2026 August 17/ 08:52: 07pm

    धुलिखेल/असोज १८ र १९ गते परेको अबिरल वर्षात्का कारण जिल्लामा दुई जनाको निधन भएको छ भने तीन जना घाईते भएका छन् । 
    असोज १९ गते साँझ सुख्खा पहिरोका कारण ढुंगाले लागेर रोशी ११ भैसेमा ५६ बर्षिया विमलादेवी तामाङको निधन भएको छ भने असोज २० गते रोशी खोलाले बगाएर तेमाल ८ की ५७ बर्षिया डोल्मो तामाङको निधन भएको छ । सुख्खा पहिरोका कारण असोज २१ गते भुम्लु १० चाखोलास्थित अरनिको राजमार्गमा गुडिरहेको मोटरसाईकलमा ढुंगाले लाग्दा मोटरसाईकलमा सवार बाबु सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका ५ घर भएका ४१ बर्षीय प्रेमबहादुर श्रेष्ठ र उनकी १० बर्षिया छोरी अपेक्षा श्रेष्ठ घाईते भएका छन् । उनिहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । त्यस्तै पहिरोका कारण नमोबुद्ध ५ कानपुरका प्रेम लामा घाईते भएका छन् । उनको खुट्टा भाँचिएको छ । आफ्नै घर लडेर उनि पुरिएका थिए । त्यो बाहेक जिल्लामा अन्य मानवीय क्षतिका कुनै घटना भएनन् । 
    विपद्मा रोशी गाउँपालिकाका विभिन्न खण्डहरु क्षतविक्षत् भए । अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरो गयो । अझै रोशीका खण्डहरु सूचारु हुन नसक्दा विपी राजमार्ग नमोबुद्ध चौकीडाँडाबाट सिन्धुलीसम्म अवरुद्ध छ । तेमाल हुँदै नमोबुद्ध निस्कने बैकल्पिक सडक संचालनमा छ । बेथान्चोक गाउँपालिकाको मुल सडक क्लब घर देखि सलान्दु बगर हुँदै पार्थली गेल्डुङसम्मको सडक अवरुद्ध हुन पुग्यो । दुई दिनसम्म लगातारको प्रयत्न पछि सडक सूचारु भएको छ । विद्युत सुचारु भएको छ । यद्यपि खोला नघटेका कारण सडक नियमित हुन सकेको छैन । 
    विपद्का कारण पनौती २ कुशादेवीमा चट्याङ्ग तथा अन्य केहि पालिकाहरुमा घरहरु लडेका छन् । धुलिखेल ९ मा एउटा घर लड्दा ८ वटा बाख्रा पुरिएका छन् । केहि पालिकाहरुमा नागरिकहरु विस्थापित भए । पुरानै स्थानमा फर्कने गरी पालिकाहरुले ब्यवस्थापन गरिरहेका छन् । अझै पनि खानीखोला, महाभारत, रोशी गाउँपालिका सडक सम्पर्क विच्छेद छन् । केहि वडाहरुमा विजुली पुग्न सकेको छैन । पालिकाहरुले आवश्यक समन्वय र सहकार्य गरी नागरिकहरुको जनजीवन सहज बनाउने प्रयत्न गरिरहेका छन् । 

