2026 August 18/ 01:26: 57pm

    पनौती/जेनजीका नाममा भएको आन्दोलनमा विध्वंस मचाउँदै चोरी र लुटपाट गर्ने आततायी समुहको पहिचान गरी तत्काल कारवाही गर्न र घोषित मितिमा निर्वाचन गराई मुलुकलाई प्रजातान्त्रिक बाटोमा अघि बढाउन नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पुर्व सांसद शिवप्रसाद हुमागाईले सरकारसँग अनुरोध गरेका छन् । घरमा नै आयोजित पत्रकार सम्मेलनमा नेता हुमागाईले घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् भने मृतकहरु पनि भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै भौतिक क्षतिप्रति निन्दा गरेका छन् ।
    आन्दोलनकारीका नाममा आततायी समुहले पनौतीमा हुमागाईको घरमा तोडफोड गरेका थिए । परिवारका सदस्यसँग घर भित्रै रहेका बखत तोडफोड र ढुंगामुढा पछि उनलाई नेपाली सेनाले सुरक्षा दिदै सुरक्षित स्थानमा पु¥याएको थियो । हुमागाईको घर तोडफोड गरी परिसरमा रहेको गाडी र मोटरसाईकल घिसार्र्दै बसपार्क पु¥याएर आगजनी गरेका थिए । तोडफोड पछि गाडीमा आगजनी गर्ने पनौती नगर कमिटी रास्वपाका सभापति विवेक भट्टराईको पहिचान भएको हुमागाईले बताए । अन्यको पनि पहिचान भएको र उनिहरुका विरुद्ध कानुनी कारवाहीका लागि तयारी गरिएको पत्रकार सम्मेलनमा हुमागाईले जानकारी दिए । ‘म जेनजीका मागहरु पुरा गर्न सरकारसँग अपिल गर्दछु । उनिहरुका जायज माग सम्बोधन गरिनु पर्छ । तर त्यसकै आडमा गरिएको क्रुर अपराध र पासविक  घटनाको घोर भत्र्सना गर्दछु’–नेता हुमागाईले भने–‘काभ्रेको पनौतीमा नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, पुर्व प्रमुख भिम न्यौपाने, वडा अध्यक्ष पुरुषोतम अधिकारी, ब्यवसायी रामेश्वर थापा, धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुको निजी निवास तथा बनेपा नगरपालिका सहितका संरचनामा क्षति पुगेको छ । तत्काल संलग्नलाई कारवाही गर्न प्रशासनलाई आग्रह गर्दछु ।’ जनताका निराशा सम्बोधन गर्न अनुरोध गर्दै नेता हुमागाईले गल्ति गरेको भए त्यसको प्रायश्चित गर्न दलहरु तयार भएको बताए । निरन्तर लोकतन्त्र र नागरिकको अधिकारप्रति सदैव सक्रिय हुने उनले बताए ।