– १५८ घर परिवार जोखिममा, ६२ घर प्रभावित
धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा असोज १७–१९ सम्म परेको वर्षातका कारण विभिन्न क्षेत्रमा पुगेको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्ला विपद ब्यवस्थापन समिति मार्फत क्षतिको विवरण एकिन गरी राहत, क्षतिपुर्ति तथा पुर्नस्थापना र पुर्ननिर्माणको कार्य प्रारम्भ गरेको बताएको छ ।
२०८२ असोज १७–१९ मा परेको वर्षातले जिल्लाको रोशी गाउँपालिकामा एक जनाले ज्यान गुमाउनु परेको छ । सुख्खा पहिरोका कारण ढुंगाले लागेर एक ब्यक्तिको निधन भएको प्रहरीले बताएको छ । नमोबुद्ध नगरपालिका वडा नम्वर ५ कानपुरमा घर पल्टँदा एक जना घाईते भएका थिए । उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि लगिएको थियो । केहि दिन पछि महाभारत गाउँपालिकामा पनि एक जना घाईते भएका थिए । उनी चाँहि वर्षातका कारण नभएको प्रहरीले बताएको छ । वर्षातका कारण बनेपा नगरपालिका क्षेत्रमा १ सय ६० रोपनी जमिनमा लगाएको कृषि बाली नस्ट भएको छ ।
जिल्लामा महाभारत गाउँपालिकामा २४ घर पुर्ण रुपमा क्षति भएका छन् भने ३ वटा घर आँंशिक रुपमा क्षति भएका छन् । बेथान्चोक गाउँपालिकामा २ वटा घर पूर्ण र ४ वटा घर आँशिक क्षति भएका छन् । धुलिखेलमा २ घर पूर्ण क्षति भए । पाँचखालमा ५ घर पूर्ण र ६ घर आँंशिक क्षति भए । मण्डनदेउपुरमा २ घर पूर्ण र ४ घर आँशिक रुपमा क्षति भए । पनौती नगरपालिकामा २ घर पूर्ण क्षति भए भने नमोबुद्ध नगरपालिकामा ३ घर पूर्ण क्षति भए । जिल्लाका १३ पालिकामा ४० घर पूर्ण र २२ घर आँशिक क्षति भए । महाभारतका १० वटा गोठ र मण्डनदेउपुरका २ वटा गोठ गरी १२ वटा गोठ क्षति भए । महाभारत गाउँपालिकाका २७, भुम्लु गाउँपालिकाका ५, बेथान्चोक गाउँपालिका ६, धुलिखेल नगरपालिकाका २, पाँचखालका ११, मण्डनदेउपुर नगरपालिकाका ६, पनौती नगरपालिकाका २ घर र नमोबुद्ध नगरपालिकाका ३ घर परिवार प्रभावित भएका छन् भने चौरीदेउराली गाउँपालिकाका २६, मण्डनदेउपुर नगरपालिकाका १ सय ३२ घर परिवार गरी १ सय ५८ घर परिवार जोखिममा रहेका छन् ।
महाभारत गाउँपालिकामा ९४ किमी, बेथान्चोक गाउँपालिकामा ६ किमी, खानीखोला गाउँपालिकामा ७ किमी, रोशी गाउँपालिकामा ४ सय ६५ मिटर, बनेपा नगरपालिकामा ३ किमी, मण्डनदेउपुर नगरपालिकामा २० किमी सडकमा क्षति पुगेको बतार्ईएको छ । विपी राजमार्गको चौकीडाँडा खण्ड नमोबुद्ध नगरपालिका र रोशीको सिमानामा क्षति पुगेको छ । बनेपा नगरपालिका अन्र्तगत अरनिको राजगमार्गको पुलबजारमा रहेको खण्डमा पुलमा क्षति पुगेको छ । महाभारत गाउँपालिकाका २० वटा पोल ढलेका छन् । खानीखोला र बेथान्चोक लगायतका पालिकाहरुमा पनि दर्जनौ स्थानमा पोलहरु ढलेका थिए । रोशी अस्थायी चौकी वर्षातका कारण चर्किएको छ ।









