झनै धेरै अपराधका घटनाहरु भए । भदौ २४ गतेको ध्वंसात्मक अपराधको श्रृंखला निरन्तर चलिरह्यो । हालसम्म पनि अपराधमा संलग्नहरुलाई प्रहरीले पक्राउ नगरेकै कारण समुदायमा त्यस्ता ब्यक्तिहरुबाट हुन सक्ने अपराधको त्रास फैलिरहेको छ । बन्द रहेको उद्योगबाट समेत सामानहरु लुटि चोरी गरी कवाडीमा विक्री गर्ने मध्येका मुख्य योजनाकार विकास तामाङ, सन्तोष मगर, झ्याप्ले भन्ने सुशिल तामाङ र सुबास तामाङ फरार छन् । उनिहरुको एकीन वतन पनि खुलेको छैन । भरिया र काममा प्रयोग गरिएकाहरु पक्राउ परेका छन् । ६० लाख २० हजार बराबरको बिगो कायम गरिएको प्राईम नुडल्स फुड्स प्रालि नामक कारखानाबाट चोरी भएका सामानहरुको डाँका सम्बन्धी मुद्दामा त्यस्तै देखिएको छ ।
प्रहरीले २०८२ भदौ २७ गते साँझको समयमा धुलिखेल नगरपालिका वडा नम्वर ६ मा रहेको उक्त कारखानाबाट स्टिलको क्याईसन बक्स एक सेट, स्टिलको नेट जाली थान १, स्टिलको रोलर थान १, पाईनल बोर्ड थान १, मोटर थान १, प्याकिङ फाईनल मेसिन बोर्ड थान १, कुलिङ्ग थान १, एसि ड्राईभ मेसिन थान १, बत्तिको ट्रान्सफरमर मेसिन थान १ लगायतका मेशिनका अन्य पार्टपुर्जाहरु समेत गरी ६० लाख २० हजार रुपैया बराबरको सामान चोरी भएको थियो । यता जेन्जी आन्दोलनले मुलुक शिथिल थियो । भदौ २४ गतेको लुटपाटलाई निरन्तरता दिदै उक्त समुहले धुलिखेलमा बन्द अवस्थामा रहेको उक्त उद्योगबाट गाडी रिजर्भ गरेरै सामान चोरी गरेको थियो । २०८२ भदौ २८ गते चोरी भएका सामानहरु मध्ये केहि सामान बा २१ च ६९१८ नम्वरको बोलेरी गाडीमा राखेर लिई हिडेको अवस्थामा गाडीमा सवार रहेका फोर्साङ घिसिङ, मनिष विक, विवेक मिजार, सोम तामाङ र पूर्णचन्द्र राईलाई फेला पारी नियन्त्रणमा लिईएको थियो । चाउचाउ उत्पादन गर्न आवश्यक पर्ने अन्य केहि मेशिन र सामानहरु चोरी गरिएको जाहेरीमा उल्लेख थियो । धुलिखेल नगरपालिका वडा नम्वर ६ चौकोटमा रहेको उक्त कारखानाबाट सामान चोरी गरी धुलिखेल नगरपालिका वडा नम्बर ५ श्रीखण्डपुर हुँदै अन्यत्र लैजाने क्रममा फेला परेको थियो ।
संखुवासभा श्रीचुङ गाउँपालिका वडा नम्वर २ घर भई बनेपा नगरपालिका वडा नम्वर ५ चण्डेश्वरी मार्गमा डेरागरी बस्ने ३६ बर्षिय प्रकाश भन्ने पूर्णचन्द्र राई, महाभारत गाउँपालिका वडा नम्वर ३ सिलोनटारटोल घर भएका २६ बर्षिय फोर्साङ घिसिङ भन्ने फुर्साङ लामा तामाङ, पनौती नगरपालिका ९ सुन्थानटोल घर भएका २७ बर्षिय विवेक मिजार, पनौती ९ सुन्थानटोलकै २७ बर्षिय मनिष विश्वकर्मा र खानिखोला गाउँपालिका वडा नम्वर १ घर भई धुलिखेल ५ फुटसल नजिकै डेरा गरी बस्ने २२ बर्षिय सोम तामाङ भन्ने समबहादुर घिसिङ पक्राउ परेका थिए । उनिहरु मध्ये विवेक मिजार काभ्रेपलाञ्चोक जिल्ला अदालतमा दायर भएको लागु औषध (मुद्दा नम्वर ०७९–सि १–००९६) मुद्दामा १ महिना १५ दिन कैद र २ हजार जरिवाना ठहर भएका ब्यक्ति हुन् । २०७९ फागुन २९ गते उक्त फैसला भएको थियो । मनिष विश्वकर्मा काभ्रेपलाञ्चोक जिल्ला अदालतमा दायर भएको चोरी सम्बन्धी कसूर मुद्दामा २०८२ जेठ १४ गते आंशिक अभियोगदावी पुग्ने ठहर गरिएको थियो । उनी चोरी सम्बन्धि कसुरदार ठहर भएका ब्यक्ति थिए ।