के भयो काभ्रेमा ?
    २०८१ असोज १०–१२ मा काभ्रेपलाञ्चोक जिल्लामा मात्रै ८४ जनाले ज्यान गुमाएका थिए । अरबौको क्षति भएको थियो । यो वर्ष असोज १७ देखि परेको अविरल वर्षात्बाट मानवीय क्षति नभए पनि सडक तथा केहि ब्यक्तिका घरहरुमा भने क्षति पुगेको छ । गत वर्ष बगाएको विपि राजमार्गका खण्डहरु यो वर्ष पनि बगाएको छ । अबिरल वर्षातका कारण काभ्रेपलाञ्चोक जिल्लामा पुगेको क्षतिको प्रारम्भिक तथ्यांक प्रहरीले तयार गरेको छ । वर्षात् रोकिएर सामान्य अवस्था भए पनि घटनाहरु भने हुन थालेका छन् । वर्षात् रोकिए पछि नमोबुद्ध ५ कानपुरमा घर भत्कँदा प्रेम लामा घाईते भएका छन् । बेथान्चोक ६ मा सन्तोष लामाको घर भत्किएको छ । घर पछाडिको पर्खाल भत्किएर उनको घर पुरेको हो । असोज १८ गते साँझ पनौती न.पा.३ तेलमालेमा चट्याङ पर्दा राजु सापकोटाको ढुङ्गा माटोले बनेको जस्ताको छानो भएको २ तले कच्ची घरमा आगलागी भएको छ । 
    प्रहरी चौकी कुशादेवीबाट प्रहरी सहायक निरीक्षक टेकप्रसाद सापकोटाको नेतृत्वमा खटिएको टोलीले स्थानीयको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो । मानवीय र चौपाय क्षति नभए पनि घर भित्र रहेको अन्नपात, लत्ता कपडा, भाडा वर्तन गरी करिब तिन लाख रुपैयाँको धनमाल जलि नष्ट भएको प्रहरीले बताएको छ । २०७२ सालमा भुकम्पले पनि उनको घर भत्काएको थियो । टहरा निर्माण गरी बसेका उनलाई चट्याङ्गको अर्काे बज्रपात परेको छ । पनौती नगरपालिका ५ ढलमलेमा धातु बनाउने पुण्यमाता खोलाको छेउमा पाल टाँगेर बस्दै आएका ३० बर्षीय एक ब्यक्तिलाई उद्दार गरिएको छ । पाँचखाल नगरपालिका १३ सुनकोशी बगरको छेउमा बस्ने योगप्रसाद थपलियाको घर अबिरल बर्षात्का कारण सुनकोशी नदीको पानीको बहाव बढी जोखिम हुन सक्ने भएकाले उक्त घरमा बस्ने ५ जनाको परिवारलाई सुरक्षित स्थानमा आफन्तको घरमा सारिएको थियो । पाँचखाल नगरपालिका १२ ठकुरी गाउँमा ३ घर परिवारका १५ जनालाई स्थानान्तरण गरिएको थियो । बर्षात्का कारण घर माथिबाट पहिरो गई जोखिम हुन सक्ने भएकाले रेकबहादुर शाहीको ५ जनाको परिवार, सन्तोष शाहीको ४ जनाको परिवार, कृष्णबहादुर शाहीको ६ जनाको परिवारलाई आफन्तकोमा सुरक्षित स्थानमा सारिएको थियो । बेथान्चोक गाउँपालिका वडा नम्वर २ र ३ का करिब ७० घर परिवारलाई असोज १८ गते राति गेल्डुङ्ग खोला र दुर्लुङ्ग खोलाको वहाव बढेपछि सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । अझै केहि परिवार अन्यत्र बसोबास गरिरहेका छन् भने वर्षात रोकिएसँगै केहि बाहेक अधिकांश परिवार आफ्नै घर फर्किएका छन् । 
    रोशी गाउँपालिका अन्र्तगत विपी राजमार्गमा अलपत्र परेका १९ यात्रुलाई गाउँपालिकाको भवनमा सुरक्षित राखिएको थियो भने फलामेसाँघुु, नारायणटार, चण्डीबेशी (वडा नं १ र २) जोखिम बस्तीका करिब २५ घरपरिवार सुरक्षित स्थान लक्ष्मीनारायण स्कुलमा आश्रय लिएर बसेका थिए । धुलिखेल ११, ९ र १ मा केहि घरहरुमा आंशिक देखि पूर्ण क्षति पुगेको बताईएको छ । विभिन्न पालिकाहरुले क्षतिको विवरण संकलन गरी नागरिकहरुलाई सुरक्षित स्थानमा लैजान, विपद पछिको राहत र पुर्नस्थापनाका कार्य शुरु गरिसकेका छन् । बेथान्चोक, महाभारत, खानीखोला, रोशी लगायतका पालिकाहरुमा विद्युत सेवा अबरुद्ध हुन पुगेको छ । 

यातायात तथा सडकतर्फ  
    वि.पि.राजमार्ग दुईतर्फी अवरोध भएको ईलाका प्रहरी कार्यालय मंगलटारले जानकारी दिएको छ । असोज १८ गते ११ बजे देखि रोशी ११ माम्तीखोलामा अवरोध हुन पुगेको थियो । रोशी स्थित डालावेशीमा करिव १०० मि. सडक कटान भएको छ । बुलढुंगामा करिव १०० मि.सडक कटान भएको छ । रोशी गा.पा.९ बोक्सिकुनामा रोशी खोलाले करिव २०० मिटर सडक कटान गरेको छ । रोशी गा.पा. ७ घुमाउनेमा रोशी खोलाले करिब १५ मिटर सडक कटान गरेको छ । नमोबुद्ध न.पा.६ चौकीडाँडामा रोशी खोलाले करिब २० मिटर सडक कटान गरेको छ । रोशी गा.पा ११ पिप्ले मा रोशी खोलाले करिब ५० मि.बाटो कटान गरेको छ । 
    धुलिखेल नगरपालिका ८ पकुचा स्थित अरनिको राजमार्गमा ढुंगा सहितको लेदो झरी दुईतर्फी सडक अबरुद्ध भएको थियो । असोज १८ गतेको साँझबाट एकतर्फी सुचारू भयो । धुलिखेल न.पा. ८ पकुचामा नै अरनिको राजमार्ग सडक खण्डमा सडक माथिबाट ढुंगा सहितको लेदो झरी बाटो एकतर्फी अबरुद्ध भएको थियो । दिउसो १५ः४५ बजेबाट भारि बर्षा र हावाहुरीको कारण सडक दुईतर्फी बन्द भएको थियो । रोशी गा.पा.११ माम्तीखोला, डालावेशी, बुलढुंगा स्थित बि.पि.राजमार्ग सडक खण्डमा सडक माथिबाट ढुंगा खसी बाटो दुईतर्फी अबरुद्ध भएको थियो । जिल्ला विपद् ब्यवस्थापन समितिले विहान ९ बजेबाट नै विपी राजमार्ग बन्द गराउँदै सवारी साधन होल्ड गराएको थियो । राजमार्ग तथा धुलिखेल, बनेपा र पनौती हुँदै विभिन्न पालिका पुग्ने अन्य सहायक सडकहरु अवरुद्ध भएका छन् ।