धुलिखेल/स्थानीय सरकार गठन भएको वर्ष नै नेपालमा पहिलो पटक धुलिखेल नगरपालिकाले विभिन्न क्षेत्रको विकासका लागि परिषद् गठन गरी अन्तराष्ट्रिय स्तरमा समेत धुलिखेललाई चिनाउने अभियानलाई निरन्तरता दिँदै धुलिखेल नगरपालिका भित्रका ‘जेनजी पुस्ता’का युवाहरुको सम्मेलन गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले नियमित आयोजना गर्ने कार्यपालिका बैठकबाट उक्त निर्णय गरेको हो । ‘कार्यपालिका बैठकले जेनजी पुस्ताका युवाहरुको सम्मेलन गर्ने निर्णय गरेको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘सम्मेलनमा युवाका समस्या, गुनासा, चाहना र योगदानलाई नगरको विकासमा संलग्न गराउने र नगरको विकासको मुलधारमा समाहित गर्ने उद्देश्यले अभिमत सर्वेक्षण सहित उनिहरुको भावना र योग्यताको पहिचान गर्ने र युवा मैत्री शहर बनाउने निर्णय भएको छ ।’
धुलिखेल नगरपालिकाले स्थानीय सरकार गठन भए लगत्तै कानून निर्माण गरेरै युवा, महिला, दलित, अपाङ्गता र आदिवासी जनजाती परिषद् गठन गरेर विभिन्न कार्यहरु गर्दै आएको छ । सोहि परिषद्हरु मार्फत धुलिखेल नगर क्षेत्रका २ हजार २ सय नागरिकहरुले सीपमूलक तालिम प्राप्त गरेका छन् । तालिम प्राप्त गरेका केहि ब्यक्तिहरु आय–आर्जनमा केन्द्रित हुँदै आत्मनिर्भर बनेका छन् । सोहि कार्यलाई नगरपालिकाले हरेक वर्ष फरक फरक ढंगबाट अगाडी बढाउँदै आएको छ ।
धुलिखेल नेपालकै पहिलो युवा मैत्री शहर पनि हो । स्वस्थ शहर पनि धुलिखेल नेपालमा पहिले हो । बालमैत्री शहर बागमती प्रदेशमा तेश्रो हो । युवाहरुलाई सीप र सशक्तिकरणका माध्यमले नगर क्षेत्रको गरिबी प्रतिशत पनि घटेको छ । ९ प्रतिशत गरिबी घटाउँदै स्वस्थ शहर, एक घर एक खानेपानी भएको नगर, साक्षर तथा पूर्ण खोप सुनिश्चित भएको शहर, वातावरणमैत्री शहर निर्माण गरेको छ । नगरकार्यपालिका बैठकमा उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । विश्व पर्यटन दिवसको अवसर पारी शनिबार मात्रै नगरपालिकाले पर्यटन परिषद गठन गरेको छ । छिट्टै उद्योग ब्यवसाय सम्वन्धी परिषद् गठन गर्ने गरी कानून निर्माण गरिरहेको छ ।