पूर्णचन्द्र राई शुरुमा बनेपामा डेरा लिएर बसेका थिए । घर बनाउने मिस्त्रीको काम गरेर बसिरहेको समयमा काम गर्ने साईडमा काम नभएकाले उनि २०८२ भदौ २७ गते विहान धुलिखेलमा थिए । सुतिरहेका समयमा रामेछाप लिखुतामाकोशी घर भई हाल धुलिखेल नगरपालिका ५ खड्पुमा डेरागरी बस्ने सन्तोष मगरले पहिले पनि प्राईम नुडल्स एण्ड प्रालीबाट कवाडी सामान लोड गरेर विक्री गरहेको समयमा कवाडी सामान लोड गरेको घण्टाको १ हजार दिईसकेकाले उक्त दिन पनि आउन भनेकाले जाने निधो गरेका थिए । सोहि समयमा पूर्णचन्द्र राईसँगै विकास तामाङ, सन्तोष मगर, सोम तामाङ, झ्याप्ले भन्ने सुशिल तामाङले सामान लिएर लोड गराएका थिए । झ्याप्ले भन्ने सुशिल तामाङले कवाडी बेच्ने ठाउँमा आफै साहु रहेको बताएका थिए । कवाडी विक्री गर्ने स्थानमा झ्याप्लेले अरुलाई लैजाने गरेको थिएन । गोदामचोकमा खाना खाएर सबै टोली खड्पुमा गएर जम्मा भएको थियो । ७ जना ब्यक्तिहरुको समुह उक्त कारखानामा पुगेर धमाधम सामान निकाले पछि गाडी बोलाएका थिए । गाडीमा सामान लोड गरेर ल्याउने क्रममा खड्पु पुलमा स्थानीयले रोके । गाडी रोके लगत्तै विकास तामाङ र अर्का एक नाम नखुलेका ब्यक्ति भागिसकेका थिए । पछि उनिहरुले प्रहरी बोलाएर हामीलाई गाडी, सामान सहित बुझाएका थिए । मनिष र विवेकले साथीको बर्थडे मनाएर फर्कने क्रममा सामान लोड गर्न सहयोग गरे बापत्को रकम दिन्छु भनेकाले सहयोग गरेको बयान दिएका छन् । सोम तामाङलाई सन्तोष मगरले कवाडी सामान लोड गरेको १५ सय दिन्छु भनेर लगेका थिए । उनलाई सन्तोष मगरले १७ सय रुपैयाँ दिइसकेका थिए । उनि रिक्सा चालक हुन् ।
विवेक मिजारलाई डाँकाको कसूरमा थप सजाय हुनेछ भने मनिष विश्वकर्मालाई अन्य पक्राउ परेका फुर्साङ्ग लामा तामाङ, समबहादुर घिसिङ्ग र पूर्णचन्द्र राई समेतलाई डाँकाको कसुरमा सजाय हुनेछ । वा २१ च ६९१८ नम्वरको बोलेरो गाडी चोरीका सामान ओसारपसारमा प्रयोग गरिएको भए पनि जिल्ला सरकारी वकिल कार्यालय काभ्रेले सवारी धनी विजयराम अवाले प्रजापतिले चालक फुर्साङ्ग लामा तामाङलाई चलाउन दिएको र चालक तामाङले कवाडीको सामान बोक्ने टिप आएकाले गएको भन्ने बयना दिएका आधारमा गाडि जफतको मागदावी लिएन । २०८२ असोज २२ गते उक्त मुद्दा जिल्ला अदालतमा पेश गरिएको थियो । डाँका सम्वन्धी कसुरमा ५ वर्ष देखि दश वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँ जरिवानाका साथै विगोको मूल्य बराबरको क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेछ । उक्त उद्योगका लागि हिमालयन बंैकको शाखा कार्यालय बनेपाले ऋण प्रवाह गरेको थियो । २ वर्ष अघि देखि उद्योग पूर्ण रुपमा बन्द थियो । काभ्रेपलाञ्चोक जिल्लामा यस्ता अपराधमा संलग्न भएकाहरु नै दर्जनौ फरार छन् । कैद ठेकिएका पनि करिब एक सय अझै जेल बाहिर छन् ।





