नमोबुद्ध, भकुण्डे/प्रादेशिक अस्पताल मेथिन्कोटले आर्थिक वर्ष २०८१÷०८२ को सामाजिक परिक्षणको प्रारिम्भक प्रतिवेदन सार्वजनिक गरेको छ । अस्पताल संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष विष्णु खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरोकारवालाहरुले अस्पताल सुधारका लागि आवश्यक सुझाव दिएका थिए ।
अस्पतालले प्रदान गरेको सेवा, सुविधा, गुणस्तर, सुधारका विषय तथा नागरिकहरुको धारणाका बारेमा समुदायले गरेको अनुभवका सन्दर्भमा स्थानीय तह, सरोकारवाला निकाय र सेवाग्राहिसँग अन्र्तक्रिया गरेको थियो । सामाजिक परिक्षणमा उठेका सवालका बारेमा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष विष्णु खनालले अस्पतालको सेवा सुधारका लागि प्रतिबद्धता ब्यक्त गरेका थिए । सेवाग्राहिहरुले औषधी नियमित नभएको, भएका औषधीहरु भन्दा नभएका औषधीहरुको आवश्यकता हुने गरेको, विशेषज्ञ सेवा कम नभएको, एम्बुलेन्स सेवा प्रभावकारी भएको, नियमित उपचारलाई ब्यवस्थित गर्न ओपिडी कक्ष थप गर्न, विशेषज्ञ सेवा बढाउन, हरेक प्रकारका रोगहरुको उपचार गर्न, सिटी स्क्यान लगायतका सेवा उपलब्ध गराउन सुझाव दिएका थिए । सेवा प्रदायक चिकित्सक तथा कर्मचारीहरुले अस्पताल ब्यवस्थापन समितिले आवश्यक पर्ने औषधी समयमा खरिद नगरि दिँदा भएका समस्या र सेवाग्राहिहरुले भोग्नु परेका समस्या समाधानमा ध्यान दिन सुझाव दिए । सुत्केरी ब्यथा लागेका महिलाहरुको रिफर गर्दा बाटोमा नै सुत्केरी हुनु परेको, आम्दानी बढेको भए पनि खर्च गर्न स्वास्थ्य बीमाको रकम समयमा नै प्राप्त नभएका विषय सवालमा उठेका थिए ।
अस्पतालका मेसु डा.त्रिभुवन चन्द झाले अस्पताललाई ५० शैयामा विस्तार गरे पछि पुर्वाधार र जनशक्तिको अभाव देखिएको बताए । अहिले विस्तारै सबै ब्यवस्थापन हुँदै गएको र त्यसलाई सुधार गर्ने प्रतिवद्धता ब्यक्त गरे । सिटी स्क्यान लगायतका प्राविधिक विषयलाई अस्पतालले ब्यवस्थापनको प्रयत्न गरिरहेको उनले बताए । औषधी खरिदका लागि समस्या भएको बताउँदै उनले अस्पताललाई प्राप्त हुनु पर्ने बीमाको रकम समयमा नै भुक्तानी नभएको बताए । विरामीहरुले प्राप्त गर्नु पर्ने सेवामा गुणस्तर बढाउन भएका उपलब्ध श्रोत, साधन र जनशक्तिलाई भरपुर उपयोग गरिएको डा.झाले बताए ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष विष्णु खनालले नागरिकहरुले प्राप्त गरेको सेवालाई अझै गुणस्तर र प्रभावकारी बनाउन शशक्त रुपले समिति सक्रिय हुने बताए । ‘अस्पतालबाट प्रवाह हुने सेवालाई प्रभावकारी रुपमा संचालन गर्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई निर्देशन दिन्छु’–अध्यक्ष खनालले भने–‘अस्पतालमा भएका अभावहरुलाई कम गर्दै दक्ष जनशक्तिबाट गुणस्तरीय सेवा प्रदान गर्ने छौं ।’ अध्यक्ष खनालले जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरु, महिला तथा बालबालिकाहरुले प्राप्त गर्ने सुविधालाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता ब्यक्त गरे । सिटी स्क्यान, अक्सिजन प्लान्ट, एम्बुलेन्स, इमरजेन्सी विभाग, एक्सरे सेवा, फार्मेसी, दर्ता, विमा लगायतका विभागहरुले प्रदान गर्ने सेवालाई अझै प्रभावकारी बनाईने अध्यक्ष खनालले बताए ।
कार्यक्रममा वडा अध्यक्षहरु अर्जुन श्रेष्ठ, रामकृष्ण अधिकारी, अस्पतालका संस्थापक अध्यक्ष उदवप्रसाद काफ्ले, पुर्व अध्यक्ष कृष्णप्रसाद खनालले अस्पतालको नियमित संचालन तथा ब्यवस्थापनका लागि प्रशासन तथा ब्यवस्थापकीय क्षेत्रमा सुधार गर्नु पर्ने सुझाव दिए । प्रशासन अधिकृत पदमसुन्दर गौतमले संचालन गर्नु भएको कार्यक्रमको सहजिकरण मदानी विट प्रा.लीले गरेको थियो । अस्पतालले गरेका समग्र गतिविधिका विषयमा सूचना अधिकारी समेत रहेका जनस्वास्थ्य प्रशासक हेमन्त खनालले प्रस्तुत गरेका थिए । अस्पताल ब्यवस्थापन समिति सदस्य गंगा लुईटेल, तेमाल गाउँपालिकाका घनश्याम तामाङ, अस्पतालमा कार्यरत डाक्टरहरु तथा सेवाग्राहिले भएको सेवालाई अझै प्रभावकारी बनाउन र साउन १ गतेबाट शुरु हुने प्रथम सेवा विन्दुको विमा कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने बताए । गत वर्ष भन्दा यो वर्ष सेवाग्राहिको संख्या थपिएको अस्पतालले जानकारी दिएको छ । चालु वर्षमा १ करोड २२ लाख ६ हजार रुपैया आम्दानी गरेको भए पनि सरकारले बीमा बापतको उपचारको रकम भुक्तानी नदिँदा औषधी खरिदमा समस्या भएको बताईएको छ । अझ उपचार गरेको शुल्कमा २० प्रतिशत कटौती गरेको मेसु झाले बताए । १ करोडको विल जाँदा प्राधिकरणले २० प्रतिशत लिने गरेको उनले बताए ।





