2026 August 18/ 09:35: 34pm

    नेपाने, बल्थली/२०८१ असोज १०–१२ को अरिवल वर्षातका कारण क्षतविक्षत भएको खानेपानी योजनालाई ग्राभीटी प्रणाली मार्फत पुर्ननिर्माण गरी पनौती ११ बल्थली स्थित नेपानेका १ सय २३ घर धुरी र डाँडागाउँ टोलका ७२ घर धुरीमा एक घर एक धारा निर्माण कार्य सम्पन्न भएको छ । 
    युनिसेफ नेपाल र सिविक फोरमको आर्थिक सहयोगमा निर्माण गरिएका उक्त आयोजना संचालनमा आए सँगै उपभोक्ताहरुमा खुशी छाएको नेपाने फ्याङखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार तामाङले बताए । ‘२०७२ सालको भुकम्पले क्षतविक्षत बनायो । बल्लबल्ल कारितास नेपालको सहयोगमा खानेपानी संचालनमा ल्यायौं । फेरी २०८१ असोजको बर्षात्ले खानेपानी पूर्ण रुपमा क्षति भयो । खानेपानी संचालनमा आउँछ भन्ने विश्वास नै थिएन’–अध्यक्ष कृष्णबहादुर तामाङले भने–‘युनिसेफ नेपाल र सिविक फोरम सहित वडा सरकारलाई धन्यवाद ब्यक्त गर्दर्छाै ।’ वडा अध्यक्ष विपिन लामाको पहलमा सिविक फोरमले युनिसेफको सहयोगमा १९ लाख ९ हजार ४ सय ५ रुपैयाँको बजेट विनियोजन गरी १ सय २३ वटा धारा सहित २ वटा २०÷२० हजार क्षमताको पानी ट्याङ्की निर्माण गरिदिएको छ । जनश्रमदानबाट ४ लाख १८ हजार ९१ रुपैया खर्च भएको छ । उपभोक्ताहरुले उक्त परियोजनाका लागि एक रुपैया पनि खर्च गर्न नपरेको उनले बताए । 
    लाभान्वित परिवारमा १ सय २३ घर धुरी नै जनजाति(तामाङ) समुदाय छन् । २ सय ७९ जना महिला र ३ सय ३ जना पुरुष सहित १ सय १५ जना बालबालिका छन् । भुकम्पको समयमा २ सय १० घर परिवार थिए । अहिले १ सय ९० घर परिवार छन् नेपानेमा । लुकुवामा ३२ घर छन् । नेपाने सानो गाउँमा ४५ घर छन् । केहि घर परिवारका बाहेक अधिकांश गाउँमा नै बसोबास गरिरहेको अध्यक्ष तामाङले बताए । ‘पहिले पानी मात्रै उपभोग गरिरहेका थियौं । अहिले खानेपानीको सुरक्षित प्रयोग, गुणस्तरीय खानेपानीका लागि उपभोक्ताको भूमिका र दायित्व, सरसफाईका मुख्य क्षेत्र र सरसफाईको तरिकाका बारेमा बालबालिकाहरुलाई समेत तीन दिने अभिमुखिकरण तालिम उपलब्ध गराईएको छ’–अध्यक्ष तामाङले भने–‘विपत्तिले विनाश मात्रै गरेन अवसर पनि उपलब्ध गरायो ।’ केहि दिन खानेपानीको हाहाकार भयो । स्थानीय सरकारले उपलब्ध गराएको केहि पाईप मार्फत अस्थायी खानेपानी उपभोग भयो । नियमितताका लागि सिविक फोरम स्थानीयहरुका लागि बरदान बनेको अध्यक्ष तामाङले बताए । 
    २०४७ सालमा तत्कालिन जिल्ला पञ्चायत मार्फत नेपाने गाउँको सौराडाँडामा २० हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिएको थियो । ३ किलोमिटर टाडा पर्ने बेथान्चोक गाउँपालिका वडा नम्वर ६ स्थित साईला मगरको ब्यक्तिगत जग्गामा मञ्जुरीनामा सहितको मुहान सम्झौता गरिएको छ । त्यतिबेला नेपाने गाउँमा ८ वटा धारा थिए । भुकम्प पछि धारा विस्तार भए पनि एक घर एक धारा हुन सकेको थिएन । अहिले सबैका घर घरमा धारा पुगेको छ उपभोक्ताहरु खुशी भएको तामाङले बताए । नियमित मर्मत तथा दैनिक खानेपानी संचालनका लागि हेरालु राखिएको छ । घर घरमा मिटर जडान गरिएको छ । उभोक्ताहरुले १० युनिटसम्मको १ सय रुपैया र थप प्रति युनिट १० रुपैयाँका दरले मासिक शुल्क लिने निर्णय उपभोक्ता समितिले गरेको छ । उपभोक्ताहरुका तर्फबाट मर्मत सम्भार कोषमा प्रति उपभोक्ता १ हजारका दरले संकलन गर्ने निर्णय भएको छ । 
