धुलिखेल/देशभर झै काभ्रेमा पनि कैदीहरु खुलेआम छन् । तथ्यांकले भन्छ काभ्रेपलाञ्चोक ठेगाना भएका करिब २ सय कैदीहरु अझै समुदायमा छन् । प्रहरीले भनेको छ–‘कैदीहरु लुकाएर नराखौं । लुकेर बसेका कैदीहरुबाट हुन सक्ने सम्भावित अपराधबाट जोगिउँं ।’
२ सय ७९ कैदी भागेर काभ्रेका आएका थिए । भाद्र २४ गते जेलबाट भागेका मध्ये आफै ३३ जना नख्खु कारागार फर्किए । २ जना डिल्लीबजार फर्किए । ५० जनालाई काभ्रे प्रहरीले पक्राउ गरेर बुझाएको छ । बाँकी रहेका १ सय ९४ जना अझै समुदायमा छन् । जेलबाट फर्किएर आएका पनौती १२ रोशी घर भएका एक जनाले श्रीमतीको हत्या गरेर आफै जेल फर्किए । ठमेलमा अर्का एक कैदीले साथीको हत्या गरे । अन्यत्र जिल्लामा जुन जुन अभियोगमा जेल परेका थिए त्यहि अपराधमा संलग्न भए ।
रास्वपा सभापति समेत रहेका रवि लामिछानेलाई जेलबाट बाहिर निकाल्ने अभियानका कारण देशभरबाटै कैदीहरु भाग्ने क्रम शुरु भयो । रवि लामिछानेलाई छाड्न मिल्ने अरुलाई किन नमिल्ने ? कैदीहरुले भनेका थिए । भाद्र २४ र २५ गते देशभरबाट कैदीहरु भागे । अझै ५ हजार भन्दा धेरै कैदीहरु जेल बाहिर नै छन् । कारागार प्रशासनले पटक–पटक सहुलियत सुविधा सहितको सूचना आब्हान ग¥यो तर पनि कैदीहरु जेल फर्किएका छैनन् । कैदीहरु अन्य मुलुक जान सक्ने भन्दै केहि मुलुकहरुले रोजगारका लागि भिषा बन्द गरे । छिमेकी देश भारतले पनि सिमा नाकामा कडाई ग¥यो ।
उता प्रहरी चौकीबाट हतियार र गोली लुटिएको यता कारागारबाट कैदी भागेका कारण समाजमा उत्पन्न त्रासलाई प्रहरीले न्यूनीकरण गर्न गस्ति र कैदी तथा लुटिएका हतियार खोजतलासलाई तिब्र बनाएको एसपी कोमल शाहले बताए ।









