धुलिखेल/धुलिखेल नगरपालिकाले धुलिखेल अस्पतालसँगको सहकार्यमा स्वास्थ्य बीमा गरेका सबै नागरिकहरुका लागि अस्पताल परिसरबाटै प्रथम सेवा विन्दुका रुपमा सेवा प्रारम्भ गरेको छ । उक्त सेवाले स्वास्थ्य बीमा गरेका आम नागरिकहरुका लागि सहज हुने नगरपालिका र अस्पतालले जानकारी दिएको छ । रिफरलका नाममा हैरानी पाएका नागरिकहरुलाई धुलिखेल नगरपालिकाले सहज सेवा उपलब्ध गराएकोमा सेवाग्राही खुशी देखिन्छन् ।
स्वास्थ्य बीमा बोर्डले यसअघि अधिकांश नागरिकहरुलाई प्रथम सेवा विन्दु नै धुलिखेल अस्पताल राखेर बीमा गराएको थियो । स्थानीय तह र नागरिकहरु समेतलाई कुनै सूचना समेत नदिई साउन १ गतेबाट स्वास्थ्य बीमा बोर्डले एक्कासी सम्झौता विपरित प्रथम सेवा विन्दु परिवर्तन गरिदिए पछि नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित जस्तै भएका थिए । ‘नागरिकहरुले पाएको हैरानीलाई मध्यनजर गर्दै शुरुका केहि दिन अस्पताललाई नै प्रथम सेवा विन्दु बनाउने गरी आवश्यक पहल ग¥यौं’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘प्राथमिक स्वास्थ्य केन्द्रमा अपर्याप्त रहेको भौतिक पूर्वाधार तथा जनशक्तिको ब्यवस्थापन लगायतका कार्यहरु थिएनन् ।’ धुलिखेल अस्पतालसँगको समन्वयमा नागरिकहरुलाई सहज र सरल सेवा दिने उदेश्यले प्राथमिक स्वास्थ्य केन्द्रबाट दिने प्रथम सेवा विन्दुको उपचार धुलिखेल अस्पताल परिसरबाट नै दिने ब्यवस्था मिलाएको नगर प्रमुख अशोक ब्याञ्जुले बताए ।
धुलिखेल अस्पताल परिसरमा भएको उक्त सेवा सबै नागरिकहरुका लागि हुने नगर प्रमुख ब्याञ्जुले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ज्ञापन पत्र बुझाएको धुलिखेल नगरपालिकाले थप सहकार्य र समन्वयका लागि संघ र प्रदेश सरकारले समेत प्रतिवद्धता ब्यक्त गरेको नगर प्रमुख ब्याञ्जुले बताए । पहिलो चरणमा विहान १० बजे देखि दिउसो ३ बजेसम्म प्रारम्भ गरिएको सेवा आवश्यकताका आधारमा थप जनशक्ति समेतको ब्यवस्थापनमा परिवर्तन गर्न सकिने गरी तयारी गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताए । धुलिखेल अस्पतालबाट बार्षिक ३ लाख भन्दा धेरै विरामीहरुले बीमा बापतको स्वास्थ्य सेवा लिदै आएका छन् । धुलिखेल नगरपालिकाले उपलब्ध गराएको उक्त सेवाबाट स्वास्थ्य बीमा गरेका सबै नागरिकहरु लाभान्वित हुन सक्ने अस्पतालले बताएको छ । यस अघि पनौतीका दुई वटा स्वास्थ्य केन्द्र मार्फत रिफरल सेवा उपलब्ध गराउँदै आएको थियो । भकुण्डेमा रहेको मेथिन्कोट अस्पतालले पनि रिफरल सेवा उपलब्ध गराएको थियो । पाँचखाल र धुलिखेलले सेवा शुरु गरेका थिएनन् । पाँचखालले अझै सेवा शुरु गर्ने तयारी गरेको छैन ।