    मुहान देखि मुखसम्म स्वच्छ, गुणस्तरीय र स्वच्छ खानेपानीका लागी परिक्षण गरिसकिएको उपभोक्ता समिति अध्यक्ष कृष्णबहादुर तामाङले बताए । २०८१ चैत्र १५ गते सम्झौता भएको उक्त योजना २०८२ जेष्ठ १५ गते सम्पन्न भएको हो । सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरका अनुसार नेपाने गाउँका टोड्के खानीडाँडा, सौराडाँडा, छापगाउँ नेपाने र ठुलागाउँमा पाईप लाईन टान्समीसन लाईन, वितरण लाईन (मिटर) २८ सय ५०, बारबेड फेन्सीङ कार्य २ वटा, केवल क्रसिङ १ वटा र घरधुरी धारा १ सय २३ वटा निर्माण गरिएको छ । कुल २३ लाख २७ हजार ४ सय ९६ रुपैयाँ बराबरको कार्य सम्पन्न भएको कुँवरले बताए । बल्थलीकै डाँडागाउँमा एक घर एक धारा कार्यक्रमका लागि ७२ घर धुरी जनजाति (तामाङ) समुदायका लागि १२ लाख ३७ हजार ७ सय ८९ रुपैया खर्च भएको छ । उक्त योजनाबाट ४ सय वटा पाईप लाईनको कार्य भएको छ भने २८ सय ७० मिटर वितरण लाईन निर्माण गरिएको छ । ब्यक्तिगत धारा ७२ वटा निर्माण गरिएको छ । मर्मत सम्भार कोषमा ५७ हजार ६ सय रुपैया जम्मा गरिएको छ । देवीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिले २०८१ माघ १ गते योजना सम्झौता गरी २०८२ बैशाख १७ गते सम्पन्न गरेको थियो । 
    उपभोक्ता शर्मिला तामाङले यसअघि प्रयोग गरिँदै आएको सामुहिक धारा भन्दा एक घर एक धारा कार्यक्रम प्रभावकारी भएको बताईन् । ‘धारा सफा हुँदैन थियो, कोहि सफा नगर्ने, फोहोर मात्रै गर्ने आफ्नो जस्तो अनुभुती पनि हुँदैन थियो’–शर्मिलाले भनिन्–‘अहिले धेरै आनन्द भएको छ । आफ्नो समयमा खानेपानी लिन, लुगा धुन तथा नुहाउन र धारा सफा राख्न सहज भएको छ ।’ सामुहिक धारा विहान र बेलुका मात्रै आउँदा त्यो समयमा अन्यत्र भएको समयमा खानेपानी थाप्न समेत असहज हुने गरेको शर्मिलाले बताईन् । शर्मिलाले सिविक फोरमले संचालन गरेको उक्त योजनाले आफु लाभान्वित भएको प्रतिक्रिया दिईन् । वडा अध्यक्ष विपिन लामाले वडाका बाँकी क्षेत्रमा समेत एक घर एक धारा कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्ने गरी कार्य अघि बढेको बताए । एक घर एक धारासँगै गुणस्तरीय र स्वच्छ खानेपानी प्राथमिकतामा रहेको उनको भनाई थियो । 
नमोवुद्ध र पनौतीमा सञ्चालित खानेपानी आयोजनाको अनुगमन
       काभ्रे/युनिसेफको नेपाल स्थित उच्चस्तरीय टोली र स्थानीय सरकारका जनप्रतिनिधिले नमोवुद्ध नगरपालिका र पनौती नगरपालिकामा सञ्चालित आयोजनाको अवलोकन अनुगमन गरेका छन् । सहयोगी संस्था युनिसेफ, कार्यान्वयन साझेदार सिविक फोरम, जनप्रतिनिधि, स्थानीय र सरोकारवालासहितको टोलीले आयोजना सञ्चालित क्षेत्रमा स्थलगत अनुगमन गरेको हो । सो क्रममा खानेपानी संरचना, खानेपानी स्वच्छता र सरसफाई लगायतका विषयमा स्थानीयसँग अन्तरक्रिया समेत गरिएको थियो ।
            अनुगमन टोलीमा युनिसेफका नेपाल उप प्रतिनिधि जी ह्युन राह, वास प्रमुख मुहम्मद इर्फान सइद अलराई, वास विशेषज्ञ सिद्धि श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । नमोवुद्ध नगरपालिका–११ डाँडाकटेरीमा भएको अनुगमनमा नमोवुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, वातावरण शाखा प्रमुख सन्तोष काफ्ले, वडा अध्यक्ष कृष्ण बहादुर तामाङ र सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवर लगायत सरोकारवालाको उपस्थिती रहेको थियो । कार्यक्रममा नगर प्रमुख कुन्साङ लामाले युनिसेफ र सिविक फोरमले दुःखमा लगाएको गुन कहिल्यै नबिर्सिने बताए । नगरपालिकाले सुरु गरेको एक घर, एक धारा अभियानमा गत असोजको बाढी पहिरोले अवरोध गरेको बताए । बाढीपहरोबाट पुगेको क्षति पुनःनिर्माण गर्दै घरघरमा खानेपानी पुर्याउन गरेको साझेदारी प्रति उनले आभार व्यक्त गरेका छन् । उनले खानेपानी, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर नगरपालिकाले काम गरिरहेको पनि बताए । युनिसेफले बनाएको खानेपानी संरचनाको संरक्षण, निरन्तरता आफुहरुको दायित्व भएको नगर प्रमुख लामाले बताएका छन् ।
          नमोवुद्ध नगरपालिका–११ मा युनिसेफ र आयोजना कार्यान्वयन साझेदार संस्था सिविक फोरमको आर्थिक सहयोगमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । उक्त आयोजनाबाट ३५ घरधुरीका १ सय ९८ जना लाभान्वित भएका छन् । युनिसेफ र सिविक फोरमको १० लाख २२ हजार २ सय २ रुपैयाँ आर्थिक सहयोग र १ लाख ९८ हजार ४ सय ७० रुपैयाँ बराबरको स्थानीय जनश्रमदान गरी १२ लाख २० हजार ६ सय ७२ रुपैयाँ लागतमा आयोजना निर्माण सम्पन्न भएको छ । यस्तै मर्मत सम्भार कोषमा ५० हजार रुपैयाँ राखिएको माख्लो डाँडाकटेरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जनाएको छ । उक्त आयोजनाबाट मासमडाँडा, माख्लो भञ्ज्याङ, ककदोङ र गौरेडाँडाका स्थानीय लाभान्वित भएका छन् । खानेपानी आयोजना सम्पन्न भएसँगै पानीकै लागि घण्टौं समय खर्चनुपर्ने बाध्यता अन्त्य भएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । 
        त्यसैगरी पनौती–११ मा भएको अवलोकन एवं अनुगमन भ्रमणमा युनिसेफको टोलीसँगै पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जारा, वडा अध्यक्ष विपिन लामा, सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवर, पनौती नगरपालिका रोजगार संयोजक वसन्ती सुवेदी लगायत सरोकारवालाको उपस्थिती रहेको थियो । पनौती गत असोजको बाढीपहिरोबाट अतिप्रभावित पालिका हो । विपदबाट नगरपालिकाका धेरै क्षेत्रमा खानेपानीको संरचनामा क्षति पुगेको छ । उनले विपदमा युनिसेफ र सिविक फोरमले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरेकी थिइन् ।
          उनले खानेपानीका पुर्वाधार र स्रोत संरक्षणका लागि नगरपालिकाले काम गर्ने बताइन् । खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रमा युनिसेफले गरेको सहयोग महत्वपूर्ण रहेको भन्दै उनले जीविकोपार्जनको क्षेत्रमा पनि सहयोग गर्न आग्रह गरेकी छन् ।